npl.977 Nepal News Stream

#स्वास्थ्य

Contents
Kendrabindu logo Kendrabindu

केएमसीलाई फेरि अर्को सफलता

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी), सिनामंगलले मस्तिष्कसम्बन्धी जटिल समस्या भएकी ५२ वर्षीया एक महिलाको सफल उपचार गरेको छ ।

केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार ती महिलालाई तीव्र टाउको दुखाइपछि बेहोस अवस्थामा राति अस्पताल ल्याइएको थियो । प्रारम्भिक परीक्षणका क्रममा गरिएको सिटी स्क्यानमा मस्तिष्कमा रगत जमेको देखिएको थियो । थप जाँचका लागि गरिएको सिटी एन्जियोग्राफीमा मस्तिष्कका विभिन्न भागमा तीनवटा एन्युरिज्म अर्थात् रक्तनली फुलेको अवस्था देखिएको थियो, जसमा एउटा फुटिसकेको थियो ।

“बिरामीको अवस्था गम्भीर भएकाले तत्काल क्याथल्याबमा लगेर फुटेको एन्युरिज्मलाई ‘कोइलिङ’ प्रविधिबाट उपचार गरियो,” डा. पौडेलले भने । बिरामीको अवस्था स्थिर भएको केही समयपछि फेरि बाँकी दुईवटा बेलुन अर्थात् एन्युरिज्मको विशेष प्रकारको फ्लो डाइभर्टर हालेर उपचार सुरु गरियो । दुईवटा बेलुनमध्ये एउटा आँखामा रगत आपूर्ति गर्ने नशाबाट आएको थियो । त्यसैले त्यसको खुल्ला शल्यक्रिय गर्न मिल्दैनथ्यो किनकि त्यसो गर्दा आँखाको ज्योति गुम्नसक्थ्यो । त्यसपछि डाक्टरहरूले फ्लो डाइभर्टर नामक विशेष प्रकारको स्टेन्ट प्रयोग गरेर नयाँ नशा निर्माण गरे । यो उपचारपछि रगत आपुर्ति सहज हुँदै गयो र महिलाले नयाँ जीवन पाइन् । उपचारपछि अहिले बिरामीको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको छ । चेतनाको स्तर पनि निकै राम्रो हुँदै गएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यो प्रविधि नेपालमा नभित्रिँदासम्म मष्तिष्कमा रगत जमेको अवस्थामा खुल्ला शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर यस्ता धेरै अवस्थामा खुल्ला शल्यक्रिया गर्न धेरै गाह्रो हुन्थ्यो । त्यसका लागि कि त देशबाहिर सिंगापुर, नयाँदिल्ली वा अमेरिका लैजानुपर्ने अवस्था थियो कि ज्यान जोखिममा पारेर खुल्ला शल्यक्रिया गर्नु पर्दथ्यो । तर अहिले केएमसीले भित्र्याएको न्युरोइन्टरभेन्सनजस्तो आधुनिक प्रविधिपछि यस्ता रोगको उपचार एकदमै सहज भएको छ । यो प्रविधि अनुसार कुनै ठूलो चिरफारबिना नै कोइलिङ वा स्टेन्टबाट उपचार गरिन्छ ।

नेपाली कांग्रेसका लोकप्रिय युवानेता डा. सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेजमा अहिले विशेष सुविधायुक्त न्युरो केन्द्रित क्याथल्याब छ । र, उपचार गर्ने डाक्टरहरू पनि विदेशबाट यही विषयमा विशेषज्ञता हासिल गरेर आएका छन् । त्यसैले मष्तिष्क, मष्तिष्कका रक्तनली र मष्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचार सेवा केएमसीमा उपलब्ध छ ।

सुनसरीको गढी गाउँपालिका–१ निवासी अशोककुमार चौधरीकी ५२ वर्षीया पत्नीमा देखिएको उक्त समस्या समयमै पहिचान गरी ‘कोइलिङ’ तथा ‘फ्लो डाइभर्टर’ प्रविधिबाट सफल उपचार गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुँदै गर्दा बिरामी तथा उनका आफन्तले उपचारमा संलग्न चिकित्सक, केएमसी अस्पताल तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Kendrabindu logo Kendrabindu

शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति: २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो ।

उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन् ।

मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाग’ गर्दै सेवा गुणस्तर उकास्ने पहल गरेको छ । देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको छ ।

जलनका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न ९ संघीय र १४ प्रादेशिक गरी २३ वटा अस्पतालमा सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

