Taksar News
एमाले घोषणापत्र: आधुनिक कृषि उद्यम र सहुलियतसँगै अर्गानिक उत्पादनको ‘हब’ बनाउने लक्ष्य
काठमाडाैँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा आधुनिक खेती र कृषि उद्यमशीलतालाई प्राथमिकता दिइएको छ।
आज सार्वजनिक गरेकाे घोषणापत्रअनुसार कृषिमा रोजगारी सिर्जना गर्ने र पर्याप्त आम्दानी सुनिश्चित गर्ने उद्देश्यले परम्परागत कृषि संरचनालाई आधुनिक व्यवसायमा रूपान्तरण गरिनेछ।
पार्टीका अनुसार कृषि क्षेत्रको आधारभूत ढाँचामा नीतिगत र कानुनी सुधार गरी आधुनिक मेसिन, उपकरण र प्रविधिको प्रयोग गर्ने उद्यमशील युवाहरूले सञ्चालन गर्ने नाफामूलक उद्योगको विकास गरिनेछ।
मझौला र ठूला स्केलका खेती तथा पशुपन्छी, मत्स्य र मौरी पालन गर्ने कृषि उद्यमीहरूलाई सहुलियत ऋण, बिमा सुविधा र सार्वजनिक जग्गा सहुलियत दरमा लिज उपलब्ध गराइनेछ।
साथै भूमि, वित्तीय स्रोत र साधन, कृषि उपजको समर्थन मूल्य, बिमा र अग्रिम खरिद सम्झौतासहितको व्यावसायिक इकोसिस्टम निर्माण गरिने घोषणापत्रमा उल्लेख छ।
जैविक मल, रोगकिरा नियन्त्रण, रैथाने बीउको संरक्षण र प्रवर्धन गरी सामुदायिक बीउ बैङ्क स्थापना गर्ने, नश्ल सुधारको अनुसन्धान र कार्यान्वयन गर्ने योजना पनि समावेश गरिएको छ।
कृषि प्राविधिकलाई गाउँगाउँसम्म पुर्याउने व्यवस्था गर्दै आधारभूत तहदेखि कृषि शिक्षा उपलब्ध गराइने, प्रत्येक वडामा कम्तीमा एक अगुवा किसान स्वयंसेवक परिचालन गरिने योजना छ। यसले कृषि अनुसन्धान, शिक्षा र प्रसारबिचको सम्बन्धलाई प्रभावकारी बनाउने दाबी गरिएकाे छ ।
उत्पादनका फर्महरूका लागि सिंचाइ पूर्वाधार निर्माण, सडक जडान, विद्युत आपूर्ति र गुणस्तरीय मल समयमै उपलब्ध गराउने व्यवस्था गरिनेछ।
कृषि उपज सङ्कलन, भण्डारण, ग्रेडिङ, प्रोसेसिङ र मूल्य अभिवृद्धि गर्दै बजारसम्मको नेटवर्क तयार गरिने, साथै स्थानीय तहमार्फत् ‘एग्रो प्रोसेसिङ जोन तथा लजिस्टिक्स नोड्स’ सञ्चालनका लागि पूर्वाधार सेवा उपलब्ध गराइनेछ।
नेपाललाई अर्गानिक उत्पादनको ‘हब’ बनाउने उद्देश्यसहित, सार्वजनिक जमिन सहुलियत दरमा उपलब्ध गराउने, माटो परीक्षण निःशुल्क गर्ने, सर्टिफिकेशन, ब्राण्डिङ र विदेशी बजारमा निर्यातका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउने योजना रहेको छ।
उच्च मूल्यका तरकारी, फलफूल, मसला, जडिबुटी, चिया, कफी र बिउ उत्पादन गरी निर्यात गर्ने कृषि उद्यमीहरूलाई उत्पादनमा आधारित निर्यात अनुदान उपलब्ध गराइने जनाइएकाे छ ।
दूध, अण्डा, माछा र मासु उत्पादनमा आत्मनिर्भरता र गुणस्तर सुधारमा जोड दिँदै आधुनिक प्रविधिमा पशुपालन, पशुपन्छी , मत्स्य पालन र मौरी पालन गर्ने उद्यमीहरूलाई पूर्वाधार निर्माणमा अनुदान उपलब्ध गराइने घाेषणा गरिएकाे छ ।