npl.977 Nepal News Stream

#बीमा

Insurance Khabar logo Insurance Khabar

नेपालको बीमा क्षेत्रमा अल्पकालीन र दीर्घकालीन सुधार गर्न लिनुपर्ने पहल

केशवप्रसाद भण्डारी 11 hours ago

काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहास झण्डै आठ दशक लामो छ। विक्रम संवत् २००४ सालमा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड’  को स्थापनासँगै नेपालमा बीमाको औपचारिक शुरूवात भएको हो।

यो कम्पनी स्थापनाको ७८ वर्ष पुरा भइसकेको छ। यो कम्पनी वि.सं.२०१६ सालमा ‘नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिड’  हुँदै वि.सं.२०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा रूपान्तरण भएर अहिले निर्जीवन बीमकको रूपमा सेवा प्रदान गरिरहेको छ।

नेपालमा बीमा सेवाको प्रारम्भ भएको निक्कै पछि मात्र बीमा नियामक साबिक बीमा समितिको जन्म भएको हो। पहिलो बीमा कम्पनी स्थापना भएको २१ वर्षपछि अर्थात् वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको हो ।

यसरी इतिहास केलाउँदा बितेका वर्षहरूको गणनाका आधारमा लामो अवधि पुरा गरिसक्दा पनि नेपालको बीमा उद्योग परिपक्वताको स्थितिमा पुगिसकेको छैन। यद्दपी बीमा क्षेत्रसँगको आम अपेक्षा र बीमा नियामकको नियामकीय प्रभावकारीता तुलना गर्दा अझै बामे सर्ने अवस्थामै रहेको अनुभूती हुन्छ।

प्रविधिको बढ्दो प्रयोगसँगै बीमा सम्बन्धि आवश्यकताहरू परिवर्तन हुँदै गएको छ। बीमितको अपेक्षा पनि परिवर्तन भइरहेको छ। बैंकिङ क्षेत्र र डिजिटल भुक्तानी सेवा प्रदायकले प्रदान गरिरहेको अभाैतिक वित्तीय सेवासँग उपभोक्ताले बीमा कम्पनीहरूको सेवा दाँज्न थालेका छन्। यसरी दुइ फरक क्षेत्रबीच प्रविधि र सेवाका अाधारमा तुलना गर्दा बीमा क्षेत्रसँग बीमित वा सेवाग्राहीका थुप्रै गुनासा छन्।

नेपालको बीमा नियामक नेपाल बीमा प्राधिकरण र बीमा सेवा प्रदायक बीमकले अल्पकालीन र दीर्घकालीन आवश्यक्तालाइ मध्यनजर गर्दै गर्नुपर्ने सुधारका केही प्रयासहरूबारे यहाँ संक्षेपमा उल्लेख गरिएको छ।

प्रविधिको उपयोग: डिजिटल प्लेटफर्म, मोबाइल एप्स, अनलाइन बीमालेख व्यवस्थापन जस्ता प्रविधिको उपयोग गरेर बीमितको सेवा अनुभव सुधार गर्नुपर्छ। केही बीमकले डिजिटलमाध्यमबाटै बीमालेख कर्जा लिन सकिने सुविधा उपलब्ध गराएका छन्। तर यसका लागि उनीहरूको बीमित कतिको प्रतिक्षित गरिएका छन् ? यसको जवाफ नखोजी गरिने लगानीले अपेक्षित नतिता दिन सकेको छैन। अनलाइन बीमालेख व्यवस्थापनमा अझै पनि निर्जीवन बीमकको तुलनामा जीवन बीमा कम्पनी उदार देखिएका छैनन्। बीमितले डिजिटल बीमालेख प्राप्त गर्ने वातावरण जीवन बीमा कम्पनीहरूमा बनि सकेको छैन ।

अभिकर्ता सशक्तिकरण: नेपालमा बीमाको वितरण सञ्जालमा अभिकर्ताको भूमिका अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ। यस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारीमा रहेका बीमा अभिकर्तामा पेशागत ज्ञान र अनुभवको चरम अभाव खट्किएको छ। आफैंलाई बीमाबारे ज्ञान नभएपछि बीमितलाई उनीहरूले कसरी उपयुक्त वित्तीय सल्लाह सुझाव दिन्छन् भन्ने अपेक्षा गर्न सकिन्छ।

