npl.977 Nepal News Stream

#रौतहट

Saral patrika logo Saral patrika

गौरमा जन्ती र स्थानीयबीच झडप: हवाई फायर र अश्रुग्यास प्रहार

Saral Patrika 8 hours ago

रौतहट। रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । फागुन ७ गते राति सुरु भएको विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका छन् ।

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । बिहीबार राति नै भएको ढुङ्गा हानाहानमा ६ जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज बिहान पुनः दुवै पक्षका करिब ५०० जना भेला भई दोहोरो झडपमा उत्रिएका हुन् ।

झडपमा परी ६ जना स्थानीय र ड्युटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित २ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा रामप्रवेश साह, महम्दिन मिया, शेख सही आलम मिया, शेख सहिब र महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरू भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

तनाव कम गर्न र विवाद सुल्झाउन आज दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । स्थानीय प्रशासनले सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

Explore by Source or Category