npl.977 Nepal News Stream

#सम्पादकीय

News of Nepal logo News of Nepal

साझा संकल्पको स्वास्थ्य मार्गचित्र कार्यान्वयनमा चुनौती

न्युज अफ नेपाल 13 hours ago

नयाँ वर्ष २०८३ को प्रारम्भसँगै वर्तमान सरकारले अघि सारेको ‘१८ बुँदे राष्ट्रिय प्रतिबद्धता’ नेपाली राजनीतिको एउटा नौलो र सकारात्मक प्रयोगका रूपमा देखिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा प्रमुख दलका चुनावी घोषणापत्रलाई एकीकृत गरी एउटै राष्ट्रिय संकल्प बनाउनुले लोकतन्त्रमा दलहरूबीचको साझा सहमति र सहकार्यको नयाँ आयामलाई संकेत गर्दछ । विशेष गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वि.सं. २०८८ सम्म स्वास्थ्य बजेटलाई कुल बजेटको ८ प्रतिशत पु¥याउने र ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ जस्ता कार्यक्रम ल्याउनु नागरिकको जनस्वास्थ्यप्रति सरकारको गम्भीर चासोको विषय हो ।

विगतमा दलहरूले चुनावका बेला जनतासामु गरेका बाचाहरू घोषणापत्रमै सीमित रहने र सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति नेपाली राजनीतिका लागि नौलो थिएन । तर प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले ती छुट्टाछुट्टै बाचाहरूलाई ‘साझा राष्ट्रिय योजना’का रूपमा ग्रहण गर्नु आफैँमा प्रशंसनीय छ । यसले राजनीतिक दलहरूको साख मात्र जोगाएको छैन, मुलुकको विकास र सुशासनका लागि दलहरू अब एकै ठाउँमा उभिन सक्छन् भन्ने आशासमेत जगाएको छ ।

यो प्रतिबद्धतापत्रको सबैभन्दा बलियो पक्ष भनेको स्वास्थ्य क्षेत्रको संरचनागत सुधार हो । दुर्गमका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा एमडीजीपी चिकित्सकसहितको जनशक्ति सुनिश्चित गर्ने र ज्येष्ठ नागरिक तथा असक्तका लागि ‘घरदैलोमा स्वास्थ्य सेवा’ पु¥याउने लक्ष्यले राज्यको अभिभावकीय भूमिकालाई प्रस्ट पारेको छ । तर हाम्रो शासकीय स्वरूपमा रहेको तीन तहको विभाजनले नागरिकको स्वास्थ्य अधिकारलाई कताकता अल्झाइरहेको कटु सत्य हो । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो तर संघीयताको अभ्यासमा प्रदेश र स्थानीय तहबीचको क्षेत्राधिकारका कारण कतिपय अवस्थामा स्वास्थ्य सेवामा अलमल र ढिलासुस्ती हुने गरेको छ ।

सरकारले यो योजनालाई व्यवहारमा उतार्दा संघीय र स्थानीय तहबीच प्रत्यक्ष र प्रभावकारी सम्बन्ध स्थापित गर्न ढिलाइ गर्नुहुँदैन । स्वास्थ्य सेवाको वितरणमा तीन तहको विभाजनलाई अवरोध बन्न नदिई ‘अभिभावक सरकार’को महसुस प्रत्येक नागरिकले समानरूपमा गर्न पाउनुपर्छ । औषधि उत्पादनमा आत्मनिर्भरताका लागि नेपाल औषधि लिमिटेडको सुदृढीकरण र निजी क्षेत्रलाई प्रोत्साहन दिने नीतिले नागरिकको गोजीबाट हुने खर्च घटाउन मद्दत पुग्नेछ । तर यति महत्वाकांक्षी योजनाका सामु चुनौतीका चाङहरू पनि उत्तिकै छन् । सीमित स्रोत–साधनका बीच स्वास्थ्य बजेट ८ प्रतिशत पु¥याउनु र सबै प्रदेशमा विशिष्टीकृत केन्द्रहरू स्थापना गर्नु केवल कागजमा सीमित हुनुहुँदैन ।

सरकारले वैशाख १० सम्म राजनीतिक दलहरूबाट लिने सुझाव र आगामी बजेटको विनियोजनले नै यो १८ बुँदे प्रतिबद्धताको भविष्य निर्धारण गर्नेछ । सरकारले अघि सारेका योजनाको आम नागरिकले गम्भीरतापूर्वक नियालिरहेको अवस्था छ । यो अवस्थामा सरकारलाई नागरिकले गरेको स्वागत, सम्मान र विश्वासलाई दृढरुपमा कार्यान्वयन गर्नु सरकारको मुख्य जिम्मेवारी हुन आउँछ । यति बेला सरकारले निकै बुद्धिमतापूर्ण तरिकाले काम–कारबाही अगाडि बढाउनुपर्छ ।

देश ठूलो संकटको घडीबाट मुक्ति पाउने बाटोतर्फ लम्किएको आम जनमानसको विश्वासमा कमी नआओस् । सरकारले जे–जति गर्न सक्छ, त्यो मात्र निर्णय गरोस् र निर्णय गरेका कुरा परिणाममुखी बनाउन सकोस् । नेपाललाई योग, आयुर्वेद र मानसिक स्वास्थ्यको अन्तर्राष्ट्रिय केन्द्र (वेलनेस हब) बनाउने दूरगामी सोच स्वागतयोग्य छ । अब सरकारले यसलाई एकल निर्णय वा दलीय एजेन्डाका रूपमा मात्र नहेरी राष्ट्रिय साझा संकल्पका रूपमा दृढतापूर्वक अगाडि बढाउनुपर्छ ।

नागरिकको स्वास्थ्य लाभका विषयमा सरकार स्वयं चनाखो भएर प्रत्यक्ष निगरानी र अनुगमनमा जुट्नुपर्छ । यो योजनाको सफलताका लागि राजनीतिक इमानदारी र प्रशासनिक कुशलताको संगम हुनु अनिवार्य छ । दलका बाचाहरू अब सरकारको योजना बनिसकेका छन् । अबको खाँचो केवल परिणाममुखी कार्यान्वयनको हो ।

Explore by Source or Category