कांग्रेसमा असन्तुष्टलाई फकाउने जिम्मा गगनलाई, नीति प्रतिष्ठानको संयोजकमा विश्वप्रकाश
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको पूर्वसंस्थापन पक्षलाई फकाउने जिम्मा सभापति गगन थापालाई दिने निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले तोकिएकै समयमा १५औं महाधिवेशन सम्पन्न गर्न असन्तुष्ट पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई दिएको हो।
कांग्रेस १५औं महाधिवेन असोज १६ देखि १९ गतेका लागि तोकिसकेकोले असन्तुष्ट पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘१५औं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि संवाद गर्न सभापति गगन थापालाई जिम्मेवारी दिइएको छ,’ प्रवक्ता चालिसेले भने।
पूर्वसंस्थापनले भने सर्वोच्च अदालतबाट आधिकारिकता विवाद नसल्टेसम्म महाधिवेशन तोक्न नमिल्ने दाबी गर्दै आएको छ।
कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिएको छ।
बैठकले निर्वाचन ब्युरोसमेत गठन गरेको प्रवक्ता चालिसेले बताए। निर्वाचन ब्युरोको संयोजक उपसभापति पुष्पा भुसाललाई तोकिएको छ।
यसैगरी महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन तथा समन्वय समिति गठन गरिएको छ। सहमहामन्त्रीद्वय बहादुरसिंह लामा र मुक्ता यादवलाई समितिको सदस्य तोकिएको छ।
यसैगरी अर्का महामन्त्री प्रदीप पौडेललाई सदस्य व्यवस्थापन समितिको संयोजक तोकिएको प्रवक्ता चालिसेले बताए। समितिमा सहमहामन्त्रीहरु योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन्।
यस्तै संसद्मा रहेका राजनीतिक दलसँग संवाद गर्न अर्जुननरसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको छ।
The post कांग्रेसमा असन्तुष्टलाई फकाउने जिम्मा गगनलाई, नीति प्रतिष्ठानको संयोजकमा विश्वप्रकाश appeared first on BIZMANDU.