Clickmandu
यी हुन् चालु आर्थिक वर्षको ७ महिनामा सर्वाधिक आयात र निर्यात भएका वस्तुहरू

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापार घाटा साढे ९ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालले कुल ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा मात्रै १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
नेपालको आयातको सूचीमा पहिले झैं यस पटक पनि पेट्रोलियम पदार्थ (इन्धन र लुब्रिकेन्ट) पहिलो स्थानमा छ । सात महिनाको अवधिमा १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसबाट सरकारले ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।
दोस्रो ठूलो आयात हुने वस्तुमा जनावर तथा वनस्पतिजन्य बोसो र तेल (खाद्य तेलको कच्चा पदार्थ आदि) रहेको छ, जसको आयात ९३ अर्ब ७५ करोड रुपैयाँको भएको छ । यद्यपि, यो क्षेत्रबाट नेपालले ७८ अर्ब १९ करोड बराबरको वस्तु निर्यात पनि गरेको छ, जुन नेपालको कुल निर्यातको ठूलो हिस्सा हो ।
यस्तै, फलाम र स्टील ७७ अर्ब ८५ करोड, विद्युतीय उपकरण ७७ अर्ब ६९ करोड र मेसिनरी सामान ७७ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ।
आयातको तुलनामा सवारी साधन र यसका पार्टपुर्जाहरूबाट सरकारलाई सबैभन्दा बढी राजस्व प्राप्त भएको छ । ६४ अर्ब ८४ करोड रुपैयाँ बराबरका सवारी साधन आयात हुँदा राज्यले ५१ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालको निर्यात पक्ष भने अझै पनि कमजोर र केही वस्तुमा मात्र सीमित देखिएको छ । कुल १ खर्ब ६८ अर्बको निर्यातमा ‘जनावर तथा वनस्पतिजन्य तेल र बोसो’ को हिस्सा मात्रै करिब ७८ अर्ब रुपैयाँ छ । यसबाहेक कफि तथा चियाको हिस्सा १२ अर्ब, स्ट्यापल फाइबर करिब ८ अर्ब, कार्पेट करिब ७ अर्ब, गार्मेन्ट (लत्ताकपडा) ५ अर्ब र खाद्य उद्योगका अवशेष (पशु आहार) ४ अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
शीर्ष १० आयात
१. खनिज इन्धन, तेल र पेट्रोलियम पदार्थ – १८०.७४ अर्ब रूपैयाँ
२. जनावर वा वनस्पतिजन्य बोसो र तेल – ९३.७५ अर्ब रूपैयाँ
३. फलाम र स्टील – ७७.८५ अर्ब रूपैयाँ
४. विद्युतीय मेसिनरी र उपकरणहरू – ७७.६९ अर्ब रूपैयाँ
५. मेसिनरी र मेकानिकल उपकरणहरू – ७७.५३ अर्ब रूपैयाँ
६. सवारी साधन र यसका पार्टपुर्जाहरू – ६४.८४ अर्ब रूपैयाँ
७. सुनचाँदी, बहुमूल्य पत्थर र धातुहरू – ४७.७९ अर्ब रूपैयाँ
८. मलखाद – ४२.६३ अर्ब रूपैयाँ
९. प्लास्टिक र यसका सामग्रीहरू – ३९.०८ अर्ब रूपैयाँ
१०. खाद्यान्न / अन्न – ३५.६२ अर्ब रूपैयाँ
शीर्ष १० निर्यात
१. जनावर वा वनस्पतिजन्य बोसो र तेल – ७८.१९ अर्ब रूपैयाँ
२. कफी, चिया र मसला – १२.२६ अर्ब रूपैयाँ
३. गलैंचा र भुइँमा ओछ्याउने सामग्री – ६.६४ अर्ब रूपैयाँ
४. तयारी पोशा (नबुनेको) – ५.१४ अर्ब रूपैयाँ
५. काठ र काठका सामग्री – ४.९० अर्ब रूपैयाँ
६. खाद्य उद्योगका अवशेष र पशु आहार – ४.८० अर्ब रूपैयाँ
७. तरकारी, फलफूल वा बिरुवाका परिकार – ४.१६ अर्ब रूपैयाँ
८. कपास, फेल्ट र विशेष धागोहरू – ३.३९ अर्ब रूपैयाँ
९. तयारी पोशाक (बुनेका) – २.५५ अर्ब रूपैयाँ
१०. अन्न, पीठो वा दूधका परिकार – २.४० अर्ब रूपैयाँ