npl.977 Nepal News Stream

Saral patrika logo

Saral patrika

Contents

एमालेको घोषणापत्र : १०० खर्बको अर्थतन्त्र र २७ बुँदे समृद्धिको खाका

Saral Patrika 10 hours ago

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पसहितको घोषणापत्र जारी गरेका हुन्।

एमालेले आफ्नो घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ र १० वर्षभित्र २०० खर्ब पुर्‍याउने लक्ष्य राखेको छ।

घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई मुख्य प्राथमिकतामा राखिएको छ।

एमालेले आफू सरकारमा रहँदा लोडसेडिङ अन्त्य गरेको र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता गौरवका आयोजनाहरू अघि बढाएको दाबी गरेको छ।

घोषणापत्रमा युवाहरूका लागि २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने र स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार रुपैयाँ पुर्‍याउने जस्ता लोकप्रिय कार्यक्रमहरू समावेश छन्।

यस्तै, ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार र सर्वोच्च अदालत लगायतका राज्यका संरचनाहरूलाई निश्चित समयसीमाभित्र पुनःनिर्माण गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ।

अध्यक्ष ओलीले यस निर्वाचनलाई सामान्य प्रतिस्पर्धा मात्र नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत-संग्रह’ भएको बताए। उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको सङ्घर्ष भएको उल्लेख गर्दै स्पष्ट बहुमतका लागि सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे।

 

कांग्रेसको प्रतिज्ञा : वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलाग्ने

Saral Patrika 10 hours ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने व्यक्तिगत आयकर प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘प्रतिज्ञा सभा’ लाई सम्बोधन गर्दै उनले मध्यमवर्गीय नागरिकलाई राहत दिन वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कुनै पनि कर नलगाउने प्रतिज्ञा गरे।

हालको करको सीमालाई पुनरावलोकन गर्दै सर्वसाधारणको खर्च गर्ने क्षमता बढाउन यस्तो नीति ल्याउन लागिएको थापाले स्पष्ट पारे। उनले उच्च दरको करका कारण लगानी र उपभोगमा परेको असरलाई कम गर्न हाल कायम रहेको अधिकतम ३० प्रतिशतको आयकरलाई घटाएर २५ प्रतिशतमा झार्ने योजना समेत सुनाए।

“नेपाललाई विदेशी लगानीको आकर्षक केन्द्र बनाउन केवल भाषण गरेर मात्र हुँदैन, नीतिगत सुधार र कर प्रणालीको सरलीकरण अनिवार्य छ,” सभापति थापाले भने। उनले करका सबै दरहरूलाई झन्झटमुक्त र लगानीमैत्री बनाउनु नै कांग्रेसको मुख्य आर्थिक एजेन्डा रहेको दाबी गरे।

आर्थिक सुधारका साथै संविधान कार्यान्वयनका लागि पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अबको सरकार सञ्चालनमा नयाँ आर्थिक मोडल अपनाउने संकेत गरे।

करको दायरा बढाउने तर दर घटाउने सिद्धान्तका आधारमा अर्थतन्त्रलाई चलायमान बनाइने उनको भनाइ छ। युवा उद्यमी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न यस्ता ठोस कर सुधारले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

विराटनगरबाट उडेको ६ मिनेटमै बुद्धको जहाजमा समस्या, विराटनगरमै अवतरण

Saral Patrika 15 hours ago

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही मिनेटमै विराटनगर विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराइएको छ। जहाजमा सवार ३० यात्रु र चालक दलका ४ सदस्यसहित सबै ३४ जना सकुशल रहेका छन्।

बुधबार राति ९ बजेर ४९ मिनेटमा उडेको यू ४–७१४९ कलसाइनको जहाजले करिब ६ मिनेट उडान भरेपछि दाहिने इन्जिनमा असामान्य संकेत देखिएको थियो। विमानस्थल प्रमुख सुवास झाका अनुसार पाइलटले तत्काल हवाई ट्राफिक कन्ट्रोलसँग समन्वय गरी जहाज फर्काउने निर्णय गरेका थिए। जहाज राति १० बजेर १३ मिनेटमा विराटनगरमै अवतरण गरेको हो।

अवतरणका क्रममा विमानस्थलमा आकस्मिक तयारी गरिए पनि जहाज सामान्य प्रक्रियाबाटै धावनमार्गमा ओर्लिएको थियो। दाहिने इन्जिनमा देखिएको प्राविधिक गडबडीबारे विस्तृत अध्ययन गर्न काठमाडौंबाट प्राविधिक टोली झिकाउने तयारी गरिएको छ। परीक्षण पूरा नभएसम्म जहाजलाई ग्राउन्डेड गरिने झाले बताए।

जहाजमा समस्या देखिएपछि रोकिएका यात्रुहरूलाई बुद्ध एयरकै अर्को जहाजमार्फत बुधबार राति नै काठमाडौं पठाइएको छ। हवाई सुरक्षा विज्ञहरूका अनुसार उडानका क्रममा देखिने सानो प्राविधिक संकेतलाई पनि गम्भीरतापूर्वक लिएर पाइलटले समयमै अवतरण गराउनु सुरक्षाका दृष्टिले सकारात्मक कदम हो।

३ मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

Saral Patrika 15 hours ago

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार बुधबार राति करिब आठ बजेतिर भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान रायको मृत्यु भएको हो। दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ कै २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएको छ।

ईश्वरपुर नगरपालिका-१३ को बाँके-संग्रामपुर सडक खण्ड अन्तर्गत ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

‘लोकतन्त्रलाई जीवनशैली बनाउन चुक्यौँ’

Saral Patrika 15 hours ago

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छिन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरेकी छिन्।

सामाजिक सञ्जालमा उनले “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ”, लेखेकी छिन् ।

आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

Explore news by Source or Category