ओली र दाहाललाई चाहिएको वाम एकता
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच एकताको विषयमा अनौपचारिक छलफल हुन थालेको छ। २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भएर बनेका दुई घटकबीच पुन: एकताको विषयमा कुराकानी हुन थालेको हो।
वामपन्थी एकता आवश्यक रहेकोबारे विभिन्न समयमा नेताहरूले बोल्दै आएकामा गएको प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि दुई वाम दल फेरि एकताको प्रयासमा लागेका हुन्। पछिल्लो समय दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरूबीच भेटघाट बाक्लिएको छ।
यसै साता एमालेका उपमहासचिव लेखराज भट्टले नेकपाका संयोजक पुष्पकमल दाहालसँग भेट गरेका छन्। नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको जारी बैठकमा एमालेसँग छलफल भइरहेको विषयमा सदस्यहरूले दाहालसँग प्रश्न गरेका थिए।
चुनावी धक्कापछि नेतृत्वको अस्तित्व जोगाउने स्वार्थका लागि एकता गर्न खोजिएको भन्दै एमालेकै नेताहरूले एकताको प्रयासमा असन्तुष्टि जनाएका छन्।
नेकपाका नेता बेदुराम भुसाल एकताबारे औपचारिक छलफल सुरु नभएको, एमालेका एकदुई नेता दाहाललाई भेट्न आएको बताउँछन्। “यही साता लेखराज भट्टजी अर्का एक साथीसहित प्रचण्डसँग भेट्न पुग्नुभएको थियो। आज (बिहीबार)को बैठकमा प्रचण्डले भट्टजीले मिलेर जानुपर्छ भनेर बताउनुभएको छ भनेर जानकारी गराउनुभयो,” उनी भन्छन्।
एमालेका केन्द्रीय सदस्य निरज आचार्य नेकपाका नेताहरूसँग भएका भेटघाटमा एकताको विषयमा अनौपचारिक कुराकानी हुने गरेको बताउँछन्।
जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा उपचारमा रहेको बेला नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसालसहितका नेताहरूले छुट्टाछुट्टै भेटेका थिए। उनीहरूले ओलीसँगको भेटमा नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्यबारे छलफल गरेका थिए। श्रेष्ठ भन्छन्, “एकताको विषयमा कुराकानी सधैँ चल्दै आएको हो। यसपटक ओलीसँग स्वास्थ्यलाभको कामना गर्न भेटेको हो।”
चुनावी धक्कापछि नेतृत्वको अस्तित्व जोगाउने स्वार्थका लागि एकता गर्न खोजिएको भन्दै एमालेकै नेताहरूले एकताको प्रयासमा असन्तुष्टि जनाएका छन्। एमालेका नेता सुरेन्द्र पाण्डेले विचार र सिद्धान्तविहीन एकता भए पार्टीका लागि घातक हुने चेतावनी दिएका छन्। ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनर्निर्माण गर्दै क्षमतावान् र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।’
चुनावी परिणामपछि एमाले र नेकपा दुवैमा पार्टी पुनर्गठन हुनुपर्ने माग तीव्र रूपमा अघि बढेको छ। एमालेका अध्यक्ष ओलीलाई चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पद छाड्न तीव्र दबाब परेको छ।
विगतमा माओवादी र एमालेबीचको एकता पनि वैचारिक आधारविना गरिएकै कारण विफल भएको उनले लेखेका छन्। हिजो मौन बस्नु आफूहरूको गल्ती भएको र आज पनि नबोल्नु गम्भीर मूर्खता हुने उनले उल्लेख गरेका छन्।
एकतामा ओली र दाहाल स्वार्थ
