राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
आगो लगाएर सुशीलाको हत्या
सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटमा एक जना महिलालाई प्रज्वलनशील पदार्थ छर्केर आगो लगाई हत्या गरिएको छ । आइतबार बेलुकी करिब साढे ४ बजेतिर उनलाई आफ्नै घरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगोका कारण ३२ वर्षीया सुशीला घिसिङ बम्जनको घटनास्थलमै मृत्यु भएको छ ।
घरेलु हिंसाको चरम रूप
आगोको लप्काले भेट्दा खाटमा बसेका ससुरा दुर्गामान बम्जनसमेत जलेर घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्गामानको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । उनी प्यारालाइसिसका बिरामी भएको र भाग्न नसक्दा शरीरको केही भाग जलेको स्थानीयले जनाएका छन् ।
सुशीलालाई उनकै नन्द र सासूले आगो लगाएको आफन्तहरूले बताएका छन् । हारगुहार गरेको सुनेपछि स्थानीय घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको र आगो बलिरहेको थियो ।
स्थानीयले सासू मायारानीसँग साँचो मागी गेटको ताल्चा खोल्दा सुशीलाको मृत्यु भइसकेको पाइएको थियो । आगो लगाएर उनलाई ढोकामा ताल्चा लगाएको र छिमेकीले आएर चाबी मागेर खोलेर आगो निभाएको पीडितकी आफन्त सरिता स्याङ्तानले बताएकी छन् ।
उनलाई ६–७ वर्षदेखि नै नन्द मीना बम्जन, सासू मायारानी बम्जन र ससुरा दुर्गा बम्जनले निरन्तर यातना दिँदै आएको मृतकका आफन्तको आरोप छ । करिब २ महिनादेखि नन्द मीनाले सुशीलालाई मार्ने धम्की दिँदै आएकी थिइन् । मृतक सुशीलाले आफ्नी बहिनीसन्धी तथा भाउजू निर्मलालाई सो कुरा जानकारी गराएकी थिइन् ।
घटनाको १ घण्टाअगाडि बहिनीसन्धीलाई आफूलाई मार्ने योजना रहेको र नन्दले बिहानैदेखि आजै मार्ने भनेर धम्की दिइरहेको जानकारी गराएको सन्धीले आफूलाई बताएको सरिताले जानकारी दिइन् । बहिनीलाई जानकारी गराएको १ घण्टामै उनको हत्या भएको माइती पक्षको आरोप छ । मृतकको पुरै शरीर जलेको छ ।
पछिल्लो दुई महिनादेखि नन्दले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको सुशीलाले सुनाउँदै आएको स्याङ्तानले बताइन् । छिमेकी पदमबहादुर अस्थानीले आफूले घटनास्थलमा आएर आगो निभाएको बताएका छन् । उनले आगो निभाएपछि मात्र सुशीलाको शव लडेको अवस्थामा देखेको बताएका छन् ।
घटना भएपछि घटनास्थलमा आएका मृतकका काका सुकबहादुर घिसिङ, भाउजू निर्मला स्याङ्तानले उनको हत्या नै भएको दाबी गरेका छन् । पटकपटक सुशीलालाई यातना दिने गरेको र माइती पक्षले नै उनलाई घरमा पठाउने गरेको उनीहरूले बताए ।
घरको भान्साभरि सेलरोटी छरिएको अवस्थामा भेटिएको छ । सेल पकाउने भाँडामा तेल बाँकी रहेको भेटिएको छ । प्रहरीले घटनास्थलबाट पेट्रोलसहितको बोत्तलसमेत बरामद गरेको छ ।
सुशीलाका ७ वर्षका तिम्ल्याहा छोराछोरी छन् । दुई छोरा, एक छोरीकी आमा सुशीला लामो समयदेखि घरेलु हिंसाबाट पीडित रहेको उनका माइतीले बताएका छन् । सुशीलाका श्रीमान सूर्य बम्जन २ वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीसहितको टोली पुगेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य सुवेदीले बताएका छन् । तथापि, प्रहरीले हत्या हो वा होइन भन्ने विषयमा केही खुलाएको छैन ।
The post आगो लगाएर सुशीलाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....