npl.977 Nepal News Stream

#विचार

Contents
News of Nepal logo News of Nepal

फागुन २१ : बझाङको पहाडमा गुञ्जिएको राजनीतिक धुन,कांग्रेसका जितका आधारहरू

न्युज अफ नेपाल 21 hours ago

“सेर बहादुर देउवाकाे “कदमजम” नारा अहिले पनि नेपाली जनताका छाेराछाेरीले यहि काेटाबाट जागिर खान देखि हरेक ब्यक्तिकाे जीवनमा प्रत्यक्षरूपमा लागू भैरहेकाे छ ।याे काेटाले काँग्रेस ,एमाले लगायत अन्य पार्टी बर्ग र वर्ण भनेर छुट्याइएको छैन् । त्यसै देउवा,केही नगरेर देउवा भएका हाेईन्न । ईतिहासले बुझ्नै पर्छ

बझाङ । साइपालका हिमशिखरहरू जस्तै अडिग, सेतीको बहावजस्तै निरन्तर—बझाङको राजनीति फेरि एकपटक फागुन २१ को संघारमा बस्ती बस्तीमा उभिएको छ। यहाँ चुनाव केवल मतपत्रको अंकगणित होइन, पीढीहरूको अनुभव, विकासको अपेक्षा र भविष्यको भरोसाको संगम हो र निर्णायक बाटाे पनि हाे ।

यस ऐतिहासिक क्षणमा नेपाली काँग्रेसले बझाङमा आफ्नो जितका आधारहरू मजबुत रहेको दाबी गरेको छ। कम्युनिस्टकाे श्रीगणेश नहुदै जिल्लामा नेतृत्व लिएर राजनीतिक मार्फत समाजसेवामा जीवन बिताएका दिग्गज नेतागणहरू अहिले एकिरूपताकाे सन्देश दिई बिरासत जाेगाउन घर दैलाेमा हुमिएका छन् । गाउँ टाेल लेवलका काँग्रेस कार्यकर्ता देखि केन्द्रीय स्तरका नेता सम्म रूख र चारतारे झण्ड सबैकाे भबिष्यकाे लागि कसरी स्थायित्व गर्ने भन्ने अंकगणितमा छन् ।

यसै चुनावी सरगर्मीमा काँग्रेसले बाजि मार्न सक्ने धेरै सकरात्मक थुप्रै आधारहरू छन् ।पुरानो सम्बन्ध, जरा गाडेको संगठन बझाङका गाउँ–टोलमा कांग्रेसको संगठन केवल कागजी संरचना होइन, दशकौँदेखिको सामाजिक सम्बन्धको निरन्तरता हो। स्थानीय तहदेखि जिल्ला तहसम्म सक्रिय कार्यकर्ताहरूले दुःख–सुखमा साथ दिएको स्मृति र लगाव अझै ताजा छ।
चुनावी माहोलमा घरदैलो अभियानले मतदातासँग पुनः भावनात्मक नाता गाँसिरहेको छ। अग्रज नेतृत्वले देखेका सपना र विकासको अधूरो यात्रा पूरा गर्ने प्रतिबद्धता पनि छ ।

बझाङको मुख्य मुद्दा सडक, स्वास्थ्य, शिक्षा र सञ्चार पूर्वाधार नै हुन्। दुर्गम बस्तीहरूमा अझै पनि आधारभूत सेवा सहज छैन। कांग्रेसले अघिल्ला योजनाहरूलाई निरन्तरता दिने र अधूरा संरचनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्‍याएको छ। स्थानीय स्तरमा सेती करिडोर, ग्रामीण सडक सञ्जाल र स्वास्थ्य चौकी सुदृढीकरणका एजेण्डाले मतदातामा आशा जगाएको देखिन्छ। केही जनमासमा फरक भाव भए पनि त्यसलाई शिराेपर गरि काँग्रेस उम्मेदवार संगै नेताहरू समाधान र सकरात्मक प्रयासमा हुमिएका छन् ।

बझाङका मतदाताबीच अहिले एउटा मौन बहस छ—स्थिर अनुभवी शक्ति रोज्ने कि नयाँ प्रयोग गर्ने ?
कांग्रेसले आफूलाई परीक्षण भइसकेको शक्ति भन्दै “स्थिरता बिना विकास सम्भव छैन” भन्ने सन्देश दिइरहेको छ। राजनीतिक अस्थिरताले विकास योजना अवरुद्ध हुने अनुभव बझाङले पटक–पटक भोगेको छ। यही सन्दर्भमा अनुभवी नेतृत्वप्रति झुकाव बढेको जिल्लाका बाैद्धिक ब्यक्तित्वहरूले बिश्लेषण गरेका छन् ।

