npl.977 Nepal News Stream

#मधेस प्रदेश

देशसञ्चार logo देशसञ्चार

प्रधानमन्त्री कपमा राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीको प्रदर्शन कमजोर

राजा झा 3 hours ago

जनकपुरधाम – प्रधानमन्त्री कप अन्तर्गतको एक दिवसीय क्रिकेट प्रतियोगिताको समुह चरणको खेल सम्पन्न हुँदा राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

विकेट किपर ब्याट्सम्यान आशिफ शेख र आरिफ शेख बाहेक बढी रन बनाउने सूचीको पहिलो दशमा अन्य खेलाडी छैनन्। बलिङमा पनि सन्दीप लामिछाने, ललित राजवंशी बाहेकका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

प्रधानमन्त्री कपको ग्रुप चरणको सबै खेल सम्पन्न हुँदा गण्डकी प्रदेशबाट खेलेका अर्जुन कुमालले सर्वाधिक ५०४ रन बनाएका छन् भने बलिङमा हेमन्त धामीले सर्वाधिक २५ विकेट लिएका छन्। नेपाली क्रिकेटका स्टार बलर सन्दीप छामिछानेले समेत ९ खेलमा २५ विकेट लिएका छन्।

नेपाल क्रिकेट संघले आइसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ का लागि गत फागुन १५ गते २० जना खेलाडीलाई क्याम्पका लागि छनोट गरेकोमा त्यसमा परेकामध्ये ८ जना खेलाडी मात्र सर्वाधिक रन बनाउने र विकेट लिनेको ‘टप १०’ भित्र छन्।

सर्वाधिक रन बनाउनेको ‘टप १०’ मा विकेट किपर ब्याट्सम्यान आशिफ शेख र उनकै दाई आरिफ शेख छन्। बलिङमा सर्वाधिक विकेट लिने ‘टप १०’ मा सन्दीप छामिछाने, हेमन्त धामी, शेर मल्ल, ललित राजवंशी, वसिर अहमद र रिजन ढाकाल छन्। यिनीहरू नेपाल क्रिकेट संघले क्याम्पमा राखेका खेलाडीहरूमध्येका हुन्। राष्ट्रिय टिमका कप्तान रोहित पौडेल विभागीय टिम एपिएफ क्लबबाट प्रधानमन्त्री कप खेलेकोमा उनले ९ म्याचको ८ इनिङ्समा १३५ रन बनाएर रन बनाउनेको सूचीमा ४१ औं स्थानमा छन्। उनले प्रतियोगितामा ६७.१६ को स्ट्रइक रेट र १९.२८ को औषतले रन बनाएका हुन्। पौडेलले प्रतियोगितामा १३ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए।

क्यानको क्याम्पमा परेका भिम सार्कीले त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलेकोमा ९ म्याचको ८ इनिङ्समा ३५.५७ को औषतले २४९ रन बनाएका छन्। बागमती प्रदेशबाट खेलेका इशान पाण्डेले २१६, त्रिभुवन आर्मीबाट खेलेको बसिर अहमदले ६ इनिङ्समा ४१.४ को औषतले २०७ रन बनाएका छन्। बलिङमा बागमती प्रदेशबाट खेलेका सन्दीप लामिछानेले ९ इनिङ्समा २५ विकेट लिँदा हेमन्त धामीले समेत २५, शेर मल्लले २२, ललित राजवंशीले १७ विकेट लिए। क्याम्पमा परेका अन्य खेलाडीले बनाएको रन तथा लिएको विकेटको विवरण तलको चार्टमा उल्लेख गरिएको छ।

राष्ट्रिय टिमबाट खेल्ने खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपनि प्रादेशिक तथा विभागीय टिमबाट खेलेका केही खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। गण्डकी प्रदेशबाट खेलेका अर्जुन कुमालले दुई शतक र दुई अर्धशतकसहित ९ म्याचको ९ इनिङ्समा ५०४ रन बनाए। उनले प्रतियोगितामा ५६ वटा चौका र २ वटा छक्का प्रहार गरे।

एपिएफ क्लबबाट खेल्ने राष्ट्रिय खेलाडी आशिफ शेखले एक दोहोरो शतक, एक शतक र एक अर्धशतकको मद्दतले ४५७ रन बनाए। यस्तै, त्रिभुवन आर्मीबाट खेल्ने विनोद भण्डारीले ९ म्याचको ८ इनिङ्समा २ शतक र एक अर्धशतकको मद्दतले ४०२ रन बनाए। सर्वाधिक रन बनाउनेको सूचीमा भण्डारी तेस्रो स्थानमा छन्। नेपाल पुलिस क्लबबाट खेलेका दिनेश खरेलले ९ म्याचको ८ इनिङ्समा ४ अर्धशतकको मद्दतले प्रतियोगितामा ३३३ रन बनाएका छन्। अन्य खेलाडीले बनाएको रनको विवरण तलको तालिकामा उल्लेख गरिएको छ।

बलिङमा सुदूरपश्चिमबाट खेलेका हेमन्त धामीले ९ म्याचको ९ इनिङ्समा ३.७८ को औषतले रन दिएर २५ विकेट लिए। बागमतीको तर्फबाट खेलेका सन्दीप लामिछानेले ४.४ को औषतले रन दिएर ९ खेलमा २५ विकेट लिए भने सुदूरपश्चिमबाटै खेलेका शेर मल्लले ४.२३ को औषतले रन दिएर २२ विकेट लिए। अन्य खेलाडीहरूले लिएको विकेटको विवरण तलको तालिकामा उल्लेख गरिएको छ।

यस वर्षको प्रधानमन्त्री कपको केही खेल काठमाडौँमा भएको थियो भने बाँकी खेल मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा भएको हो। समुह चरणको सबै खेल सम्पन्न भइसकेको छ। समूह चरणमा शिर्ष दुईमा रहँदै त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो। फाइनल खेल शुक्रबार वीरगञ्जमा हुने तालिका रहेको छ।

Explore by Source or Category