npl.977 Nepal News Stream

Sutra News logo Sutra News

५० वर्षपछि पनि ‘शोले’को ज्वारभाटा उस्तै, अहिलेसम्म कति कमायो ?

सुत्र न्युज 8 hours ago

 

काठमाडौं । भारतीय सिनेमा इतिहासकै आइकोनिक फिल्म ‘शोले’ ले ५० वर्षपछि पनि आफ्नो क्रेज जस्ताको तस्तै रहेको प्रमाणित गरेको छ। रि–रिलिज संस्करण ‘शोलेः द फाइनल कट’ ले प्रदर्शनको पहिलो हप्तामै भारतमा १ करोड ५० लाख भारतीय रुपैयाँ नेट कमाइ गर्दै बक्सअफिस तताएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार डिसेम्बर १२ मा हलमा फर्किएको फिल्मले पहिलो दिन २० लाख रुपैयाँ कमायो भने दोस्रो दिन कमाइ दोब्बर हुँदै ४० लाख पुगेको थियो। आइतबार त ‘शोले’ ले दर्शक तान्ने रेकर्ड नै बनायो, जब एकै दिन ५० लाख रुपैयाँको व्यापार भयो। त्यसपछि सोमबारदेखि बिहीबारसम्म पनि फिल्मले निरन्तर रूपमा दैनिक १०–१० लाख रुपैयाँ कमाइ गरिरह्यो।

सन् १९७५ मा रिलिज भएर ब्लकबस्टर बनेको ‘शोले’ लाई ५० वर्ष पुगेको अवसरमा फोर के र डल्बी ५.१ ध्वनि प्रविधिमा नयाँ स्वरूप दिँदै पुनः प्रदर्शनमा ल्याइएको हो। ‘द फाइनल कट’ संस्करणमा त्यतिबेला सेन्सरका कारण हटाइएका दृश्य र मूल अन्त्य समेत समावेश गरिएको छ, जसले दर्शकमा थप कौतुहलता जगाएको छ।

धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारको अभिनय रहेको रमेश सिप्पी निर्देशित यो फिल्मलाई भारतीय सिनेमा इतिहासकै सर्वाधिक चर्चित क्लासिक मानिन्छ। पुनः प्रदर्शनले पुराना दर्शकलाई नस्टाल्जियामा डुबाएको छ भने नयाँ पुस्तालाई पनि ‘शोले’को जादु अनुभव गर्ने अवसर दिएको छ।

भारतमा मात्र होइन, नेपालमा पनि ‘शोलेः द फाइनल कट’ ले दर्शकको ध्यान तानेको छ। गत मंगलबारदेखि नेपालका हलमा रिलिज भएको फिल्मले यहाँ पनि पुराना सम्झना र नयाँ उत्साह एकसाथ जगाइरहेको छ।

Read more news from Sutra News

Explore by Source or Category