बाबुरामले केलाए तीन दलका घोषणापत्र, कसको कस्तो?
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा विगतको तुलनामा गुणस्तर बढेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले ठूला पुराना तथा नयाँ दलहरूको प्रतिबद्धतापत्रमा विशेषगरी युवाको बढ्दो आकांक्षाको स्पष्ट प्रभाव देखिएको बताएका हुन्।
उनले नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घोषणापत्र सर्सर्ती अध्ययन गर्दा लक्ष्यहरू महत्वाकांक्षी देखिए पनि त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्।
‘म आफैँ अर्थमन्त्री हुँदा ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!’ भन्ने महाकवि देवकोटाको पंक्ति उद्धृत गरेको व्यक्ति भएकाले महत्वाकांक्षी लक्ष्यलाई अन्यथा मान्दिनँ,’ उनले उल्लेख गरेका छन्।
भट्टराईले संसदमा पटकपटक ‘दुई अंकको वृद्धि दर, दुई दशक निरन्तर’ लाई राष्ट्रिय नारा बनाएर कार्यान्वयन नगरेसम्म देशको अर्थतन्त्रले ‘टेक-अफ’ लिन नसक्ने र युवाको बेरोजगारी समस्या समाधान नहुने धारणा राख्दै आएको स्मरण गराएका छन्। अहिले सबै दलले त्यस्तो लक्ष्य राख्नु सकारात्मक भएको उनको भनाइ छ।
तर उनले ती लक्ष्य हासिल गर्न संरचनात्मक सुधार अनिवार्य रहेको औँल्याएका छन्। आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था आवश्यक रहेको उनले बताएका छन्। त्यस्तै, बाह्य रूपमा दुई ठूला छिमेकी अर्थतन्त्रसँग नेपाललाई ‘गतिशील पुल’ का रूपमा जोड्ने अवधारणा कार्यान्वयन गर्नुपर्ने उनले जोड दिएका छन्।
यी सुधारबिना घोषणापत्रका महत्वाकांक्षी लक्ष्यहरू ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुने चेतावनी उनले दिएका छन्। प्रमुख दलहरू यी विषयमा मौन बस्नु वा विपक्षमा उभिनु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
कमसेकम रास्वपाले झिनो स्वरमा भए पनि यी मुद्दा उठाएको भन्दै उनले केही आशा व्यक्त गरेका छन्। निर्वाचनबाट स्पष्ट जनादेश प्राप्त गरी यी संरचनात्मक सुधार कार्यान्वयन गर्न सके मात्र नयाँ समृद्ध नेपालको सपना साकार हुने अन्यथा यो निर्वाचन पनि कर्मकाण्डमै सीमित हुने उनको निष्कर्ष छ।
