npl.977 Nepal News Stream

#बेलायत प्रमुख

Contents
Nepali Link

बेलायतको एनएचएसमा झण्डै ५ हजार नेपाली, नेपाल १५ औं स्थानमा

Nabin Pokharel 13 hours ago


लन्डन । संयुक्त अधिराज्य (यूके) को इंग्ल्याण्डमा काम गर्ने नेपाली नर्सहरुको संख्या वृद्धि भएको छ ।

नोभेम्बरमा प्रकाशित जुन २०२५ सम्मको तथ्यांक अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत नेपालीको संख्या ४ हजार ६ सय ६७ पुगेको छ ।

राष्ट्रियताका हिसावले नेपाली १५ औं स्थानमा छन् । एनएचएस डिजिटलको तथ्यांकमा पहिलो स्थानमा ब्रिटेन छ जसमा ११ लाख ९७ हजार ४२१ ब्रिटिश नागरिकले एनएचएसमा काम गर्छन् भने ७९ हजार ४०६ संख्यासहित भारतीय दोश्रोमा पर्छन् ।

तेश्रो ४० हजार ५७५ सहित नाइजेरियाली र चौंथोमा ३५ हजार ५४३ संख्यासहित फिलिपिनो छन् । पांचौंमा १३ हजार ८ सय ४४ आइरिस नागरिक छन् ।

नेपाल दक्षिण एसियाली मुलुक श्रीलंका र बंगलादेश भन्दा पनि अगाडि छ । एनएचएसमा ब्रिटिश पासपोर्ट लिएका नेपाली पनि कयौं कार्यरत छन् तर त्यो संख्या यसमा समावेश छैन् ।

जुन २०२५ सम्म इङ्गल्याण्डमा ७८.७ प्रतिशत एनएचएस कर्मचारी बेलायती छन्। ९.९ प्रतिशत एसियाली, ५.२ प्रतिशत ईयू नागरिक र ४.२ प्रतिशत अफ्रिकी रहेको तथ्यांक छ ।

सन् २०२५ सम्म एनएचएसले इङ्गल्याण्डमा १६ लाख हाराहारी जनशक्ति (हेडकाउन्ट) वा लगभग १४ लाख फुलटाइम काम गर्ने कामदारलाई रोजगारी प्रदान गरेको तथ्यांक छ । यसमा करिब एक लाख ४७ हजार ३०० चिकित्सक, ३ लाख ९२ हजार ८०० नर्सिङ स्टाफ, र करिब १ लाख ९९ हजार २०० हेल्थ प्रोफेसनल्स् समावेश छन् ।

एनएचएस विश्वको सबैभन्दा ठूलो रोजगारदातामध्ये एक मानिन्छ । एनएचएसमा विभिन्न २१६ राष्ट्रियता भएका कामदार कार्यरत छन् ।

पछिल्लो एक दशकयता एनएचएसमा काम 
गर्ने युरोपेली कामदार संख्या भने घटेको छ । सन् २०१० दशकको शुरुमा ईयू नागरिकको आगमन अध्यधिक वृद्धि भएको थियो तर ब्रेक्जिट (ईयू जनमत संग्रह) पछि यसमा गिरावट आएको एनएचएसले जनाएको छ । बरु हालैका वर्षहरुमा एसियाली वा अफ्रिकी नागरिकको संख्या तीव्र वृद्धि भएको छ ।

द हिलिङ्डन हस्पिटल्स एनएचएस फाउण्डेशन ट्रष्टमा सर्जिकल वार्ड म्यानेजर रस्मिता दर्लामी विगत १६ वर्षदेखि एनएचएसमा कार्यरत छन् ।

नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष समेत रहेकी नर्स रस्मिता एनएचएसमा जागिर सुरक्षित, अवकासपछि पनि पेन्सन, पैसा बाहेक निशुल्क अध्ययनका विभिन्न अवसर पाइने भएकाले आफू सन्तुष्ट रहेको बताउंछिन् ।

‘तर, कामको चाप र परिश्रम अनुसार तलव नबढ्दा दुःख लाग्छ’, उनले भनिन्, ‘अहिले हाम्रो ट्रष्टले बेलायतमै नर्सिङ पढेका विद्यार्थीलाई प्राथमिकता दिएर अन्तर्राष्ट्रिय नर्सहरुलाई भर्ना नलिने नीति बनाएको छ ।’

बेलायतमा नेपाली नर्सहरु बढिरहंदा उनीहरुका हकहित र समस्या समाधानका लागि एसोसिएसनले नियमित काम गरिरहेको रस्मिताले बताइन् । एसोसिएसनको सदस्यता लिने नेपाली नर्सहरु करिब तीन सय जनामात्र छन् तर समस्या पर्दा सम्पर्कमा आउने गरेको उनी बताउंछिन् ।

