राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
समन्वयात्मक बैठकमा गरे स्थानीय तहले सहमति र सहकार्यको प्रतिवद्धता
लमजुङ । लमजुङमा जिल्लाका स्थानीय तहहरूले संयुक्त बैठक बसेर आपसमा सहमति र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुन्दरबजार नगरपालिकामा बसेको बेठकबाट पुस २ गते त्यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।
जिल्ला समन्वय समिति, लमजुङको आयोजनामा सुन्दरबजार नगरपालिकाको सभाहलमा भएको उक्त पहिलो समन्वयात्म बैठकमा स्थानीय तहहरूले आपसी समन्वय र सहकार्य सुदृढ गर्ने प्रतिवद्धता व्यक्त भएको हो । बैठक आफ्नो उद्देश्य प्राप्त गर्नमा सफल रहेको समन्वय बैठक सम्पन्न भएपछि आयोजक समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार बैठकमा पालिकाहरूले आफूले प्रवाह गर्दै आएका सेवाहरू, हालसम्म भएका प्रगति र सेवा प्रवाहको समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा आपसमा जानकारी गराउँदै सहकार्यका माध्यमले समस्याको समाधान खोज्न सहमति भएको छ ।
उनले भने, ‘सबै पालिकाका साझा एजेण्डाका विषयमा छलफल भएको थियो । यसैगरी बैठकमा विपद जोखिम न्यूनीकरण, जलविद्युत, नदिजन्य पदार्थ र वन पैदावरको उपयोग, पालिकाका एकल अधिकारका विषयमा समेत छलफल भएको छ ।’ सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले जिल्लाका सबै पालिकाहरुले प्राथमिकतामा राखेर गर्न सकिने विषयहरू, समस्या र समाधानका उपायहरु अवलम्बन गर्नतर्फ लाग्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा सबै पालिकाको सडक अवस्थाको ’boutमा समेत समिक्षा गरिएको थियो । सबै पालिकाहरु मिलेर साझा र समान लक्ष्य लिएर अगाडि बढ्ने हो भने जिल्लाको विकास गर्न सहज हुने तथा राष्ट्रिय रुपमा सकारात्मक सन्देश जाने भन्दै सबै पालिकाका प्रमुखहरूले विभिन्न विषयगत कार्यालयका प्रमुखहरूलाई आमन्त्रण गरी आगामी बैठक प्रभावकारीताका साथ अगाडि बढाउनुपर्ने बताएका थिए । बैठकमा असल अभ्यासको आदान–प्रदान, खर्चको अवस्था, आईपरेका समस्याहरू सबैका साझा समस्या भएकोले यस्ता समन्वयात्मक बैठक प्रभावकारी हुने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सबै पालिकाका कतिपय निर्णयहरू र नीतिहरूमा एकरुपता बनाउन सकिएमा त्यसले सकारात्मक सन्देश दिने बताए । उनले नीति निर्माण तथा पालिकामा आयोजना हुने मेला–महोत्सवलाई एकरूपता दिनुपर्ने औंल्याएका थिए । उनले पालिका र प्रशासन कार्यालयबाट प्रवाह हुने सेवामा अझै सहजता प्रदान गर्न आफू लागिरहेको जनाए । नागरिकलाई विना झन्झट सेवा दिन सबैले प्रयास गर्नुपर्ने भन्दै प्र.जि.अ पाण्डेले पालिकाहरूमा हरेक बिहान निश्चित समयमा राष्ट्यि गान बजाउने अभ्यास सुरु गर्न समेत उनको आग्रह थियो ।
बैठकमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले फोहोरमैला व्यवस्थापन सबै पालिकाको समस्या भएकोले यसको व्यवस्थापन र फोहोरलाई प्रशोधन गर्ने जस्ता विषयमा एक रुपताको खाचो औंल्याए । एउटै पालिकाले गर्न सम्भव नभएको भन्दै सबै पालिकाले सहकार्य गर्नुपर्ने उनको जोड थियो ।
उक्त जिल्लाका ८ पालिकामध्ये सातको सहभागिता रहेको थियो । बैठकमा क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ लगायतले कृषि, वन, सडक, जलविद्युत, विपद् न्यूनीकरण एवम् विपदको समयमा गर्नुपर्ने प्रति कार्यहरू जस्ता विषय सबै पालिकाको साझा विषय भएको हुँदा यस्ता विषयमा जिल्लामा रहेका सबै स्थानीय तहले एकै किसिमको नीति लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा पालिकाहरुको धारणा लिने काम भएको र आगामी बैठकहरू विषयगत छलफलका आधारमा अगाडि बढाउने बताइएको छ । पालिकाले गर्ने कार्य सम्पादनको क्रममा आईपरेका आफ्ना समस्याहरू राख्दै सबैका साझा समस्या भएकोले त्यसतर्फ कसरी अगाडि बढ्ने भन्ने विषयमा निष्कर्षका साथ योजनाबद्ध रुपमा अघि बढ्नु पर्नेमा बैठकका सहभागीहरू सहमत भएका छन् ।
मासिक रुपमा यसरी बैठक बस्दा जिल्लाका विषयगत कार्यालयका प्रमुखहरूलाई समेत आमन्त्रण गरी सेवा प्रभावलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने, पहिलो बैठकले आगामी बस्ने बैठकको मोडालिटी तय गर्दै मासिक रूपमा विभिन्न समस्याहरू सडक, सिँचाइ, खानेपानी लगायतका विषयमा नियमित छलफल गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा जिल्ला भित्रका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
The post समन्वयात्मक बैठकमा गरे स्थानीय तहले सहमति र सहकार्यको प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....