npl.977 Nepal News Stream

#संस्कृति / सम्पदा

Contents
Kendrabindu logo Kendrabindu

अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भाषिक अधिकार, सांस्कृतिक पहिचान तथा बहुभाषिकताको संरक्षणमा सचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष फेब्रुअरी २१ मा यो दिवस मनाइन्छ ।

सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

यस घटनालाई विश्वव्यापी मान्यता दिँदै यूनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा यस दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसपछि संयुक्त राष्ट्र सङ्घको आह्वानसँगै सन् २००० देखि विश्वभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

भाषिक तथा सांस्कृतिक विविधताको सम्मान, बहुभाषिक शिक्षा प्रवद्र्धन तथा लोपोन्मुख भाषाको संरक्षण यस दिवसको मुख्य उद्देश्य मानिन्छ। मातृभाषा संरक्षणको सन्देश प्रवद्र्धन गर्न संयुक्त राष्ट्र सङ्घकै आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षका रूपमा समेत मनाइएको थियो।

नेपाल बहुभाषिक मुलुकका रूपमा परिचित छ । भाषा आयोग नेपालको प्रतिवेदनअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १३१ पुगेको छ । आर्थिक वर्ष २०७६ ७७ मा मारेक (याक्खा) र नावा शर्पा भाषा थपिएसँगै यो सङ्ख्या वृद्धि भएको हो।

यसअघि आयोगको २०७५ ७६ को अध्ययन प्रतिवेदनमा राना थारु (कञ्चनपुर), नार–फु (मनाङ), चुम (स्यार, गोरखा), पाइके (डोल्पा), सेराके÷सेके (मुस्ताङ), नुब्री र लार्के लगायत भाषा सूचीकृत भएका थिए।

भाषाविद्हरूका अनुसार मातृभाषाको संरक्षणले सांस्कृतिक पहिचान, परम्परा र ज्ञान प्रणालीलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

Kendrabindu logo Kendrabindu

धरहराको व्यवस्थापन अब महानगरले गर्ने

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौं। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाअन्तर्गत लैजाने सहमति भएको छ । संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलपछि यस विषयमा अध्ययन समिति गठन गर्ने निर्णय गरिएको हो ।

कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार धरहरा हस्तान्तरणको प्रक्रिया, सञ्चालन मोडालिटी र व्यवस्थापन संरचना तय गर्न समिति बनाइनेछ । अध्ययनपछि निष्कर्षका आधारमा कार्यान्वयन गरिने बताइएको छ ।

धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई असर नपर्ने गरी व्यवस्थापनको ढाँचा तयार गरिने महानगरले जनाएको छ । बेसमेन्ट पार्किङको व्यवस्थापन पनि महानगरलाई दिने विषयमा छलफल भएको छ ।

महानगरले यसअघि पनि धरहरा सञ्चालन गर्दै आएको र स्थानीय सरकारका रूपमा अब पूर्ण जिम्मेवारी लिन तयार रहेको जनाएको छ ।

यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहितका संरचना सञ्चालन गर्न छुट्टै निकाय बनाउने निर्णय गरेको थियो । अब सो निर्णय पुनरावलोकन गर्दै धरहराको जिम्मेवारी महानगरलाई दिने तयारी गरिएको छ ।

महानगरले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरिसकेको अवस्थामा धरहरामा पार्किङ व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि अध्ययनको भाग हुनेछ ।

Kendrabindu logo Kendrabindu

पर्यटकिय गन्तव्य बन्दै भोजपुरको मुन्दुम पदमार्ग

इन्द्र कमल रोक्का 7 hours ago

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ ।

अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार–संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग सहज र सुरक्षित गन्तव्यका रूपमा विकास भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको उनले बताए। साथै पदमार्गको थप विस्तार कार्यसमेत जारी रहेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ प्राकृतिक रूपमा सुन्दर क्षेत्र भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताए। पर्यटकलाई लक्षित गर्दै पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ ।

पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्यस्थल, लाग्ने समय, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले पर्यटन सूचना केन्द्र भवनसमेत स्थापना गरिएको छ ।

यस क्षेत्रमा किराँत राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ । विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन् ।

नेपालका प्रमुख हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण पनि यो पदमार्ग परिचित बन्दै गएको छ ।

मध्यम खालको उकालो–ओरालो हुँदै फैलिएको यस पदमार्गबाट चारपाटे, नुप्से, सगरमाथा, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले यस पदमार्गको नामकरण सोही आधारमा गरिएको हो ।

पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले अब नयाँ पहिचान बनाउँदै गएको छ ।

Explore by Source or Category