‘प्रोफेशनल नर्स एड्भोकेट’ समेत रहेकी रस्मिताले एसोसिएसन प्लाटफर्ममा नर्सहरुलाई ‘वान टु वान’ सल्लाहदेखि सम्मेलन र वेबीनारमार्फत करिअर पाथवेज, फिट टु प्राक्टिस, पिन कसरी बचाउने वा नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई डकुमेन्टेसन तयारी कसरी गर्ने भन्नेबारे परामर्श दिइरहेको बताइन् ।

उनले योग्य नर्स बन्न असहज भए दुई वर्षे नर्सिङ एसोसिएट अध्ययन गर्न सुझाइन् जुन एनएचएस ट्रष्टले पढाउंछ र उत्तिर्ण गर्न सजिलो पनि छ ।

नर्स रस्मिता दर्लामी

बेलायतमा के चाहिन्छ नर्स बन्न ?

बेलायतमा बस्न र काम गर्न आउन चाहने नर्सहरूले नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) मा दर्ता गर्नुपर्नेछ। एनएमसीले बेलायतमा नर्सिङ र मिडवाइफरी पेशालाई नियमन एवं उच्च गुणस्तरको बिरामी हेरचाह सुनिश्चित गर्न विभिन्न मापदण्ड तय गर्छ ।

यहांको योग्य नर्स बन्न बेलायत बाहिर तालिम प्राप्त नर्सहरूले एनएमसीद्वारा निर्धारित अंग्रेजी भाषा मापदण्डहरू पनि पूरा गर्नुपर्छ । त्यसमा आइइएलटिएस वा ओइटी भाषा परीक्षण सफलतापूर्वक पूरा गर्न अनिवार्य छ ।

आइइएलटिएसमा ओभरअल ७ स्कोर हासिल गर्न आवश्यक छ, यद्यपि लेखनमा ६.५ तथा पढ्ने, सुन्ने र बोल्ने परीक्षामा ७ स्कोर स्वीकारिनेछ।

ओइटी स्वास्थ्य सेवा क्षेत्रका लागि विशेष रूपमा डिजाइन गरिएको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण माध्यम हो । बेलायतमा नर्स, मिडवाइफ र चिकित्सकहरुका लागि यो पनि अर्को विकल्प छ ।


बेलायतमा कति पाउंछन् नर्सहरुले तलब ?

काम अप्ठेरो भएपनि कमाइका हिसावले एनएचएस जागिर सन्तोषजनक भएको बताउंछिन् नर्स बिनु लामिछाने । ‘महंगी र अन्य खर्चको तुलनामा तलव वृद्धि खासै भएको छैन् तर नेपाल हेरेर यहां धेरै राम्रो छ’, उनले भनिन् ।

‘नर्सेस डट को डट यूके’ का अनुसार बेलायती नर्सहरूले सामान्यतया वार्षिक ३१ हजार पाउण्डदेखि ४७ हजार पाउण्डसम्म कमाउंछन् ।

ब्यान्ड ५ नर्सहरुको कमाइ सन् २०२६ देखि लगभग ३१ हजार ४८ पाउण्डदेखि अनुभवका आधारमा ३७ हजार ७ सय ९६ पाउण्डसम्म पुग्छ।

फुलटाइम कामका लागि औसत तलब सामान्यतया ३७ हजारदेखि ४२ हजार पाउण्डसम्म हुन्छ जसमा रात्री सिफ्ट, सप्ताहन्त र लन्डन अलाउन्स् जस्तो अतिरिक्त ज्याला समेत समावेश हुन्छ।

जुलाई ५, १९४८ मा तत्कालिन स्वास्थ्य मन्त्री एन्युरिन बेभानले सुरु गरेका थिए राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) । यस स्थापनाको उद्देश्य खासमा नागरिकहरुलाई व्यापक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्नु थियो । यो मानिसको आम्दानीको पर्वाह नगरी रोग सम्बोधन गर्ने सिद्धान्तमा आधारित थियो ।

दोस्रो विश्वयुद्धपछि पहुँचको समानता सुनिश्चित गर्न अस्पतालहरूलाई राष्ट्रियकरण गरि सरकारी नियन्त्रणमा ल्याइएको इतिहास छ ।

Nepali Link

बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ, सार्वजनिक पदको दुरुपयोगमा अनुसन्धान

Dhruba Aryal 16 hours ago


लन्डन- बेलायतती राजा चार्ल्स तृतीयका सहोदर भाइ पूर्व राजकुमार प्रिन्स एन्ड्रयुलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ।

विहीबार बिहान थेम्स भ्याली प्रहरीले स्याण्ड्रिङहमस्थित शाही निवास क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।प्रहरीले विस्तृत अध्ययनपछि उनलाई नियन्त्रणमा लिइएको र हाल हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जनाएको छ।

पक्राउपछि प्रहरीले वर्कशायर र नर्फोकस्थित उनका केही ठेगानामा खोजतलास गरिरहेको छ। प्रहरीले औपचारिक अनुसन्धान सुरु भइसकेको पुष्टि गर्दै आवश्यक परे थप विवरण सार्वजनिक गरिने जनाएको छ।