News of Nepal logo News of Nepal

तिलगंगा आँखा प्रतिष्ठान र बीपीकेआइएचएसबीच सहकार्य सम्झौता

न्युज अफ नेपाल 8 hours ago

काठमाडौँ।

तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच विभिन्न शैक्षिक, अनुसन्धान तथा स्वास्थ्य सेवा सम्बन्धी क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार दुवै संस्थाबीच शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना, शैक्षिक कार्यक्रम तथा व्यावसायिक क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा संस्थागत आदानप्रदानलाई प्रवर्द्धन गरिनेछ। यस सहकार्यले दुवै संस्थाबीच शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरूले बीपीकेआइएचएसमा नियमित रूपमा आँखासम्बन्धी विभिन्न उपविशेषज्ञ सेवा अन्तर्गत ओपीडी तथा शल्यक्रिया सञ्चालन गर्नेछन्। साथै प्राध्यापक तथा रेसिडेन्टहरूका लागि शैक्षिक कक्षासमेत सञ्चालन गरिनेछ।

त्यसैगरी, आरओपी स्क्रिनिङ, उपविशेषज्ञ शल्यक्रिया तथा लेजर सम्बन्धी तालिम प्रदान गरिनेछ। क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा बीपीकेआइएचएसलाई सहकार्यात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गर्दै संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ।

सम्झौताअनुसार बीपीकेआइएचएसका रेसिडेन्टहरूलाई विभिन्न उपविशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङको व्यवस्था गरिनेछ। साथै, दुवै संस्थाका प्राध्यापकहरूबीच क्षमता अभिवृद्धि तालिम, चिकित्सकीय शिक्षा कार्यक्रम तथा पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ।

यसैगरी आँखा जाँच शिविर तथा शल्यक्रिया शिविरहरू पनि आयोजना गरिने जनाइएको छ।

प्रतिष्ठानमा आयोजित सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा डा. सन्दुक रुइट र डा. विक्रम प्रसाद श्रेष्ठ ले आ–आफ्ना संस्थाका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो।

यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन शैक्षिक, अनुसन्धान तथा सेवा साझेदारीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

News of Nepal logo News of Nepal

औषधि व्यवस्था विभागमा नयाँ नेतृत्व

न्युज अफ नेपाल 9 hours ago

काठमाडौं ।

स्वास्थ्य क्षेत्रमा पछिल्लो निर्णयसँगै औषधि व्यवस्था विभागको नेतृत्व परिवर्तन भएको छ । स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै विभागकी वरिष्ठ अधिकारी शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
मन्त्रालयका अनुसार २७ चैतमा गरिएको निर्णयअनुसार खड्गीलाई तत्काल लागू हुने गरी जिम्मेवारी दिइएको हो । विभागमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहनुभएकी दशौँ तहकी खड्गी यसअघि वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । लामो अनुभवका कारण उहाँ विभागीय कामकारबाहीमा दक्ष मानिनुहुन्छ ।

मन्त्रालयले जारी गरेको पत्रमा अर्को व्यवस्था नभएसम्म महानिर्देशकले गर्ने सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न खड्गीलाई निर्देशन दिइएको छ । पत्र प्राप्त गरेलगत्तै उहाँले पदभार ग्रहण गरिसक्नुभएको छ । मन्त्रालयले यसलाई अन्तरिम व्यवस्था भएको जनाएको छ ।

यसअघि २६ चैतमा मन्त्री मेहताले विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तान्नुभएको थियो । उहाँमाथि कानुनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेको छ । सो आरोपपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै उहाँलाई जिम्मेवारीबाट हटाएको हो । उक्त विषयमा छानबिन गर्न मन्त्रालयले २७ चैतमै अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको भए पनि निर्धारित समयसीमाभित्र काम अघि बढ्न सकेको छैन ।

३० चैतसम्म पनि छानबिन प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ । यसले छानबिनको गति र पारदर्शीतामाथि प्रश्न उठाएको छ । औषधि मूल्य निर्धारणजस्तो संवेदनशील विषयमा अनियमितताको आरोप लागेपछि सरकारमाथि नियामक निकायको विश्वसनीयता कायम राख्ने चुनौती थपिएको छ ।

नयाँ नेतृत्वसँगै विभागको कामकारबाही कसरी अगाडि बढ्छ र छानबिन समितिले के निष्कर्ष निकाल्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्रमा रहेको छ ।

Explore by Source or Category