चुनावी परिणामपछि एमाले र नेकपा दुवैमा पार्टी पुनर्गठन हुनुपर्ने माग तीव्र रूपमा अघि बढेको छ। एमालेका अध्यक्ष ओलीलाई चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पद छाड्न तीव्र दबाब परेको छ।
एमालेको भावी नेतृत्वमा प्रतिस्पर्धी रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि अब ओलीको विकल्पमा जानुपर्ने निष्कर्षमा पुगिसकेको एमालेका एक नेता बताउँछन्। “सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरू ओलीले पद छाड्नुपर्छ भनेर सडकमै पुगिसक्नुभएको छ। विष्णु पौडेल उहाँहरूको पछि पछि हुनुहुन्छ,” ती नेता भन्छन्, “पोखरेल पनि ओलीबाट चल्दैन भन्ने निष्कर्षमा हुनुहुन्छ। तर, ओलीलाई नै परिस्थितिबारे अवगत गराएर आफैँ छाड्न लगाउने अवस्था बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।”
पछिल्लो समय माओवादी पृष्ठभूमिका नेताहरूबाहेक एमालेभित्र अधिकांश नेता ओलीले पद छाड्नुपर्ने पक्षमा छन्। उपाध्यक्ष रामबहादुर थापा भने ओलीकै निरन्तरताको पक्षमा छन्।
पार्टीमा एक्लिँदै गएका ओलीले एकता गरेर आफू अझै राजनीतिमा सान्दर्भिक भएको देखाउन खोजेको एमालेका ती नेताको भनाइ छ।
एमालेमा अध्यक्ष ओलीले पद नछाडे विशेष महाधिवेशनको माग गर्ने तयारी पनि भएको छ। भ्रातृसंगठनका नेताहरूले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियान पनि सुरु गरिसकेका छन्।
नेकपाले एमालेसँग एकता गर्न खोज्नुमा दाहालको पनि स्वार्थ देखिन्छ। एकपछि अर्को चुनावमा कमजोर हुँदै गएको शक्तिलाई थप क्षयीकरण हुन नदिन उनी एकता गर्ने पक्षमा छन्।
एमालेका उपमहासचिव योगेश भट्टराई नेकपासँग एकता गर्ने परिस्थिति निर्माण नभएको र अहिले नै त्यसतर्फ जाने बेला पनि नभएको बताउँछन्। “मिल्ने भनिएका दुई हुन् कि तीन, पहिले त आफू आफू नै सुध्रिनुपर्यो। सुधारिएको एमाले र सुधारिएको नेकपाबीच मात्रै एकताबारे छलफल हुन्छ। अहिले दुवै दल समस्याग्रस्त छन्, समस्या नै समस्या बोकेका पार्टी मिलेर के हुन्छ?” उनी भन्छन्।
नेकपाले एमालेसँग एकता गर्न खोज्नुमा दाहालको पनि स्वार्थ देखिन्छ। एकपछि अर्को चुनावमा कमजोर हुँदै गएको शक्तिलाई थप क्षयीकरण हुन नदिन उनी एकता गर्ने पक्षमा छन्। पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू एमालेसँग मिलेर संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बन्ने चाहना दाहालको रहेको बताउने गरेका छन्। प्रतिनिधिसभामा एमालेको २५ सिट र नेकपाको १७ सिट छ। एकता भएमा नयाँ दलसँग सांसद संख्या ४२ पुग्नेछ। अहिले प्रतिपक्षी दल नेपाली कांग्रेससँग ३८ जना सांसद छन्।
२६ वटा वाम घटक मिसाएर ठूलो दल बनाएको दाबी दाहालले गर्दै आए पनि चुनावी नतिजामा त्यो प्रकट हुन सकेन। सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेर चुनाव जितेका दाहालको दलका अधिकांश नेता भने पराजित भए।
एमाले उपमहासचिव भट्टराई पार्टी एकता हतारमा गर्ने विषय नभएको बताउँछन्। “विगतको अनुभवले पनि त्यही देखाउँछ। विधान, कार्यक्रम, संगठनसहित सबै कुरामा पहिले राम्रोसँग छलफल हुनुपर्छ,” उनी भन्छन्, “उही नेतृत्व, ढाँचा र कार्यक्रमले शक्ति आर्जन गर्न सकिँदैन।”










