रसुवामा चौँरी महोत्सव
रसुवा- हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले रुसुवाको गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ। चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार र चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो।
महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए। उनले भने, ‘यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।’
तामाङका गतलाङ क्षेत्रमा मात्र करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी छन्। महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसारसँगै परम्परागत उपचार विश्वासानुसार चौँरीको रगत सेवनको व्यवस्था समेत मिलाइने जनाइएको छ। यो क्षेत्रका किसानले चौँरीसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन्। भेडाको ऊनबाट घरेलुस्तरमै राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरिँदै आएको छ। यसको प्रदर्शनी तथा बजार विस्तारमा महोत्सव केन्द्रित हुनेछ।
स्थानीय किसान मार लामा भन्छन्, ‘गतलाङका बासिन्दाको मुख्य आम्दानी चौँरीको दूधबाट बनेका परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दाकोबी, सिमीलगायत कृषि उत्पादनबाट हुने गरेको छ।’
पछिल्ला वर्षमा किसान आलु उत्पादनपछि सिमी रोप्ने परम्परागत अभ्यास परिवर्तन गर्दै बढी आम्दानी दिने बन्दाकोपी खेतीतर्फ आकर्षित भएका छन्।
तामाङ सम्पदामार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ। स्थानीयस्तरमा सञ्चालित होमस्टे सेवाले आम्दानी बढाउन सहयोग पु¥याएको छ। यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले विशेष आकर्षण पैदा गराइएको स्थानीयवासीले बताएका छन्।
समुद्र सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा रहेको पार्वतीकुण्ड धार्मिक तथा प्राकृतिक दृष्टिले समेत महत्त्वपूर्णस्थल मानिन्छ। हिमालयकी पुत्री पार्वतीको वासस्थलका रूपमा विश्वास गरिने यो क्षेत्रमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका निम्ति आउने गर्छन्। यसबाट स्थानीयले भोजनलगायत सेवा प्रदानमार्फत अतिरिक्त आम्दानी गर्दै आएका छन्।
०६५ सालको डढेलोबाट नष्ट भएको वन क्षेत्र पुनस्र्थापनाका निम्ति वृक्षरोपण अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जानकारी दिए। ‘ड्रोन’बाट समेत वनस्पतिका बीउ छर्न लागिएको र यसको संरक्षण कार्यमा चौँरीपालक किसानबाट समेत उल्लेखनीय सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए।
करिब ६०० घरपरिवार बसोबास रहेको गतलाङ क्षेत्र परम्परागत पशुपालन, कृषि उत्पादन र ग्रामीण पर्यटनको संयोजनमार्फत क्रमशः आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गएको किसान अगुवाको भनाइ छ।
याक तथा चौँरी महोत्सवले हिमाली संस्कृति संरक्षणसँगै किसानलाई प्रत्यक्ष प्रोत्साहन दिने विश्वास गरिएको समाजसेवी मिलन तामाङले बताए।