जब सेर बहादुर देउवा सुदूरपश्चिम बाट केन्द्रीय राजनीतिमा उदयमान भए स्थायित्व जमाए त्यस पछि देशकाे नेतृत्व लिदा नेपालकाे परिवेश हेरेर जनताका आवश्यकता लाई मध्येनजर गरि “कदमजम”काे नारा स्थापित गरि अहिले पनि नेपाल जनताका छाेराछाेरीले यहि काेटाबाट जागिर खान देखि हरेक ब्यक्तिकाे जीवनमा प्रत्यक्षरूपमा लागू भैरहेकाे छ ।याे काेटाले काँग्रेस ,एमाले लगायत अन्य पार्टी बर्ग र वर्ण भनेर छुट्याइएको छैन् । त्यस पछि देउवा, देउवा भएका हुन् । बझाङ विविध जाति, संस्कृति र भूगोलको संगम हो। कांग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरेको छ। स्थानीय नेतृत्व चयनमा समुदायगत सन्तुलन मिलाइएको विषय पनि चुनावी मैदानमा सकारात्मक रूपमा उठाइएको छ।

प्रतिस्पर्धी दलहरूभित्र देखिएको असन्तोष, उम्मेदवार छनोटको विवाद र मत विभाजनले कांग्रेसलाई अप्रत्यक्ष लाभ पुग्ने आकलन गरिएको छ। बझाङको चुनावी इतिहासले देखाएको छ—जब मत टुक्रिन्छ, संगठित शक्ति लाभान्वित हुन्छ। अहिले बझाङमा फागुनको फैसला, भविष्यको संकेत भएर चुनावी रणनीति बनाइ रहेका छन् ।

फागुन २१ को दिन बझाङका मतदाताले केवल प्रतिनिधि छान्ने छैनन्; उनीहरूले आफ्नो जिल्लाको विकास यात्राको दिशा तय गर्नेछन्। हिमालको काखमा बसेको यो जिल्लाले धेरै परिवर्तन देखेको छ, धेरै आशा बोकेको छ। अब प्रश्न एउटै छ—विश्वास पुरानै शक्तिमा दोहोरिन्छ कि नयाँ अध्याय खुल्छ ? अहिलेको राजनीतिक स्पन्दन, संगठनात्मक बल र एजेण्डाको स्पष्टताका आधारमा कांग्रेस बलियो दाबेदारका रूपमा उभिएको देखिन्छ। तर अन्तिम निर्णय भने बझाङका सजग मतदाताकै हातमा सुरक्षित छ।

News of Nepal logo News of Nepal

शान्ति नै मानव जगत्को केन्द्रविन्दु हो

न्युज अफ नेपाल 21 hours ago

जीवाणुदेखि आधुनिक मानवसम्मको उद्विकास, ढुंगेयुगदेखि अहिलेको भौतिक–सामाजिक विकासको युग अति दिव्य उपलब्धि र प्रगति हुन् । तर मानिसको एउटा वर्ग भलै त्यो सानो किन नहोस्, निकै शक्तिशाली छ, विवेकहीनता र अहंताका कारण यत्रो प्रगति, यत्रो इतिहास जोगाउने भन्दा विपरीत प्रतिकूल व्यवहार गरिरहेको छ । त्यो वर्ग आणविक, रासायनिक, जैविक आदि अस्त्रशस्त्र उत्साहका साथ बनाउँछ । आफ्नो हैकम बढाउन त्यो हठी वर्गले सोच्दैन कि ती हतियारले पृथ्वी नै मसानघाट बनाउने क्षमता राख्छन् ।

कल्पना गरौं त, पृथ्वीमा मानव शून्यता भयो भने के हुन्छ ? एउटा विराट शून्यता ! मानिसले विभिन्न कालखण्डमा गरेका प्रगति, आविष्कार, सभ्यताको विकास विसर्जित हुनेछन् । करोडौं वर्षको अन्तरालमा भएको सृजना छोटो समयमा विलीन हुनेछ । धिक्कार हुुनेछ, बर्बाद हुनेछ ।

