npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सम्पत्ति शुद्वीकरणले बयान लिएपछि राति ९ बजे अर्थमन्त्रीको सचिवालयमा धितोपत्र बोर्ड अध्यक्षको राजीनामा

क्लिकमान्डु 6 hours ago

काठमाडौं । हिमालयन रि इस्योरेन्स लगायतका विभिन्न पब्लिक कम्पनीको अर्बौं रकम दुरुपयोग गर्ने व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई सहयोग गरेको भन्दै सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले बयान लिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले शुक्रबार राति ९ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयमा औपचारिक राजीनामापत्र बुझाएका हुन् । अध्यक्ष श्रेष्ठले साँझ साढे ५ बजे धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठक राखेर सरकारलाई सहयोग गर्न आजै राजीनामा दिने ब्रिफिङ सञ्चालकहरुलाई गरेका थिए । बोर्डबाट मिटिङ सकेर सिधै अर्थमन्त्रालय पुगेका श्रेष्ठले अर्थमन्त्रीकव सचिवालयमा राजीनामा पत्र बुझाएर फर्किएका हुन् । 

‘सन्तोषनारायणजी राति ९ बजिसकेपछि मन्त्रालय आउनुभएको थियो, मन्त्रीज्यु अर्कै मिटिङमा व्यस्त भएकाले उहाँलाई भेट्न पाउनुभएन अनि २ मिनेटजति बसेर सरकारलाई सहयोग गर्न राजीनामा दिएको हुँ भन्दै सन्तोषजीले सचिवालयमा पत्र बुझाएर फर्किनुभयो’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाल प्रकरणमा धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठसँग पनि बयान लिइसकेको छ । 

सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड हिमालयन लार्ज क्याप फन्डको अनुमति र रकम दुरुपयोगका विषयमा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमाथि पनि अनुसन्धान सुरु भएको छ।

हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लार्ज क्याप फन्ड लगायतका विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि करिब ५ अर्ब रुपैयाँ रकम दुरुपयोग गरेको आरोप छ ।

विभागले धितोपत्र बोर्डको भूमिकामाथि पनि प्रश्न उठाएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन क्यापिटलको हिमालयन लार्ज क्याप फण्डको स्वीकृति र सर्कुलर ट्रेडिङका विषयमा समेत विभागले अनुसन्धान अगाडि बढाएको छ । उनले लार्ज क्याप फण्डको स्वीकृति चाँडो गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान दिएका थिए । त्यसपछि उनले राजीनामा दिएका हुन् ।

विभागले उक्त म्युचुअल फण्ड स्वीकृतिको फाइल मगाएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा विभागले त्यसको स्वीकृति प्रक्रियामा गम्भीर चासो राखेको हो ।

२०८२ साउन ११ मा धितोपत्र बोर्डमा आवेदन दिएको हिमालयन लार्ज क्याप फन्डले साउन २२ गते स्वीकृति पाएको थियो । अन्य धेरैवटा म्युचुअल फन्डहरूले ६ महिनासम्म पनि स्वीकृति नपाई पाइपलाइनमा रहँदा समेत उक्त म्युचुअल फन्डले भने आवेदन दिएको १२औं दिनमै स्वीकृति पाएको थियो ।

सोही म्युचुअल फन्डले नेपाल पुनर्बिमा कम्पनीको करिब साढे ३ लाख कित्ता सेयर किनेको छ । दीपक भट्ट र सुलभ अग्रवालमाथि भइरहेको कतिपय अनुसन्धानमा धितोपत्र बोर्डको समेत भूमिका शंकास्पद पाइएको शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् ।

तत्कालीन केपी ओलीको सरकारले २०८१ मंसिर तेस्रो साता बोर्डको अध्यक्ष नियुक्ति भएका श्रेष्ठलाई भट्टकै जोडबलमा नियुक्ति गरिएको आरोप लाग्दै आएको थियो । दीपक र सुलभमाथि अनुसन्धान तीव्र भएपछि श्रेष्ठमाथि पनि अनुसन्धानको सुई तेर्सिएको हो।

श्रेष्ठले रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकाले आफूले त्यसको सम्मान गर्दै राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।

रातको ९ बजे अर्थ मन्त्रालय पुगेका श्रेष्ठको अर्थमन्त्री वाग्लेसँग भेट भने भएन । वाग्लेको सचिवालयमा राजीनामा पत्र बुझाएर आफूले स्वेच्छाले राजीनामा दिएको र सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको प्रतिक्रिया दिएका थिए । उनी मन्त्री अर्यालको वेटिङ एरियामा करिब २ मिनेटमात्र बसेका थिए ।

Read more news from Clickmandu

Explore by Source or Category