विगत केही वर्षदेखि पूर्व राजकुमार एन्ड्रयु मुख्यतः अमेरिकी विवादित यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण विवादमा परेका थिए।

उनलाई अमेरिकामा एक महिलाले नाबालिग अवस्थामा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उक्त मुद्दा सन् २०२२ मा अदालतबाहिर सहमतिमार्फत टुंगिएको थियो, तर उनले सबै आरोप अस्वीकार गरेका थिए। त्यसयता राजकीय कर्तव्यहरूबाट पछि हटेका उनी सार्वजनिक भूमिकामा सक्रिय छैनन्।

यो घटनाले बेलायती राजपरिवारका विषयमा नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।

Nepali Link

लन्डन पर्लीमा ‘गोर्खा नान’- बेलायतीमाझ चिनाउँदैछ नेपाली स्वाद

Nabin Pokharel 17 hours ago

लन्डन- विगत २१ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय सेफ विष्णु थापाले हङकङ जानुअघि नेपालमा ६ महिनाजति वेटर तालिम लिएका थिए । उनले ५ वर्ष हङकङ बस्दा खाना पकाउन राम्ररी सिके ।

सन् २००९ मा बेलायत आए उनी । बेलायत आएपछि शुरुमा उनले हार्भेष्टर, गल्फ क्लव, रेष्टुरेन्ट आदिमा नेपाली, चिनिया, भारतीय र अंग्रेजहरुसंग काम गरे । काम गर्दा गर्दै उनी अहिले आफैं रेष्टुरेन्ट सञ्चालक बने ।

‘आफूले सिकेको लामो अनुभव गोर्खा नान मेनुमा ढालेको छु’, सप्ताहन्त इष्ट क्रोयडन नजिक पर्लीमा खुलेको आफ्नो गोर्खा नान रेष्टुरेन्टमा थापाले भने ।

सेप्टेम्बर २०२३ मा ‘द गोर्खा नान’ ओपनिङ गरेपछि हेड सेफ एवं सञ्चालक विष्णु थापाले शुरुतिर नान भारतीयले मात्र खान्छन् भन्ने भ्रम चिर्न गोर्खा नान नाम राखेर नान गोर्खाले पनि खान्छन् भन्ने देखाउन प्रयत्न गरे ।

रेष्टुरेन्ट खुलेको करिब अढाइ वर्ष भइरहंदा अहिले विष्णुले लोभलाग्दो छलाङ मारेका छन् । ‘पहिला हाम्रो इण्डियन एण्ड नेपलिज कुजिन रुचाउने ब्रिटिशमात्र थिए, अहिले नेपालीहरु पनि हुनुहुन्छ । नेपाली ग्राहकको माग अनुसार नै हामीले नेपलिज मेनु बढाएका छौं’, उनले सुनाए ।

यसअघि अनलाइनमार्फत मात्र विक्री वितरण हुंदै आएको दुना टपरी मम हाउसका मौलिक परिकार अब गोर्खा नानमै उपलब्ध गराइएको थापाले जनाए ।

‘मम, टिपिकल झोल (विशेष लोकप्रिय), गुन्द्रुकको अचार, जिम्बु आलु, बफ सुकुटी, चाउमिन, सेलरोटी अचार जस्ता परिकार हामी फ्रेस इन्ग्रेडेन्टसमा बनाउंछौं’, थापा भन्छन्, ‘खाना क्वालिटी हाम्रो मुख्य विशेषता हो । दुनामै मम, अचार खांदा बेग्लै स्वाद आउंछ ।’

नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न आफू लागिरहेको उनले बताए ।

पर्ली रेल स्टेशन नजिकै अवस्थित छ गोर्खा नान रेष्टुरेन्ट । ४० देखि ५० जना सिट क्षमताको ‘गोर्खा नान’ मंगलबारबाहेक सबै दिन खुला रहन्छ। सोमबार दिउँसो २ तथा अरु दिन बिहान ११ बजेदेखि राती ११ बजेसम्म खुल्छ ।

गोर्खा नानले बटर चिकन, गोर्खा लाल मास (घरमा बनाएजस्तो हण्डीमा पकाउने), समोसा चाट, चिल्ली ममः, चिकन लली पप, आलु टिकी चाट, गोर्खा मिक्स दम बीरयानी, ल्याम्ब चप, सालमन टिक्का आदि कुजिनबाट ग्राहक मन जितिरहेको छ ।

अन्यत्र रेष्टुरेन्टमा नपाइने किङ बाइट म्याङ्गो (आंपको ससमा किङ प्राउन), तावा फिस वीथ क्रिप्सी ओक्रा, होली बसिल डक र भेजमा तन्दुरी ब्रोकली धेरै रुचाइने खानामा पर्ने मेन सेफ तथा सञ्चालक थापाको भनाइ छ ।

Explore by Source or Category