npl.977 Nepal News Stream

#ज्ञानेन्द्र विवश

Saral patrika logo Saral patrika

नयाँ भेट, पुरानो सम्झना

Saral Patrika 4 hours ago

नयाँ भेटमा पुरानो सम्झना हुनु र विगततिर फर्केर संवाद गरिनु भेटका सुन्दर सिलसिला हुन्। आदरणीय पी.पी. उपाध्याय अर्थात् प्रकाशप्रसाद उपाध्यायसँगको मेरो भेटले यस्तै तीन दशक पुरानो सम्झनालाई पुनः ताजा गरिदियो।

तीन दशकपछि भेट हुँदा समयले अनुहारमा केही रेखा थपेको थियो। निख्खुर कालो कपालले सेतो रङ फेरिसकेको थियो। तर आँखाको उज्यालो उस्तै थियो- जिज्ञासु, संवेदनशील र आत्मीय। उहाँलाई देख्नेबित्तिकै मेरो मन २०५४ सालको असोजतिर उडेर पुग्यो, जब भारतको नयाँदिल्लीको प्राचीन र कलात्मक वातावरणले घेरिएको ‘ललितकला एकेडेमी’ को प्रदर्शनी कक्षमा हाम्रो पहिलो भेट भएको थियो।

त्यो कक्ष चित्रहरूको प्रदर्शनी स्थल मात्र थिएन; त्यो विचार, विमर्श र सिर्जनात्मक संवादको जीवित मञ्च बनेको थियो। क्यानभासमा रङहरू जति कलात्मक थिए, त्यति नै गम्भीर बनिरहेका हुन्थे– त्यहाँ भइरहेका बहसहरू। नेपाली चित्रकलाको स्वरूप, यसको अन्तर्राष्ट्रिय सम्भावना र समालोचनात्मक दृष्टिकोणबारे भइरहेका गम्भीर कुराकानीहरू आज पनि मेरो चेतनामा जीवित छन्।

तिनताक ‘अल इण्डिया रेडियो’ नसुन्ने नेपाली कमै थिए होलान्। अझ भारतीय सेनामा कार्यरत नेपालीका परिवारहरूका घर-घरमा काठको पुरानो ‘पानासोनिक रेडियो’ झुन्ड्याएर राखिएको हुन्थ्यो। त्यो रेडियो अहोरात्र बजिरहन्थ्यो। खासगरी घरपरिवारमा सञ्चोविसञ्चो खबर भन्न भर्तीवालहरू ‘अल इण्डिया रेडियो’ मा बोल्थे। र, त्यो आवाज गाउँभरिका मान्छे खुब चाख मानेर सुन्थे।

यसबाहेक फर्मायसी गीत र नेपाली कार्यक्रम सुन्न उत्सुक स्रोतामध्ये म पनि पर्थें। विदेशी भूमिबाट नेपाली भाषामा बोलेको कुरा सुन्न पाउनु निकै गर्व र खुसीको कुरा हुन्थ्यो। तिनै स्वरमा यसरी कुनै व्यक्ति रेडियोमा बोलेरै जिन्दगी बिताउनु र लाखौँ शुभचिन्तक आफन्त कमाउनु सामान्य कुरा होइन, हुन सक्दैन।

त्यही परिवेशमा ‘अल इण्डिया रेडियो’ का लागि उहाँले नेपाली कलाकारहरूसँग अन्तर्वार्ता रेकर्ड गर्नुभयो। मसँग नेपाली कला र कलासमीक्षाको विषयमा लिनुभएको अन्तर्वार्ता मेरो जीवनको एक महत्त्वपूर्ण मोड थियो। उहाँका प्रश्नहरू औपचारिक जिज्ञासा थिएनन्; ती प्रश्नहरू बौद्धिक चुनौती थिए, जसले मलाई आफ्नै विचारभित्र पसाएर उत्तर खोज्न बाध्य बनायो। म उत्तर दिँदै गर्दा मलाई लाग्थ्यो– यो संवाद दुई व्यक्तिबिच होइन, समय र सिर्जनाबिचको संवाद हो।

