रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा इभानाले संखुवासभा ४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा हराइन् । धरान १६ की दीक्षा दाहाल र काठमाडौं महानगरपालिका २६ की अनिता महर्जन तेश्रो बने ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं २६ का चन्दन शाही पहिलो भए । उनले फाइनलमा ललितपुर २ का समिप श्रेष्ठलाई ११–३, ११–७ र ११–८ ले हराए ।
५० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा ललितपुर ११ का राजेन्द्र वज्राचार्यले कीर्तिपुर ६ का जय महर्जनको चुनौती १२–१०, १२–१४, ११–६ र ११–७ ले पन्छ्याउदै पहिलो भए । पुरुष टिम इभेन्टमा ललितपुर ८ ले ललितपुर ७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।
प्रतियोगितामा ललितपुर महानगरपालिका वडा ८ टिम च्याम्पियन बन्यो । वडा ८ ले ३ स्वर्ण जित्यो ।
विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक स्पिन टेबलटेनिस क्लबका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा टेबलटेनिस खेलको निरन्तर विकास, प्रवद्र्धन र संस्थागत उन्नयनमा अतुलनीय योगदान पु¥याएका टेबलटेनिसका पूर्व जुनियर राष्ट्रिय च्याम्पियन महेश भीमसेरियालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । दुबइमा भएको पाँचौ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
अनर मोबाइलको मुख्य प्रायोजन तथा एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा भएको पाँचदिने प्रतियोगितामा ४ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४० हजार रुपैयाँ रहेको छ ।
The post रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन first appeared on हाम्रो खेलकुद.