हठ, असमझदारी र असहिष्णुताको कारण विश्वमा धेरै कहाली लाग्दा युद्धहरु भए । धार्मिक, जातीय, साम्प्रदायिक, त्यसै गरी साम्राज्यवादी र उपनिवेशवादी युद्धहरुले गर्दा पृथ्वी नै युद्ध र पीडाको भुङ्ग्रोमा परेको थियो र परिरहेको पनि छ । बाँचौं र बाँच्न दिऊँ भन्नेजस्ता मानवीय मन्त्रहरुलाई मानवले उपेक्षा गर्दा, मानवता र विश्वबन्धुत्वको मानवीय भावनालाई निर्दयी, अहङ्कारी, हठी, असहिष्णु, असमझदार युद्धपिपासुहरुले निर्मम हलाल गर्दा पहिलो र दास्रो विश्वयुद्धजस्ता मानवताविरोधी कुकर्महरु भए ।

हिटलरलगायतका दानवहरुको नरभक्षी र रक्तपिपासु दृष्टिकोणबाट सृजित दोस्रो विश्वयुद्धमा ५ करोडभन्दा बढी मानिस अकालमा मारिनु मानवताको क्रुर हलाल थियो । मानवको मानवप्रतिको दयाका कोमल मूल्यलाई कठोर मुटुले थिचेर अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्दा सवा ३ लाख निर्दोष मानिसहरु अनाहकमा निमेषभरमा नै मारिए । आहत र अंगभङ्ग त कति कति !

यी घटनाले मानवीय विवेक र चेतनालाई नराम्रोसँग गिज्याए । मानवको मनमा रहेको राक्षसी प्रवृत्ति यदि सक्रिय भयो भने कतिसम्म हिंस्रक र प्रलयकारी बन्न सक्छ भन्ने यथार्थ यी उदाहरणबाट देख्न सकिन्छ । अहिले विश्वमा थुप्रै युद्ध र अराजकताहरु फैलिइरहेका छन् । रसियाले युक्रेनमाथि हमला गरी हजारौं निर्दोष मानिस अनाहकमा मारिने अवस्था सृजना ग¥यो । अमेरिकाले भेनेजुएला, ग्रिनल्यान्डजस्ता देशहरुमा हस्तक्षेप गरी साम्राज्यवादी नमुना पेस गरिरहेको छ । इजरायल र हमासको निकै खतरनाक युद्धको घाउ अझै ताजा नै छ र भइरहेको छ ।

इरान हिंसाले ग्रस्त छ । भूअवस्था अनि भूराजनीति र प्रचुर प्राकृतिक स्रोतको खानी नेपाल पनि विस्तारवादी र अवसरवादीहरुको दमन वा हमलाको सिकार बन्ने प्रबल सम्भावना छ । नेपालमा प्रखर कूटनीतिक रणनीति अपनाइनुपर्छ र विवेक अपनाएर संयुक्त राष्ट्रसंघमा आफ्नो अडान राख्नुपर्छ ।

केही राजनीतिज्ञको दृष्टिकोण हुन्छ कि देशमा राजनीतिक परिवर्तन गर्न सशस्त्र युद्ध नै उत्तम तरिका हो । तर उनीहरु सोच्दैनन् कि युद्धको घातकपनले नाफाभन्दा घाटा बढी बनाउन सक्छ । भारतमा महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट भएको विशाल परिवर्तनको यथार्थता र भावना केही मानिस मनन गर्दैनन् । सशस्त्र युद्ध निकै कहाली लाग्दो हुन्छ । युद्धसँग प्रत्यक्ष साक्षात्कार पाएका युद्धमा असंलग्न जनलाई भन्दा बढी अरुलाई यो के थाहा ? युद्ध गर्नेहरु त उम्लेको रगतका साथ मर्र्न वा मार्न तम्सन्छन् तर आम जनता बाँच्न चाहन्छन् र मार्न पनि चाहँदैनन् । रगत र आँसुको मूल्य हराउनु युद्धको आधारभूत विशेषता हो । युद्धमा पीडा, विध्वंस र नरसंहारको कालो साम्राज्य छाउँछ । मानवअधिकारलाई विशालु इन्जेक्सन दिएर अघोषित मृत्युदण्डको फैसलाले मारिन्छ ।

विगतका घटनाहरुबाट पाठ सिकेर, आफ्नो विवेक र विवेचना गर्ने क्षमताको सदुपयोग गरेर युद्धमुक्त, शान्त र समृद्ध विश्वको रचना गर्नु नै मानवको सबैभन्दा ठूलो जिम्मेवारी हो । सन्की हिटलरले दोस्रो विश्वयुद्ध निम्त्याएजस्तै अब अरु हिटलरहरुको उदय भयो भने तेस्रो विश्वयुद्ध पनि ननिम्तेला भन्न सकिन्न । जसको फलस्वरुप विश्वमा अति ठूलो प्रलय आउनेछ, जुन हाम्रो अबोध कल्पनाभन्दा बाहिरको हुनेछ ।