पछि थाहा भयो, त्यो मेरो अन्तर्वार्ता ‘अल इण्डिया रेडियो’ बाट प्रसारित भएको रहेछ। मैले आफ्नै स्वर रेडियोमा सुन्न पाइनँ, तर कवि मणि लोहनीले “अल इण्डिया रेडियोमा दाजु तपाईंको अन्तर्वार्ता मैले तपाईंकै जिल्लाको उकालो चढिरहँदा सुनें” भनेर सुनाउँदा, त्यो मेरा लागि क्षण झन् जीवन्त बनेर फर्किरह्यो। नसुनेको स्वर पनि कहिलेकाहीँ स्मृतिमा सबैभन्दा स्पष्ट सुनिन्छ– सायद त्यो भावनाको प्रतिध्वनि भएर होला कि!

आज, तीन दशकपछि, हामी फेरि आमनेसामने बस्दा कुराकानीको सुरुवात औपचारिक थियो, तर केही क्षणमै समयको दूरी गल्दै गयो। हामीले पुराना दिनहरू साटासाट गर्यौँ, ती हाँसोहरू सम्झियौँ, ती बहसहरू दोहोर्यायौँ। जीवनले आ–आफ्नो बाटोमा कति घुम्ती पार गरिसकेछ, तर त्यो पहिलो भेटले बनाएको सम्बन्धको जग अझै मजबुत रहेछ भन्ने अनुभूति भयो।

आदरणीय पी.पी. उपाध्यायले अल इण्डिया रेडियो, नयाँदिल्लीमा अनुवादक र उद्घोषकका रूपमा ४२ वर्ष लामो सेवा पुर्याउनुभएको छ। लामो समयसम्म एउटै संस्थामा समर्पित रहनु पेसागत समर्पणको उपलब्धि हो। साथै त्यो अनुशासन, निष्ठा र साहित्य–संस्कृतिप्रतिको अटुट प्रतिबद्धताको प्रमाण पनि हो। उहाँको स्वरले वर्षौँसम्म सिमाना नाघेर लाखौँ श्रोताका मनमा नेपाली भाषा र संवेदनाको सेतु निर्माण गरिरह्यो।

आज पनि उहाँका स्रोताहरू ती दिनको सम्झना गरिरहेको मैले धेरै ठाउँमा सुनेको छु। तीन दशकपछि ताजा भएको सम्झनाले मलाई फेरि ती सुन्दर दिनका क्षणहरू सम्झायो। वास्तवमा समयले दूरी त बढाउँछ, तर साँचो भेट र साँचो संवाद कहिल्यै पुरानो हुँदैन रहेछ। स्मृति कहिलेकाहीँ पुरानो तस्बिर जस्तै धमिलो र रङहीन लागे तापनि त्यसमा जोडिएको नाता र सुगन्ध भने उस्तै ताजा रहिरहेको हुँदो रहेछ। आज, त्यो सुगन्धले मेरो मन फेरि एकपटक रङ, शब्द र स्वरको उज्यालो संसारमा हलक्क हुर्काइदिएको छ।

उहाँसँगको भेट र भलाकुसारीलाई म यही अध्यायका रूपमा स्मरण गरिरहन्छु। तीन दशकपछि पुनः ताजा र नवीकरण भएको सम्झनाले वातावरण नै सुगन्धित भएको आभास हुन्छ। समयको दूरीले मान्छेलाई टाढा पुर्याए पनि आत्मीयताको डोरी कहिल्यै चुडिँदैन रहेछ। उहाँले अवकाश लिनुभएको पनि २२ वर्ष बितिसकेको छ। तर भेट हुँदा मैले महसुस गरेको स्नेह र हार्दिकता समयले निभाउन नसकेको एउटा उज्यालो दीपझैँ लाग्यो।

