News of Nepal
विश्व बक्सिङमा पहिलो पदक जित्ने चन्द्र बहादुर थापा
दुबईको त्यो विशाल बक्सिङ एरिना । झलमल्ल बत्तीहरू, हजारौँ दर्शकको हुटिङ र रिङको बीचमा उभिएका एक २६ वर्षीय नेपाली ठिटो चन्द्र बहादुर थापा । रोल्पाको विकट पहाडदेखि विश्व बक्सिङको शिखरसम्मको यो यात्रा कुनै चलचित्रको कथाभन्दा कम रोमाञ्चक छैन । जब रेफ्रीले चन्द्रको हात हावामा उठाए, त्यो केवल एउटा खेलको जित मात्र थिएन । त्यो नेपाली खेलकुद इतिहासकै एउटा यस्तो स्वर्णिम पल थियो, जसले नेपाललाई पहिलो पटक आईबीए वल्र्ड बक्सिङ च्याम्पियनसिपको पदक तालिकामा उभ्याइदियो ।
५१–५४ केजी तौल समूह (वेन्टम वेट) अन्तर्गतको त्यो क्वाटरफाइनल भिडन्त सायदै कसैले भुल्न सक्ला । इरानी मुक्केबाज मेहदी काजेमीविरुद्ध चन्द्र एउटा आक्रामक बाघ झैँ प्रस्तुत भए । तर, जितको मूल्य चर्को थियो । खेलकै क्रममा चन्द्रको दाहिने हातको कुहिनामा ठूलो चोट लाग्यो । पीडा भईरहेको थियो, तर चन्द्रको आँखामा आफ्नो देशको झण्डा फहराउने सपना थियो । ५–० को ‘युनानिमोस डिसिजन’ सँगै जब उनले कांस्य पदक पक्का गरे, तब मात्र उनले आफ्नो अनुहारमा खुसी र आँखामा हर्षका आँसु लुकाउन सकेनन् ।

सेमिफाइनलको मञ्च अझ कठिन थियो । अगाडि थिए पूर्व विश्व च्याम्पियन कजाख्स्तानका अनुभवी मुक्केबाज बिबोसिनोभ साकेन । एकातिर विश्वकै उत्कृष्ट खेलाडीको अनुभव, अर्कोतिर विना कुनै वरीयताका चन्द्र र उनको घाइते हात । रिङमा उत्रिँदा चन्द्रलाई थाहा थियो कि उनको दाहिने हातले पूर्ण साथ दिने छैन भनेर, तर उनले हिम्मत हारेनन् । चोटको परवाह नगरी उनले अन्तिम सेकेन्डसम्म संघर्ष गरे । उक्त खेलको हारले उनलाई फाइनल पुग्नबाट त रोक्यो, तर उनले विश्व च्याम्पियनलाई हम्मे–हम्मे पारेर देखाए । उनी कांस्य पदकसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार जित्दै नेपाली बक्सिङका अहिलेसम्मकै सफल पात्र बने ।
यो सफलता पाउनअघि उनले तीनजना विश्व वरीयता प्राप्त बक्सर समेतलाई पाखा लगाएका थिए । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५ः० अंकले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५ः० अंकले र क्वार्टरफाइनलमा इरानका काजेमी मेहदीलाई ५ः० अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । यो सफलता रातारात मिलेको होइन । यो त दाइ भूपेन्द्र थापाको बक्सिङ मोह देखेर सुरु भएको एउटा सानो सपनाको परिणाम हो । दाङको ग्रामीणस्तरको ट्रेनिङ सेन्टरदेखि काठमाडौंको नेपाल पुलिस क्लबको कडा अनुशासनसम्म, चन्द्रले आफ्नो जीवनको एक दशकभन्दा बढी समय बक्सिङ खेलमै बिताएका छन् । प्रारम्भिक प्रशिक्षण दाङको अल्फा स्पोर्ट ट्रेनिङ सेन्टर (पहिले दाङ बक्सिङ क्लब) मा प्रशिक्षक समिर सिद्दीकीकी र हरि सुनारको मातहतमा सुरु गरेका उनलाई नेपाल प्रहरीमा आबद्ध भएपश्चात प्रशिक्षक राज श्रेष्ठ तथा पूर्व चर्चित अन्तर्राष्ट्रीय खेलाडीद्वय दिनेश श्रेष्ठ, आफ्नै दाई भूपेन्द्र थापा र अनुराधा लामाबाट थप प्रशिक्षण प्राप्त भयो ।
दुबईमा इतिहास रच्नुअघि दुई पटक (इटाली र थाइल्याण्ड) मा भएको ओलम्पिक क्वालिफाइंग खेलेका चन्द्रले ताजिकिस्तानका खेलाडीलाई समेत पराजित गरेर सनसनी मच्चाएका थिए । राष्ट्रिय बक्सिंगको कुरा गर्ने हो भने चन्द्रले बीर गणेशमान सिंह बक्सिंग च्याम्पियनशिपको दुई संस्करणमा दुई स्वर्ण पदक जितेका छन । जसमध्ये एकपटक उनी “बेस्ट बक्सर” समेत घोषित भए । त्यस्तै, प्रकाश दाहाल स्मृति बक्सिंग प्रतियोगिताको दुईवटा संस्करण मार्फत पनि उनले दुई स्वर्ण जितेका छन ।

“एमेच्योर बक्सिङमा लाग्नु भनेको ढुङ्गा र गिट्टी भएको उबडखाबड बाटोमा म्याराथन दौडनु जस्तै हो,”–उनी भावुक हुँदै भन्छन् । जहाँ विश्वका अन्य खेलाडीहरू अत्याधुनिक प्रविधि र सुविधायुक्त ‘पक्की सडक’ मा दौडिरहेका छन्, त्यहाँ चन्द्र जस्ता नेपाली खेलाडीहरू अभाव र सीमित स्रोतका बावजुद दोब्बर मेहनत गरेर उनीहरूलाई उछिन्न बाध्य छन् । आज चन्द्रको सफलताले पुरै देश गौरवान्वित छ । तर, यो यात्राको अर्को पाटो अझै चुनौतीपूर्ण छ । पदक र पुरस्कारको चर्चा चुलिइरहँदा, उनले पाउने पुरस्कार रकमको आधा हिस्सा संघ र प्रशिक्षकलाई जानेछ । अर्कोतर्फ विधिसम्मत सरकारीस्तरबाट पाउनुपर्ने पुरस्कारको अनिश्चितताले भने उनलाई कताकता झस्काउँछ । तर, यी आर्थिक र प्राविधिक अड्चनहरू उनका लागि गौण हुन् ।
अहिले चन्द्रको नजर आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छ । आगामी एसियन गेम्सलाई मध्यनजर गरी नेपाल ओलम्पिक कमिटीले प्रदान गरेको छात्रवृत्तिसमेत उनले पाएका छन । उनी बिहान र साँझ गरी दैनिक ४ घण्टा प्रशिक्षण गरिरहेका छन । उनको एउटै लक्ष्य छ “मिसन २०२६ एसियन गेम्स” र ओलम्पिकको त्यो पोडियम जहाँ उनी नेपालको राष्ट्रिय गान गुञ्जाउन चाहन्छन् । रोल्पाको ग्रामीण भेगबाट सुरु भएको उनको यो यात्रा अब विश्वको कुना–कुनामा पुग्ने संकल्पमा बदलिएको छ । चन्द्र बहादुर थापा आज केवल एक बक्सर मात्र होइनन्, उनी लाखौँ नेपाली युवाका लागि ‘असम्भव भन्ने केही हुँदैन’ भन्ने जीवित उदाहरण हुन् ।