यदि तेस्रो विश्वयुद्ध भएमा चौथो विश्वयुद्धमा ढुंगाको हतियार प्रयोग हुनेछ भन्ने अल्बर्ट आइन्सटाइनको भनाइ अति गम्भीर छ । अहिले विश्वमा दोस्रो विश्वयुद्धताकाका भन्दा कैयौं गुणा घातक आणविक हतियारहरु संग्रहीत छन् । अहिले विश्वमा भइरहेको आणविक र अन्य खतरनाक हतियारको निर्माणको तेजिलो रफ्तारले असुरक्षित विश्वको प्रतिविम्ब झल्काइरहेको छ । यी संहारकारी हतियारहरु मान्छेको सनकलाई विध्वंशको शिखरसम्म पु¥याउने सिँढी हो ।

सोचौं त, यस्ता घातक हतियारहरु मानवीय मुटु र मस्तिष्कविहीन यान्त्रिक आतंकवादीहरुको हातमा प¥यो भने मानव समुदाय कति कहाली लाग्दो जोखिममा पर्नेछ । अहिले विश्वमानव जगत्मा सन्त्रासका तीरहरु प्रहार भइरहेका छन् । आणविक हतियारलाई मानव जगत्को अङ्गमा ट्रान्सप्लान्ट गर्ने कायर कालीगढहरु भविष्यको परिणाम सोच्ने हिम्मत गर्दैनन्, मात्र आफ्नो कला देखाउन व्यस्त छन् । यिनीहरुले मानव समुदायको दिगो शान्तिको अधिकार र अभिलाषामा आघात पु¥याइरहेका छन् ।
आणविक अस्त्र खतरनाक बाज हो भने सर्वसाधारण मानिस कुखुराका चल्लाजस्ता ।

विज्ञानले मानिसलाई दिनसम्म सुख, सुविधा र प्रगति दिए पनि आणविक हतियारजस्तो घातक र प्रलयकारी आविष्कार पनि दिएको छ । ओहो कति ठूलो विडम्बना ! चारो दिएर चरो छोपेजस्तो ! चन्द्रमामा पनि दाग हुन्छ भनेजस्तो आणविक हतियार विज्ञानमा कालो धब्बा हो । शान्तिकामी जनतालाई यही चिन्ता छ कि हाम्रो प्यारो मानव जगत्मा कतिखेर भयंकर प्रलय आउने हो । आणविक अस्त्र मानव सभ्यताको क्यान्सर हो । यसलाई सबै शक्ति मिलेर निर्मूल पार्नु नै पर्छ । मानव सभ्यता र भावी पुस्तालाई सुरक्षित बनाउने उत्तम उपाय यही हो ।

अहिले विश्वलाई शान्तिप्रेमी र दूरदर्शी महान् नेताहरुको खाँचो छ, जसले आणविक हतियार पृथ्वीलाई रुग्ण बनाउने कुटिल विष हो भन्ने तथ्य अन्तर्मनदेखि बुझ्छन् र जसले पृथ्वी बचाउने जिम्मेवारीबोध गर्दछन् । पृथ्वी निसास्सिइरहेको छ । पृथ्वीलाई यो सन्त्रासबाट मुक्ति दिन वा सुरक्षित बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत सबै शक्तिहरुको एकता, इमानदारिता र सहकार्यले सबै आणविक, रासायनिक र जैविक हतियारहरु नष्ट गरिनुपर्छ र पछि बन्न नदिनका लागि कडाभन्दा कडा अन्तर्राष्ट्रिय नियम र प्रभावकारी अनुगमन निकायहरु बनाइनुपर्छ ।

यी हतियारहरुबाट विश्वलाई मुक्त गराएपछि हुने मानव समुदायको कल्याण र अमनचयन नै सारा आणविक अस्त्र भएका देशहरुको साझा राजनीतिक केन्द्रविन्दु र धर्म बन्नुपर्छ । यही हो पृथ्वीको करुणामय पुकार र मानव सभ्यताको माग । हाम्रो साझा पृथ्वीलाई कसैको निकृष्ट अभिलाषा पूरा गर्नका निम्ति जोखिममा पार्नु घोर अपराध हो । विश्वशान्तिका लागि सबैले योगदान दिनु आजको अपरिहार्यता हो । विश्वशान्ति र अमनचयन नै मानव जगत्को वास्तविक केन्द्रविन्दु हो । यसका लागि नेपालले पनि संयुक्त राष्ट्रसंघमा जोडदार आवाज उठाउनु आवश्यक छ ।

