npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

अमरगढीका स्थानीयले गरे निर्वाचन बहिष्कारको घोषणा

सम्झना पाण्डेय 9 hours ago

डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर वडा नं. ६ का स्थानीयहरुले निर्वाचन बहिस्कारको घोषणा गरेका छन् । अमरगढी नगरपालिकावडा नं. ६ को एक जंगलमा भएको आवादि जमिन खरिद गरि डम्पिंग साइड निर्माण गर्न बोलपत्रि आह्वान गर्ने तयारीमा छ । तर स्थानीयलेहरुले यसको विरोध गर्दै आइरहेका छन् ।

बिहिबार फोहर विरुद्ध संघर्ष समितिले वडा नं. ६ को कार्यालय घेराउ गरि फोहर व्यवस्थापनको विषयलाई लिएर आसन्न प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन । संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारका अनुसार नगरपालिकाले सुरुमा उक्त क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर पछि सोही स्थानलाई फोहर व्यवस्थापन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालेपछि स्थानीयवासीले आपत्ति जनादै आउनु भएको छ । नगरपालिकाले वास्तविक योजना लुकाएर स्थानीयलाई भ्रममा पारेको आरोप उनको छ ।

अध्यक्ष ताम्राकारले स्थानीयवासीको भावना विपरीत निर्णय गर्न खोजिएको भन्दै निर्वाचन बहिष्कार गर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । गरपालिकाले सुरुमा कागती खेती गर्ने भनेर जनतालाई विश्वास दिलायो । तर पछि फोहर व्यवस्थापन केन्द्र बनाउने योजना अघि बढायो । उनले भने, हामीले बारम्बार विरोध र आवाज उठायौं । तर हाम्रो मागलाई बेवास्ता गरियो । त्यसैले अब हामीले प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हौं ।

अमरगढी नगरपालिका ६ अन्तर्गत भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्रमा फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नभएको स्थानीयको दाबी छ । उक्त क्षेत्र आसपास खानेपानीका मुहान, सिचाइका स्रोत, विद्यालय जाने बाटो तथा वस्ती नजिकै रहेकाले वातावरणीय प्रदुषणले स्वास्थ्य जोखिम बढ्ने चिन्ता स्थानीयको रहेको उनले बताए । स्थानीयले फोहर व्यवस्थापन केन्द्र स्थापना भएमा जनस्वास्थ्य, बालबालिकाको शिक्षा तथा दैनिक जीवनमा गम्भीर असर पर्ने बताउदै आईरहेका छन ।

स्थानीयवासीले पटक पटक विरोध कार्यक्रम, छलफल तथा ध्यानाकर्षण गराउने प्रयास गरे पनि नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया नआएको गुनासो उनको छ । बरु नगरपालिकाले निर्णय कार्यान्वयनका लागि हस्तक्षेपकारी शैली अपनाएको आरोप अध्यक्ष ताम्राकारले लगाए ।

बिहीबार आयोजित घोषण सभामा करिब ३०० बढी स्थानीयवासीको उपस्थिति रहेको उनले बताए । भेलाले सर्वसम्मत रूपमा आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी संघर्ष समिति अध्यक्ष ताम्राकारले जानकारी दिए । स्थानीयको माग सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गरिने चेतावनी उनले दिए ।

स्थानीयवासीले फोहर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न नगरपालिकासंग आग्रह गर्दै आईरहेका छन । जनताको सहमति र सहभागितामा मात्र योजना कार्यान्वयन गर्न उनले माग राखेका छन ।

अमरगढी नगरपालिका प्रमुख डिल्लिराज जाशीका अनुसार फोहोर व्यवस्थापन केन्द्र बनाउन कुनै पनि वडाका स्थानीयहरुले मान्दैनन् । अरु वडाहरुमा कहि कतै पनि उपयुक्त ठाउँ नपाएपछि नगरपालिकाले अस्थायी रुपमा मालम जाने सडक छेउमा फोहर फाल्दै आएको छ । उनका अनुसार केही महिना अघि मात्रै नगरपालिकाले फोहर व्यवस्थापनका लागि अमरगढी नगरपालिका ६ को गुईलेगडामा जमिन खरिद गरेको थियो ।

अमरगढी नगरपालिकाका सूचना अधिकारी मिनराज ओझाका अनुसार नगरपालिकाले खरिद गरेको जमिनमा व्यवस्थापन केन्द्र निर्माणको प्रक्रियामै रहेको छ । जमिन खरिद गरि फोहोर व्यवस्थापनका लागि वातावणीय प्रभाव मूल्यांकनसमेत गरिएको छ । तर त्यसको रिपोर्ट आउन बाँकी छ । फोहर व्यवस्थापनकै लागि सरकारी दररेटमा १४ रोपनी जग्गा करिब १८ लाख रुपियाँमा नगरपालिकाले खरिद गरेको उनले जानकारी दिए ।

The post अमरगढीका स्थानीयले गरे निर्वाचन बहिष्कारको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category