आदरणीय पी.पी. उपाध्याय म कार्यरत रहेको कार्यालयसम्म आइपुगेर देखाउनुभएको विनम्रता औपचारिक शिष्टाचार थिएन; त्यो त सम्बन्धप्रतिको सम्मान र आत्मीयताको परिचायक पनि थियो। त्यस भेटको अवसरमा औकातअनुसारको सौगात स्वरूप मेरो निबन्ध कृति ‘अर्धकदको अवसान’ उहाँको हातमा अर्पण गर्न पाएँ। उहाँले पनि आफूले जीवनमा भोगेका अनुभवहरूको सँगालो ‘रेडियो जिन्दगी’ मलाई स–प्रेमोपहार प्रदान गर्नुभयो। अग्रज र अनुज पुस्ताका दुई शब्दकर्मीका लागि यो अर्को सुनौलो क्षण भयो।

मलाई लाग्यो– उहाँको उपस्थितिले मेरो कार्यकक्षको वातावरण नै परिवर्तन भएको छ। जस्तो कि कुनै पुरानो गीत फेरि एकपटक बज्न थालेको होस्, जसले विगतका मधुर क्षणहरूलाई धुनहरूका माध्यमबाट वर्तमानसँग गाँसिदियोस्। उहाँको मुस्कानमा वर्षौँको अनुभव थियो, तर त्यसभित्र लुकेको सरलता बालकको जस्तै निर्मल लाग्थ्यो। उहाँले मलाई देखाउनुभएको माया र सद्भावले मेरो मनमा गहिरो छाप छोडेको छ। कृतज्ञता शब्दले मात्र व्यक्त गर्न नसकिने त्यो भाव, मभित्र आज पनि तरङ्गित भइरहेको छ।

उहाँका चार दशकभन्दा लामो प्रसारण–यात्राका अनुभवहरू २०७१ सालमा ‘रेडियो जिन्दगी’ नामक कृतिमा समेटिएका छन्। ‘रेडियो जिन्दगी’ संस्मरणहरूको सङ्ग्रह हो। आवाज, शब्द र समयको दस्तावेज हो। त्यहाँ रेडियोको पर्दा पछाडिका कथाहरू छन्, अनुवादकको धैर्य छ, उद्घोषकको संवेदना छ र साहित्य–संस्कृतिप्रतिको अटुट समर्पण छ। उहाँले बिताएका ती स्मृतिका पानाहरू पल्टाउँदा लाग्छ– उहाँले बिताएका वर्षहरू सेवा–अवधिसँगै युगका साक्षी पनि हुन्। अवकाशपछिको जीवन उहाँले आफ्नै जन्मभूमिमा व्यतीत गर्दै आउनुभएको छ। यता आएपछि फुटकर लेखनमा उहाँ निकै सक्रिय रहनुभयो। राजनीतिक विश्लेषण र समीक्षात्मक टिप्पणीमा निकै व्यस्त रहनुभयो।

जीवनमा कहिलेकाहीँ यस्ता भेटहरू आउँछन्, जसले थाकेको मनलाई नयाँ ऊर्जा दिन्छन्। आदरणीय पी.पी. उपाध्याय जस्ता दिग्गज व्यक्तित्वसँगको यो भेट मेरो लागि त्यस्तै प्रेरणादायी क्षण बन्यो। उहाँको हार्दिकता, विनम्रता र कलाप्रतिको अटुट निष्ठाले मलाई अझै धेरै सिर्जना गर्न, अझै धेरै सिक्न र अझै धेरै बाँड्न प्रेरित गरिरहनेछ।

तीन दशकपछि ताजा भएको सम्झनाको सुगन्ध अब स्मृतिमा सीमित छैन; त्यो मेरो वर्तमानमा मिसिएको छ। र, त्यो भविष्यतर्फ डोर्याउने उज्यालो विश्वास बनेको छ। समय बगिरहन्छ, तर केही नयाँ भेटहरू जीवनको पुराना दिनहरू सम्झना गराउँदै स्थायी हस्ताक्षर बनेर रहिरहन्छन्।

Explore by Source or Category