मानव जगत्को एकमात्र धर्म भनेको मानवता हुनुपर्छ । अरुको अमनचयन र प्रगतिमा हस्तक्षेप गर्नु भनेको मानवता विरोधी कुकर्म हो । आफ्नो बर्कतले भ्याएसम्म अरुलाई वैधानिक रुपमा प्रगति गर्न दिइनुपर्छ । अरुको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकतामा हस्तक्षेप गरिनुहुन्न । अरुको अस्तित्वमाथि धावा बोल्नु अराजकता र अन्याय कर्म हो । अरुको डाहा, रिस र अरुप्रति मिथ्या क्रोध प्रकट गर्नु वास्तवमा अमानवीय कार्य हो । अरु देशमाथि हमला गरेर विध्वंस निम्त्याउनु वास्तवमा अति कुटिलता हो । कुनै पनि सार्वभौम राष्ट्रका जनतालाई हतियारको बलमा वशमा ल्याउन कोशिश गर्नु अन्तर्राष्ट्रिय अपराध हो । अरुलाई दुःख र पीडा दिएर रमाउनु घोर अपराध हो । विश्वशान्ति सिर्जना गर्नु नै हरेक नेतृत्वगणको मानवीय धर्म हो ।

ghaiteprakash@gmail.com

News of Nepal logo News of Nepal

नेपालीकै प्रयासमा नेपालको भविष्य कोर्ने दिन

न्युज अफ नेपाल 21 hours ago

जति–जति निर्वाचनको मिति नजिकिँदै गरेको छ, त्यति नै मात्रामा राजनीतिक दलका नेताहरूको अभिव्यक्ति आक्रामक र भ्रमपूर्णरुपमा प्रवाह हुन थालिरहेको छ । मतदातालाई के भनेर आफूप्रति आकर्षित गर्ने र के भनेर अरूप्रति नकारात्मक भाव पैदा गराउने भन्ने अभियानमा प्रायः उम्मेदवार अनि तिनका समर्थकहरू लागिपरिरहेका देखिन्छन् । जो कोही किन नहुन्, आफूले आफूलाई राष्ट्रवादी र अरू सबै विदेशी शक्तिबाट परिचालित गोटी हुन् भनेर लान्छना लगाउन र भ्रम फैलाउन मुढेबल प्रयोग गरिरहेका देखिन्छन् ।

अधिकांश राजनीतिक दलहरूले आ–आफ्नो तर्पmबाट घोषणापत्र वा बाचापत्रहरू सार्वजनिक गरिरहेका छन् । तर पनि उम्मेदवारहरू आफूलाई कसरी उत्कृष्ट प्रमाणित गर्ने होला भन्नेमा भन्दा पनि अरूलाई कसरी कमजोर देखाउने भन्ने उद्देश्यले षड्यन्त्रका तानाबाना बुनिरहेका छन् । यसपालिको निर्वाचनमा भ्रम र अफवाहहरू फैलाउनको लागि महत्वपूर्ण माध्यम सामाजिक सञ्जाललाई बनाइएको देखिन्छ । सामाजिक सञ्जालको भरमा नागरिकबाट आफ्ना उम्मेदवारको परीक्षण गर्ने निर्णय गरियो भने मुलुकको लागि आवश्यक पर्ने सही नेतृत्व नपाउन पनि सकिन्छ । तसर्थ फागुन २१ गतेको निर्वाचन राजनीतिक दलका उम्मेदवारहरूको मात्र परीक्षा होइन, आम मतदाताको अग्निपरीक्षासमेत हुनेछ ।

विडम्बना नै मान्नुपर्छ, नेपाली राजनीतिमा आफू अनुकूल कुनै कुरा भएन कि त त्यसलाई विदेशी प्रभाव वा हस्तक्षेपसँग जोड्ने संस्कार बनाइएको छ । जुन दलको आफ्नो राष्ट्रिय चिन्तन छैन, जसले आफ्ना राजनीतिक उद्देश्य नै विदेशीहरूले बनाएका नीतिअनुसार चलाउने गर्दछन्, उनीहरूले समेत अरूलाई विदेशीको इशारामा चल्ने शक्ति भनेर आलोचना गरिरहेका हुन्छन् । विदेशीले बनाएका नीति र सिद्धान्तलाई घृणा गर्नुपर्छ भन्ने पनि छैन ।

