मधेश प्रदेशको सभामुखमा यादव निर्वाचित
जनकपुरधाम- मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रहेका यादव आइतबार सभामुखमा निर्वाचित भएका हुन्।
उनी ७२ मत प्राप्त गरेर सभामुखमा निर्वाचित भएका हुन्।
त्यस्तै नेकपा एमालेका तर्फबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकी प्रसादले २४ मत प्राप्त गरे। प्रदेशसभामा एमालेका २४ सांसद छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिएको एमालेले सभामुखका लागि भने प्रतिस्पर्धा गरेको थियो।
जसपा नेपालका तर्फबाट सभामुखमा उम्मेदवारी दिएका यादवलाई भने सातदलीय गठबन्धनको समर्थन रहेको थियो। उनलाई सभामुख बनाउन नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका फकिरा महतोले समर्थन जनाएका थिए।
शनिबार बसेको सातदलीय गठबन्धनको बैठकले यादवलाई सभामुखको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको थियो।
यसअघि एमालेका तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयन गर्ने प्रक्रिया अगाडि बढेको थियो। ‘आचरणविपरितको काम गरेको प्रस्ताव’ प्रदेशसभाबाट पारित भएपछि मण्डल पदमुक्त भएका थिए।