पेशागत बीमा अभिकर्ता संघ पनि राजनीतिक दलको भातृ संगठन झैं अधिवेशन र नेतृत्व चयनका लागि मात्र सकृय देखिन्छ। अघि पछि सदस्य अभिकर्ताहरूलाई प्रशिक्षणको अवसर दिलाउने काममा अग्रसरता लिन सकेको छैन । यो संगठनमा देशभरका अनुभवी र प्रखर अभिकर्ताहरू आबद्ध छन् । संगठनमा आबद्ध नभएकाहरूलाइ मानार्थ सदस्य वा सल्लाहकारका रूपमा भित्र्याउँदा पनि संगठनको प्रतिष्ठा बढ्नेछ। बीमा प्राधिकरण र बीमक संघसँगको सहकार्यमा पेशागत अभिकर्ता संघले देशैभर श्रोत व्यक्तिहरू चयन गरेर वार्षिक तालिका नै तयार पारेर तालिमको अगुवाई लिन सक्छ।

अर्कोतर्फ बीमकले पनि अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धि गर्ने काममा लगानी गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । उनीहरूलाई नियमित आवासीय प्रशिक्षण (विशुद्ध प्रशिक्षण) को अवसर दिलाएर त्यसबाट प्राप्त हुने व्यवसायीक उपलब्धी मापनको आधारमा भावी तालिम कार्यक्रमहरू निर्धारण गर्दै जानुपर्छ।

बीमा सचेतना: नेपालमा बीमकले बेचेका कर्जा सुरक्षाका लागि जारी लघु म्यादी र अनिवार्य गरिएको वैदेशिक रोजगारी म्यादीको संख्या समावेश गरेर जनसंख्यासँग तुलना गरि गणना गरिने बीमामा पहुँच ४९ प्रतिशतमा पुगेको देखिन्छ। तर वास्तविकता अर्कै छ। अधिकांश नागरिक अझै पनि बीमाबारे सुसूचित र शिक्षित छैनन् । उनीहरूमध्ये अधिकांश बीमा गरेपनि बीमाको सेवा र शर्तबारे बिल्कुलै अनविज्ञ अवस्थामा छन् । यही अवस्थाले दाबी भुक्तानी लिने समयमा उनीहरूमा बीमा कम्पनीप्रति नकारात्मक धारणाको विकास हुन्छ।

नेपाल बीमा प्राधिकरणले आम नागरिकमा बीमाप्रतिको बुझाई बढाउन बीमकमार्फत अनिवार्यरूपमा चेतनामूलक कार्यक्रमहरू संचालन गर्नुपर्छ। बीमकको संस्थागत सामाजिक उत्तरदायीत्व कोष अन्तर्गतको रकमको निश्चित प्रतिशत रकम अबको केही वर्ष अनिवार्यरूपमा बीमा सचेतनाका लागि मात्र खर्चिनुपर्ने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ, अनि मात्र मापन गर्न सकिने स्तरमा सचेतना संभव हुनेछ।

नियमन र पारदर्शिता: नियमनकारी निकायको हैसियतमा नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ र नियमावली २०८१ ले दिएको अधिकारको अधिकत्तम सदुपयोग गर्दै बीमा क्षेत्रमा पारदर्शिता र व्यवसायिकता बढाउन नीतिगत र संरचनागत सुधार र पहल गर्नुपर्छ।

प्रतिस्पर्धा: बीमा कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गरेर बीमा क्षेत्रमा सुधार गर्नुपर्छ। यसको लागि कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धाको संभावनालाई प्रविधिको प्रयोगमार्फत् नै अंकुश लगाउने एउटा उपयुक्त विकल्प हुनसक्छ। अर्को तर्फ सेवाग्राहीलाई नै सूचकको रूपमा प्रयोग गरेर अस्वस्थ्य र गैर व्यवसायीक अभ्यासमा संलग्न बीमकविरूद्ध तत्काल प्राधिकरणले कारवाहीको कदम चाल्नुपर्छ।

बीमित सेवा: बीमित तथा अन्य सेवग्राहीहरूलाई छरितो र सहज सुविधा प्रदान गरेर बीमा कम्पनीले विश्वास बलियो बनाउनुपर्छ । नविकरण बीमाशुल्क सहज तरिकाले घरै बसेर कसरी तिर्ने भन्ने बारे बीमा कम्पनीले बीमितलाई प्रशिक्षण दिनुपर्छ। बीमालेख सम्बन्धि सेवाका लागि पटक पटक बीमकको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न कागजी प्रकृयालाई सहजीकरण गरिदिनुपर्छ। बीमितले दाबी भुक्तानी लिने समय आउनु अघि नै बीमित पहिचान अध्यावधिक गरेर राख्दा बीमितले दाबि भुक्तानी लिने समयमा धेरै कागजी झण्झट व्यहोर्नुपर्दैन। बीमितलाई फोन गरेर, एसएमएस र इमेल तीनवटै माध्यमबाट उनीहरूको बीमालेख सम्बन्धि सम्पूर्ण जानकारी अध्यावधिकरूपमा गराउनुपर्छ।

Explore by Source or Category