आज हामीले जे–जति विज्ञानका सुविधाहरू उपभोग गरिरहेका छौं, ती हामीले आविष्कार गरेका पक्कै होइनौं, विदेशी वैज्ञानिकहरूकै बुद्धिको अनुशरण गरिरहेका छौं । बाहिरको कुनै विचार र वस्तु प्रयोग गर्नु सामान्य कुरा हो । हाम्रा प्रमुख पाठ्यपुस्तकहरूको स्रोत नै विदेश हो भने यो विषयमा आलोचना र टिप्पणी गरिरहनुपर्ने आवश्यक देखिँदैन । टिप्पणी नै गर्ने हो भने धर्मनिरपेक्ष र गणतन्त्रको खाका नै नेपालको मौलिक होइन, के अब हामी पछाडि फर्कर्ने ? बाहिरको जे राम्रो छ, त्यसको अनुशरण गर्नु र भित्रको विकृतिहरू त्याग्नु नै सही मानेमा बुद्धिमानी कार्य हो । तर हामी यसैलाई राजनीतिको हतियार बनाएर विपक्षीलाई देशी र विदेशीको ट्याग लगाउन उद्यत् भइरहेका हुन्छौं ।

पक्कै पनि निर्वाचन भनेको जनताले आफ्नो भाग्य र भविष्य कोर्ने महत्वपूर्ण अवसर हो । निर्वाचनमा मतदान गर्नु जनताको कर्तव्य पनि हो । निर्वाचनमा मतदान गर्न चुक्यौं भने हाम्रो भविष्य पनि चुक्नेछ । निर्वाचन प्रजातन्त्रको इन्जिन हो । इन्जिनमा लापरबाही गरियो भने जसरी मोटरगाडी बिग्रन्छ त्यसै गरी निर्वाचनमा मतदाताले लापरबाही गरे भने जनताको मात्र होइन मुलुककै भविष्य जोखिममा पर्छ ।

तसर्थ मतदान कुनै लहड होइन, यो विवेकको परीक्षा पनि हो । हामीले मतदान गर्दा कसैको अनुहार हेरेर होइन, कोही कसैको नातागोता हेरेर होइन, कसैको कुरा सुनेर होइन, आफ्नो विवेकको प्रयोग गरेर मतदान गर्नुपर्दछ । हामीले हाम्रो मतलाई बिकाउको वस्तु ठान्नुहुँदैन, यसलाई मुलुक टिकाउनको माध्यम बनाउनुपर्छ । हामीले जब विवेक पु¥याएर मतदान गर्छौं, त्यसबाट हामीले हाम्रो सार्वभौम अधिकारको रक्षा गर्न सक्छौं । आफू सार्वभौम नागरिक हौं कि बाधाबन्धक हौं, निर्वाचनको बेलामा हामीले प्रयोग गर्ने विवेकले नै निर्धारण गर्ने गर्दछ ।

फागुन २१ गते हुने निर्वाचनमा नयाँ–पुराना धेरै दलहरूले जनतासँग भोटको अपेक्षा गरिरहेका छन् । बजारमा हरेक व्यापारीले आफ्नो सामानलाई सक्कली भनिरहेका हुन्छन्, उसले आफ्नो सामानप्रति ग्राहकको आकर्षण बढाउन विभिन्न माध्यमले विज्ञापन गरिरहेको हुन्छ । सबै सामान विज्ञापनमा प्रचार गरिएझैँ नहुन पनि सक्छ भनेझैँ आज राजनीतिक दलहरूले जनताको विश्वास जित्नको लागि घोषणापत्र वा बाचापत्रहरू जनताको घरदैलोमा ल्याइरहेका छन् ।

ती घोषणापत्र वा बाचापत्रमा लेखिएका कैयौँ कुरा जनतालाई आश्वस्त पार्न वा अलमलमा पार्न वा भ्रममा पार्न पनि प्रस्तुत गरिरहेका छन् । तसर्थ एउटा ग्राहकले जसरी विज्ञापनको औचित्य र सामानको यथार्थता बुझेर कुन सामान खरिद गर्ने भनेर निर्णय गर्दछ त्योभन्दा गम्भीर चिन्तन गरेर जनताले मतदान गर्नुपर्ने हुन्छ । आज नयाँ र पुराना दलहरू भन्ने हावा फैलाइएको छ । पक्कै पनि पुराना दलहरूसँग इतिहास छ ।

