npl.977 Nepal News Stream

#Tour and Travels

Contents
Tourism Face logo Tourism Face

अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले

Tourism Face 50 minutes ago

टुरिजमफेस
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाताको प्रयोग गरेर समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् ।

सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउन २० जना अट्ने आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताए ।

“तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रूपमा रेस्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ”, गर्बुजाले भने, “सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृश्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिन्छ। सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ ।

चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो।

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ। चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ ।

अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेंसीका फाँटमा झर्ने गर्दथे। नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ ।

चिमखोला घर भई हाल पोखरामा बसोबास गर्ने तारा गर्बुजा पुन र उनका भाइ गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँनजिकै पाँच÷पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन्।

वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ। हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ ।

वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ। टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान) र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

 

The post अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

आहा ! आलिताल

Tourism Face 14 hours ago

माधवी भट्ट
अमरगढी (डडेल्धुरा) । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवद्र्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरेको छ ।

गत वर्ष २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ ।

तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ ।

पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए । गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइनेछ ।

साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए । तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए ।

गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)– जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छ । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उनलाई चेतावनी दिइएको थियो ।

‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु,’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भने। तर उनको भनाइलाई कसैले विश्वास गरेनन्। अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो। खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो। यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् ।

The post आहा ! आलिताल first appeared on Tourism Face.

Explore by Source or Category