npl.977 Nepal News Stream

#Tour and Travels

Contents
Tourism Face logo Tourism Face

गुराँस फूलेपछि दैनिक पाँच हजार पर्यटक पुग्न थाले तिनजुरे

Tourism Face 3 hours ago

टुरिजमफेस
तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ ।

वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए । छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहारलगायतका स्थानका पर्यटक आएको उनले बताए ।

चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फुल्न थालेपछि जिल्ला बाहिरबाट दैनिक पाँच हजार पर्यटक तीनजुरे क्षेत्र आउने गरेको होटल व्यवसायी सङ्घ वसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तिनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाभीभरा मन्दिर, तिनजुरे पिक, पाँचपोखरी, गुफापोखरी क्षेत्रमा फुलेका गुराँस हेर्ने पर्यटकको भीडले गुल्जार बनेको छ ।

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा वसन्तपुरस्थित नयाँ सहर आयोजनाको कार्यालयले विभिन्न पर्यटकीय संरचना निर्माण गरेका छन् । उक्त क्षेत्रमा साढे १० करोड बजेटको संरचना निर्माण गरिएको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख सुदीप झाले बताए । जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएका छन् ।

त्यसैगरि तिनजुरे जाने सडकको ठाउँठाउँमा शौचालय निर्माण गरिएका छन् । त्यसैगरी पाथीभरा मन्दिर जाने सिँढीमार्गमा छानोलगायत संरचना निर्माण गरिएको छ । बाह्रै महिना पर्यटक आइरहने तीनजुरे क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा विशेष पर्यटकीय चहलपहल बढ्छ । सो क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेपछि गुराँस फुल्ने समय र नयाँ वर्षको दिन पर्यटकले भरिभराउ हुने गरेको टुटेदेउरालीस्थित हिमगङ्गा होटलका सञ्चालक श्री कार्कीले बताए ।

तिनजुरे क्षेत्रको नाम धेरै सुनेकाले यसपल्ट झापाबाट परिवारसँग नयाँ वर्ष मनाउन आएको आयुष्मा राईले बताए । पहिलो पटक तीनजुरे क्षेत्र आएका उनलाई यहाँको चिसो मौसम, स्वच्छ हावापानी र वनमा फूलेका गुराँसले मोहित बनाएको बताए ।

त्यसैगरी, सुनसरीको इटहरीबाट आउनुभएका सुरेन्द्र क्षेत्रीले तिनजुरे क्षेत्र एकपटक पुग्नैपर्ने ठाउँका रुपमा आफूले पाएको प्रतिक्रिया दिए ।

The post गुराँस फूलेपछि दैनिक पाँच हजार पर्यटक पुग्न थाले तिनजुरे first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

‘प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली विश्वको आरोग्य हब बन्नसक्छ’

Tourism Face 4 hours ago

टुरिजमफेस
कर्णाली । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् ।

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरेका हुन् ।

योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बताए । उनले भने, “जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक÷प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।

वैज्ञानिक विष्टले भन्नुभयो, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा-रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए ।

मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उनले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।

The post ‘प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली विश्वको आरोग्य हब बन्नसक्छ’ first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

Tourism Face 21 hours ago

टुरिजमफेस
सङ्खुवासभा । सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ । चिचिलाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरीमा पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै गएपछि पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको सवारी दूरीमा रहेको यस पोखरीलाई संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएपछि पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मत्स्यपोखरीमा तीर्थयात्री तथा पर्यटक असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् ।

असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणीय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । चिचिला गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय मत्स्य पोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए । उनले मत्स्यपोखरी क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न विभिन्न पूर्वाधार निर्माण गरेको छ । मत्स्यपोखरीलाई मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

मत्स्य पोखरी धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएकाले यसलाई व्यवस्थित रूपमा विकास गरिने बताए । मत्स्यपोखरीको आकर्षण थप्न असला माछाको स्तम्भ, पानीको फोहोरासहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदूत गौतमबुद्धको प्रतिमा बनाई प्राण प्रतिष्ठासमेत गरिएको छ । पोखरीको अवलोकन भ्रमणका लागि अहिले जिल्लाभित्र तथा अन्य जिल्लाबाट दैनिक आन्तरिक तथा बाह्य सयौँ बढी पर्यटक र श्रद्धालु भक्तजन पुग्ने गरेका छन् भने पिकनिकस्थल र पारिवारीक भ्रमणका लागि मानिसहरू जाने गरेका छन् ।

गाउँपालिकाले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिकस्थल, शौचालय, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था गरेको छ । यहाँको कञ्चन पानीबाटै सभाखोलामा पाइने असला माछाको बीउ उत्पत्ति भएको भनिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक गाउँपालिकाले विभिन्न पूर्वाधार निर्माणसमेत गरेको छ । गाउँपालिकाले स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यावरण संरक्षणलाई जोड दिँदै दिगो पर्यटन विकासमा ध्यान केन्द्रित गरेको जनाएको छ । यसका साथै स्थानीय संस्कृति, परम्परा र मौलिक खानपानलाई प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ ।