इतिहास छ भनेर नै त्यसकै पछि लाग्नु वा नयाँ दलले के गर्छन् हेरुँ न त भनेर मतदान दिने होइन । मतदान गर्नुअघि कसको घोषणापत्र कस्तो छ ? ती घोषणापत्रमा लेखिएका कुरा पालना गर्न सक्ने क्षमता उनीहरूमा कत्तिको छ ? हिजो उनीहरूले बाचा गरेका कुराहरू कति पूरा गरे वा गरेनन् भन्ने अध्ययन गर्नुका साथै उम्मेदवारको चरित्रसमेतको विश्लेषण गरेर मतदान गर्नुपर्ने हुन्छ । दलका कार्यकर्तालाई आफ्ना नेताले भनेका कुरामा आँखा चिम्लेर विश्वास गर्ने छुट छ तर आम नागरिकमा विवेकको नै प्रयोग गर्नुपर्ने जिम्मेवारी छ । तसर्थ यो मुलुकको भविष्य कता लाने भन्ने जिम्मेवारी स्वतन्त्र सार्वभौम नेपाली जनताको विवेकमा अडिएको छ ।

कैयौँको धारणा सुनिन्छ, ‘नेपालमा प्रजातन्त्र, गणतन्त्र वा परिवर्तन हामीले ल्याएका हौं, तसर्थ हामीलाई नै जिम्मेवारी दिनुपर्दछ ।’ हुन त हिजो कसैले केही गरेका थिए भने त्यसको थुप्रै ब्याजसहितको सावाँ पनि असुलिसकेका होलान् । त्यसतर्फ पनि विचार गर्नुपर्ने हुन्छ । कतिले आफूले असुलेका ब्याज मुलुककै हितमा खर्च गरेका पनि छन्, तिनीहरूको सम्मान गर्नु पनि पर्दछ । यस्ता कुराको हिसाबकिताब मतदाताले राम्रोसँग राखेका हुन्छन् ।

बदलिँदो परिस्थितिसँगै जेनजी आन्दोलनको भावनालाई समेत सम्मान गर्न सक्ने सक्षम र इमानदार नेतृत्वको आवश्यकता देखिएको छ । जेनजी भावनाको कसले सम्मान गर्दछ ? त्यसतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । जेनजी आन्दोलन भाद्र २३ र २४ गते घटेको घटना मात्र होइन, त्यो आन्दोलनभन्दा धेरै अघिदेखि नेपाली जनताले राज्यबाट राखेको अपेक्षा र गरेको चाहना पनि हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र आए पनि जनताको भावनाको सम्मान हुने गरी कसैले कार्य गर्न सकेको देखिएन ।

कार्य गर्न नसक्नु एउटा पाटो होला तर जनभावनालाई तहसनहज पार्नु गम्भीर भूल थियो । आम नेपालीको चाहना भ्रष्टाचारको पूर्ण नियन्त्रण गरी मुलुकमा सुशासन बहाली गरेर मूलुकलाई समृद्धिको मार्गमा लगिदिए हुन्थ्यो भन्ने थियो । भोलि जसले यो कार्य गर्न सक्छ, विश्लेषण गरी सही नेतृत्व छान्नु नेपालीको अग्निपरीक्षा बनेको छ निर्वाचनको सन्दर्भ ।

निर्वाचनमा उमेर गौण विषय हो । उम्मेदवारको चरित्र र क्षमता विशेष कुरा हो । बूढोले जित्नै नहुने र युवामा अनुभव नै छैन भन्ने खालका दुवै तर्क सान्दर्भिक छैनन् । बूढामा पनि युवा जोश हुन सक्छ, युवामा पनि बौद्धिक सिथिलता हुन सक्छ । हामी यता पनि अलमलिने होइन । आज मुलुकले परिवर्तन खोजेको छ ।

परिवर्तनकै लागि दुई वर्षअघि नै संसद्को निर्वाचन हुन गइरहेको छ । हुन त परिवर्तन भनेको राजनीतिक दलको परिवर्तन पक्कै होइन होला, राजनीतिक दलमा भएका नेताहरूको सोचमा परिवर्तन खोजिएको हो । जेनजी आन्दोलनपछि पुराना दलका केही नेताहरूमा पक्कै परिवर्तन आउँदै गरेको पनि देखिएको छ । यो परिवर्तनको सन्देश उनीहरूले जनताको दिमागमा कसरी पु¥याउन सक्षम हुन्छन् ? त्यसले निर्वाचनमा पक्कै परिणाम देखाउनेछ ।

