npl.977 Nepal News Stream

#रोटरी अभियान

Himal Press logo Himal Press

पोखरामा भोलिदेखि रोटरीको १८ औं डिष्ट्रिक्ट कन्फरेन्स

Ramesh Dawadi 8 hours ago

पोखरा- पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ।

तीनदिने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिने भएकाले यहाँको पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

बिहीबार पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए।

सम्मेलनमा नेपाल, भुटान, अमेरिका, भारत, अस्ट्रेलियाबाट समेत रोटरियन आउने हुँदा पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरे।

उनका अनुसार रोटरीले एक देशमा मात्र सीमित नभइकन ओभर अल नेटवर्कलाई विश्वास गर्छ। रोटरीले सामाजिक सेवाअन्तर्गत विद्यालय भवन तथा कम्प्युटर ल्याब निर्माण, खानेपानीका आयोजना, छात्रवृत्ति प्रदान, विपत् व्यवस्थापन एवं राहत समेतमा निःशुल्क सहयोग गर्दै आएको उनले जानकारी दिए।

डिष्ट्रिक्ट गभर्नर कोइरालाले भने,‘रोटरी फाउण्डेसनमा नेपालबाट साढे ५ लाख डलर योगदान गर्ने र त्यसबापत १० गुना बढी ल्याएर नेपालमा काम गर्ने हो। हामीहरूले गर्ने प्रोजेक्टमा रोटरियनहरूले नै सहयोग गर्नुहुन्छ। यहाँ आफ्नो विज्ञताको योगदान दिने हो।’

सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। विभिन्न २० उपसमितिले आ-आफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेको सम्मेलनका मूल समारोह समिति सचिव जयराम पौडेलले बताए।

सम्मेलनमा विभिन्न विधामा नेपाल र विदेशका विज्ञहरूबाट रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनेछन्। कार्यपत्रमाथि छलफल गरी आगामी दिनमा सेवा अझ विस्तारित बनाउने लक्ष्य छ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसहित सामाजिक तथा विभिन्न पेसा व्यवसायमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई भोकेस्नल अवार्ड प्रदान गरिनेछ।

सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्ट प्रतिनिधि राजा गोविन्दासामी रहनेछन्। दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ। तीन दिन नै प्यानल डिस्कसनका कार्यक्रम पनि हुनेछन्।

‘स्वार्थभन्दा माथि उठेर’ सेवा गर्नु रोटरीको मूलनारा हो। गैरराजनीतिक र सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीको स्थापना सन् १९०५ मा अमेरिकाको शिकागोमा भएको हो।

यसका प्रमुख संस्थापक पाउल हेरिस् हुन्। विश्वभर करिब २ सय देशमा सञ्जाल रहेको रोटरीका १२ लाखभन्दा बढी सदस्य रहेका रोटरीका असिस्टेन्ट गभर्नर एवं सम्मेलन मिडिया कोअर्डिनेटर रवीन्द्र बास्तोलाले बताए।

भारतको कलकत्ताको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९० मातहतमा सन् १९५७ देखि रोटरी क्लब अफ काठमाडौँ स्थापनासँगै विधिवत् रुपमा नेपालमा रोटरीले प्रवेश पाएको थियो।

पछि नेपाललाई रोटरीको छुट्टै स्वायत्त क्षेत्र बनाउने प्रयासमा सन् २००८ मा रोटरी डिष्ट्रिक्ट ३२९२ ले मान्यता पायो। हाल भुटानको एक क्लबसहित नेपालका १ सय ६१ क्लब आबद्ध रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ मा ५ हजार ७ सय सदस्य आबद्ध छन्।

युवा नेतृत्व विकासका लागि १ सय ८० रोटर्‍याक्ट र १ सय ५० इन्टर्‍याक्ट क्लब पनि क्रियाशील छन्। पोखरामा मात्रै ११ रोटरी क्लब छन्।

पोखरामा सर्वप्रथम सन् २०१३/१४ मा तत्कालीन डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ र सन् २०१९/२० मा किरणलाल श्रेष्ठको पालामा यस्तैखालको डिष्ट्रिक्ट कन्फरेन्स भएको थियो।

यसपालिको सम्मेलनमा भाग लिन १५ सय जना रोटरियनहरू पोखरा आउने क्रम जारी छ। सम्मेलनस्थल पोखरा इभेन्ट सेन्टर निकै सजाइएको छ।

Explore by Source or Category