मत्स्यपोखरी क्षेत्रको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, आर्थिक गतिविधि बढ्ने र समग्र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप बजेट विनियोजन गरी योजनालाई तीव्रता दिने जनाएको छ ।

The post मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

पूर्वाधार थपिँदा खोटाङका पर्यटकीयस्थलमा पर्यटकको घुइँचो लाग्न थाल्यो

Tourism Face 21 hours ago

टुरिजमफेस
खोटाङ । नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज खाँदै रमाइलो गर्ने प्रचलन ह्वात्तै बढेको छ ।

नयाँ वर्षको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङ्साहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, टेम्के र स्याल्मे, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मैस्याङटार, रावाबेँसी गाउँपालिकाको डुम्रेकोटगढी र प्रिमाकोटगढी, ऐसेलुखर्क गाउँपालिकाको बहानेपोखरी र झुलेडाँडालगायत पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने पर्यटकको बाक्लो घुइँचो लागेको थियो ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा जिल्लाका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु उदयपुर, सुनसरी, सङ्खुवासभा, इलाम, तेह्रथुम, पाँचथरलगायतका पर्यटक पुगेका थिए । समुद्री सहतदेखि तीन हजार १० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा भ्यू–टावर निर्माणाधीन अवस्थामा छ । प्राकृतिकरुपमै पर्यटकीयस्थल टेम्केडाँडामा कोशी प्रदेश सरकारको लगानीमा फलामे ट्रस जडान गरेर भ्यू–टावर निर्माण सुरु गरेपछि निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।

पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा स्थानीय बासिन्दा बाहेक कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिने गरेको छ । नयाँ वर्ष मनाउनका लागि राँगा, खसी, सुँगुर, कुखुराको भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका जिल्लावासीहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।

ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु घण्टौँ पैदलयात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिक रुपमा वनभोज खाँदै, नाचगान र रमाइलो गरेर नयाँ वर्ष मनाउने गरेका छन् । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दा रिजर्भ गरिएका गाडी तथा मोटरसाइकल लिएर पर्यटकीयस्थलमा पुग्ने गरेका छन् ।

वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने विश्वासका साथ नयाँ वर्षलाई विशेष महत्व दिएर मनाउने गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जीव राईले बताए । “वर्षभरि विभिन्न कामले थकित भइन्छ । नयाँ वर्ष लागेसँगै केही नयाँ काम गरौँ भन्ने सबैमा हुन्छ”, उनले भने, “वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने जनविश्वास छ । त्यसैले नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको हो ।”

पछिल्लो समय पर्यटकीयस्थलबाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दिक्तेल बजारको सबैभन्दा नजिक रहेको पर्यटकीयस्थल रुपाकोट र मझुवागढीमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै सर्वसाधारणको बाक्लो घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् ।

चारैतिर घना जङ्गलले घेरिएको पर्यटकीयस्थल रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ, खाल्लेलगायका बुढापाका, युवायुवती र बालबालिकाको चहलपहल हुन्छ । परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल रुपाकोट पुगेका सर्वसाधारण गीत तथा दोहोरी गाउँदै नाचेर रमाइलो गर्छन् ।

नयाँ वर्ष मनाउन बन्दोबस्तीका सामानसहित रुपाकोटमा आइपुगेका स्थानीय रुपाकोटमै दुई÷तीन दिनसम्म बसेर रमाइलो गर्ने गरेको खार्मीका दिलकुमार राईले बताए । “वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तमा रुपाकोट आउने र रातभरि जाग्राम बसेर रातको १२ बजे पुरानो वर्षलाई बिदा गरिन्छ । यो चलन लामो समयअघिदेखि चलिआएको हो”, उनले भने, “नया“ वर्षको पहिलो दिन दिनभर रुपाकोट क्षेत्र घुमफिर गर्दै रमाइलो गरिन्छ । राति जुहारी गाउँदै बसेर बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाइन्छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट लिएर घर फर्किने चलन छ ।”

पर्यटकीयस्थल रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमश्रृङ्खला, तराईका फाँट, घाँसेमैदान तथा सूर्यदय तथा सूर्यास्तको दृष्यसमेत अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाईमा रहेको रुपाकोटमा नयाँ वर्षबाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यूटावरसमेत निर्माण गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिको काम गरेका छन् । प्राकृतिकरुपमै सुन्दर रहेको पर्यटकीयस्थललाई देशमा सङ्घीयता लागू भएपछि तीनवटै तहका सरकारको लगानीमा भौतिक सुविधासहित स्तरोन्नति गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटक झनै आकर्षित हुन थालेका हुन् ।

पर्यटन क्षेत्रलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारसमेत सुरु गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले विशेषगरी बाह्य पर्यटकलाई लक्षित गरेर क्युआरकोर्डमार्फत पर्यटकीयस्थल अध्ययन गर्न सकिने एप्स नै विकास गरिरहेको छ ।

The post पूर्वाधार थपिँदा खोटाङका पर्यटकीयस्थलमा पर्यटकको घुइँचो लाग्न थाल्यो first appeared on Tourism Face.

Explore by Source or Category