पुरानो शक्तिबाट आजित भएकाहरू नयाँ शक्तिमा विकल्प खोजिरहेका छन् । यहाँ हामीले स्वीकार्नै पर्दछ कि नयाँ व्यक्ति आउँदैमा परिवर्तन हुन्छ नै भन्ने होइन । तर पुरानाले विश्वास गुमाएको बेलामा नयाँलाई सहज भने अवश्य हुन्छ । किनकि ऊ परीक्षण भइसकेको हुँदैन । आज कोही लोकप्रिय भएकोमा कसैलाई औडाहा भएको पनि देखिन्छ । जनताले कसैलाई विश्वास गर्छन्, ऊ जनतामाझ लोकप्रिय हुन्छ भने त्यसको सम्मान गर्नुपर्छ ।

औडाहा भएकाहरूले पनि राम्रो व्यवहार देखाए उनीहरू पनि जनताका माझ प्रिय भइहाल्छन नि । आजसम्म जतिपटक निर्वाचन भयो र जसले विजय हासिल गरे, ती सबै लोकप्रिय भएर नै निर्वाचनमा जितेका हुन् । अलोकप्रियले त निर्वाचनमा जमानत पनि जोगाउन सक्दैन भन्ने साधारण तथ्यलाई समेत हामीले बुझिरहेका छैनौं जस्तो छ । आज लोकप्रिय भएकाहरूले भोलि जनभावनाअनुसार कार्य गर्न सकेनन् भने उनीहरू पनि क्रमशः जनताको मनबाट टाढिँदै जान्छन् भन्ने तथ्य स्वीकार्नै पर्ने हुन्छ ।

जे होस्, निर्वाचनमार्फत हामीले हाम्रो अवस्था परिवर्तन गर्नुपर्छ । लहैलहैमा व्यवस्था परिवर्तन धेरै गरियो । यसको लागि सही नेतृत्व मात्र होइन, संविधान संशोधन गर्न सक्ने आधार पनि सुनिश्चित गरिदिनुपर्ने भएको छ । आज संविधान संशोधन अपरिहार्य भइसकेको छ । वर्तमान संविधानको केही व्यवस्थाहरूका कारणले मुलुकमा स्थायित्व प्रदान गर्न सक्दैन भन्ने देखिएको छ । तसर्थ संविधानलाई कुनरुपमा संशोधन गर्नुपर्छ भन्ने दलका कुन खाले धारणाहरू आउँछन् ?

त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ । यसपटकको निर्वाचनमा जनताले जनताको भावनालाई सम्मान गर्ने, मुलुकको भविष्यलाई सुनिश्चित गर्ने कुनै एक दललाई बहुमत नै प्रदान गर्ने गरेर मतदान गर्नुपर्दछ । निर्वाचनपछि मिलिजुली सरकार बनाउनुपर्ने अवस्था दोहोरियो भने त्यसले कुनै निकास दिँदैन । जनता फेरि निराश हुनुपर्ने हुन्छ, तसर्थ विवेक पु¥याएर मतदान गर्नु जनताको जिम्मेवारी बनेको छ ।

कुनै नेताले हिजो बारम्बार जनतालाई धोखा दिएका थिए र आज कुनै मुकुण्डो ओढेर जनताका सामु आएका छन् भने तिनलाई कुनै पनि हालतमा मतदान गर्नुहुँदैन । जाली, फटाहा र स्वार्थी जो भए पनि परास्त गर्नुपर्छ । सक्षम, इमानदारलाई जसरी भए पनि जिताउने लक्ष्य राख्नुपर्छ । पक्कै निर्वाचनमा मुकुण्डो भिरेर कैयौँ व्यक्ति हाम्रो घर–आँगनमा मत माग्न आएका छन् र फेरि आउनेछन् । तिनको पहिचान हामीले गर्न सकेनौं भने हामी फेरि फस्नेछौं । अबको निर्वाचनमा जनता फेरि फस्नु भनेको मुलुकको भविष्य नै फस्नु हो । तसर्थ सचेत मतदाताको भूमिका हामीले निर्वाह गर्न सक्नुपर्छ । फागुन २१ गते नेपाली जनताको अग्निपरीक्षाको घडी हो, तसर्थ विवेकको प्रयोग गरौं, आत्मसम्मान जोगाऔं ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)

Explore by Source or Category