npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सुधनले किन सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर ?

क्लिकमान्डु 8 hours ago

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले ‘जेनजी जनादेश’ कार्यान्वयनमा सरकार र राष्ट्रपतिले बेवास्ता गरेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ‘जरुरी सूचना’ जारी गर्दै उनले सरकारले आन्दोलनकारीसँग गरेको सम्झौता विपरीत काम गरिरहेको आरोप लगाए ।

गुरुङले प्रधानमन्त्रीबाट हस्ताक्षर भई राजपत्रमा समेत प्रकाशन भइसकेको ‘जेनजी जनादेश’लाई राष्ट्रपतिबाट हस्ताक्षर गर्न आनाकानी भइरहेको उनको आरोप छ । यसले गर्दा आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयनमा ढिलाइ भएको उनको दाबी छ ।

गुरुङले सरकारले जेनजी र सरकार पक्षबीच भएको सम्झौता बमोजिम भ्रष्टाचारी र हत्याराहरूलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै आन्दोलनकारीलाई दमन गर्न थालेको आरोप लगाएका छन् ।

‘भाद्र २३ र २४ गतेका घटनाका आधारमा झुटो र अभद्र मुद्दामा फसाएर पक्राउ गर्ने काम भइरहेको छ,’ उनले पोस्टमा भनेका छन् ।

विगत लामो समयदेखि थुनामा रहेका कतिपय पीडित पक्षलाई रिहाईका लागि पहल गर्दा पनि मुद्दा र धरौटीका कारण सम्भव नभएको भन्दै उनले अब सिधै जिम्मेवार निकायमा सम्पर्क गर्न पीडित परिवारलाई आग्रह गरेका छन् ।

गृहमन्त्री र गृह सचिवको नम्बर सार्वजनिक

सरकारको कार्यशैलीप्रति आक्रामक देखिएका गुरुङले पीडित परिवारका सदस्यहरूलाई न्याय र रिहाईका निम्ति सिधै गृहमन्त्री र सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्न भन्दै उनीहरूको व्यक्तिगत मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन् ।

गुरुङले न्याय नपाएका र झुटो मुद्दामा फसाइएका व्यक्तिका परिवारलाई यी नम्बरमा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउन र दबाब दिन समेत गरेका छन् ।

Read more news from Clickmandu

Explore by Source or Category