फेरि गृहमन्त्रीविरुद्ध खनिए सुधन, सामाजिक सञ्जालमै सार्वजनिक गरिदिए फोन नम्बर
काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध खनिएका छन् । अहिलेसम्म जेनजीका माग पूरा नगरेको भन्दै रुष्ट उनले आइतबार गृहमन्त्री अर्यालकै फोन नम्बर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका छन् । गुरुङले पीडित परिवारहरुलाई अब न्यायका लागि सोझै गृहमन्त्री र उनको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
आफ्नो समूहले दुई महिनायता लगातार पीडित परिवारलाई न्याय दिलाउन प्रयास गरे पनि गृहमन्त्रीको लापरवाहीले असफल भएको जानकारी दिँदै मन्त्रीको नम्बर उपलब्ध गराएका हुन् । गृहमन्त्री अर्याल, उनका स्वकीय सचिव धिरज जोशी र गृह सचिव रामेश्वर दंगालको नम्बर सार्वजनिक गरेका गुरुङले सोझै सम्पर्क गरेर दबाब दिन घाइते तथा पीडित परिवारलाई आग्रह गरेका हुन् ।
पछिल्लो समय गृहमन्त्रीको राजीनामा माग्दै आएका उनले भनेका छन्, ‘झुटा अभद्र मुद्दामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि मुद्दा र धरौटीका कारणले रिहाइ हुन नसेका पीडित पक्षका परिवारले अबदेखि रिहाइका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्रीज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहोला,’ उनले लेखेका छन् ।
गुरुङले जेन जी समूह र सरकारबीच भएको १० बुँदे सम्झौतामा राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्न नमानेको आरोपसमेत लगाएका छन् । ‘सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको आनाकानीका कारण जेनजी र सरकार पक्षबीच भएको सम्झौताबमोजिम भ्रष्टाचारी र हत्यारालाई छानबिन तथा कारवाहीको दायरामा ल्याउन समस्या उत्पन्न भएको छ’, उनले लेखेका छन् ।