चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा
विराटनगर (हाम्रो खेलकुद)- घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो सहभागितामा नै सम्राट विराट गोल्डको फाइनल पुगेको हो । अब शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा–११ को सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नै हुनेछ ।
आज सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले गोल गरे । खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती गोल गर्ने सौरभ तामाङ घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।
खेलको ५० औँ मिनेटमा सौरभले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप २ गोल गर्दै जित सुनिश्चित गर्यो ।
इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३-० ले विजयी भयो ।
घरेलु दर्शकको भरपुर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रियो। खेलको २९ औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ३२ औँ मिनेटमा आशिष चौधरीले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्कियो ।
दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन । चर्च ब्वाइजका स्ट्राइकर समिर तामाङ फिनिसिङमा पटक–पटक चुके ।
६७ औँ मिनेटमा समिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२ औँ मिनेटमा सृजन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन ।
यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोटर्स एकेडेमीलाई ३-१ ले पराजित गरेको थियो । अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
The post चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा first appeared on हाम्रो खेलकुद.


