राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
शुक्रवार रिलिज तीनवटै चलचित्रको प्रदर्शन ५ दिनमै स्थगित
काठमाडौ । शुक्रवार १ फागुनबाट प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो ः द होम कलिङ’, र ‘शिवांश ः च्याप्टर १’ रिलिज भएको छैटौँ दिन बुधवार एकसाथ चलचित्र घरबाट हटाइएको छ । यी तीन वटै चलचित्रको निर्माण संस्थाले मंगलवार बेलुका आफ्नो तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आ आफ्नो चलचित्रको प्रदर्शन बुधवारबाट नेपालमा स्थगित गरिएको जानकारी गराए । यी तीन वटै चलचित्र फेरी अर्को मितिमा रिलिज गर्ने घोषणा पनि उनीहरूले विज्ञप्ति मार्फत गरेका छन् ।
यो साता शुक्रवार प्रणय दिवस, शनिवार महाशिव रात्रि र बुधवार ग्याल्पो ल्होसार परेको थियो । तीन वटा पर्व एक साता भित्र परेका कारण यो साता नेपाली चलचित्रले राम्रो व्यापार गर्ने विश्वास निर्माताहरूको थियो । बिगतमा यति बेला चलचित्रको राम्रो व्यापार हुन्थ्यो । सोही कारण एक साथ तीन वटा नेपाली चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो ः द होम कलिङ’, र ‘शिवांश ः च्याप्टर १’ एक साथ शुक्रवार रिलिज गरिएको हो ।
तर रिलिज भएको पहिलो दिनबाटै तीन वटै चलचित्रको व्यापार नाजुक अवस्थामा थियो । यी तीन मध्य चलचित्र ‘शिवांश ः च्याप्टर १’ को त १० प्रतिशत पनि दर्शकहरू हलमा थिएनन् । बिदाको दिन शनिवार समेत यो चलचित्र कतै पनि हाउस फुल हुन सकेको थिएन । अर्को चलचित्र ‘श्री बुकुरो ः द होम कलिङ’को अवस्था पनि त्यत्तिकै नाजुक थियो । यी दुई चलचित्र भन्दा व्यापारमा केही राम्रो भएको चलचित्र ‘बिगुल’को पनि सोचे अनुसारको व्यापार थिएन ।

यसरी बक्स अफिसमा आफ्नो चलचित्रले राम्रो व्यापार नगरेपछि सुरुमा मंगलवार बेलुका चलचित्र बिगुलका निर्माता दिनेश कोइरालाले आफ्नो कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै चलचित्र ‘बिगुल’को बुधवार ६ फागुनबाट नेपालमा प्रदर्शनी स्थगित गरिएको घोषणा गरे ।
निर्वाचन र विश्वकप क्रिकेटको माहौलका कारण नेपाली चलचित्रको व्यापार प्रभावित भइरहेका भन्दै ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको उनले विज्ञप्ति मार्फत जनाए । अर्को सूचना न आउँदासम्मका लागि यसको प्रदर्शनी रोकिने निर्णय गरिएको निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले विज्ञप्ति मार्फत जनायो । हुन पनि हलमा दर्शकको उपस्थिति उल्लेख्य रूपमा घटेपछि निर्माण पक्षले प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
निर्माता दिनेश कोइरालाका अनुसार चलचित्र ‘बिगुल’को नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिनेछ । यस निर्णयबाट दर्शक, वितरक तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति निर्माण टिमले क्षमा याचना गरेको विज्ञप्तिमा उल्लेख छ ।
चलचित्र ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको मुख्य भूमिका छ । समसामयिक राजनीतिक विषयमा आधारित यो चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
यसरी ‘बिगुल’को बुधवारबाट प्रदर्शनी स्थगित गरिएको विज्ञप्ति मंगलवार साँझ आएपछि लगत्तै चलचित्र ‘श्री बुकुरो ः द होम कलिङ’को वितरण कम्पनी नेशनल सिने ग्रुपले मंगलवार बेलुका एक विज्ञप्ति मार्फत यो चलचित्रको प्रदर्शन बुधवारबाट स्थगित गरिएको जनायो । अर्को चलचित्र ‘शिवांश ः च्याप्टर–१’को भने अवेर साँझ विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित गरिएको जनाइएको हो ।
‘श्री बुकुरो’को वितरक संस्थाले नयाँ प्रदर्शन मितिको रूपमा वैशाख १८ गतेलाई फाइनल गरिएको समेत जानकारी दिएको छ । आउँदो मितिमा अहिले देखिएका कमी कमजोरीलाई सुधार गर्दै व्यापक प्रचार प्रसार सहित चलचित्रलाई रिलिज गरिने पनि जानकारी गराइएको छ ।
आफ्नो चलचित्रको प्रदर्शनी स्थगित गरिएसँगै यसका निर्देशक सुदिप भूपाल सिंहले लेखेका छन्, ‘आधुनिक समाजको उन्नत व्यवस्था हो, चुनाव । नेताले जित्ने वा हार्ने चुनाव होइन, जनताले चुन्ने चुनावको शुभकामना छ । चुनाव सरेन, हामी स¥यौ र अब भेट वैशाख १८ मा श्री बुकुरो ः द होम कलिङसँग ।’
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह सिनेमाकी निर्मात्री हुन् ।चलचित्रका गीतमा वसन्त र रञ्जित गजमेरले संगीत रहेको छ ।
यस्तै अञ्जन सिनेमा प्रा.लि.का अध्यक्ष अञ्जन केसीलेले एक विज्ञप्ति जारी गरेर चलचित्र प्रदर्शनको लागि प्राइम टाइम नपाएको र निर्वाचनका कारण दर्शकको चलचित्र घरमा उपस्थित न्यून रहेको भन्दै ‘शिवांस ः च्याप्टर–१’को बुधवार ६ फागुनबाट चलचित्र घरमा प्रदर्शन स्थगित गरिएको जनाएका छन् । बाँकी दुई चलचित्र जस्तै यो चलचित्रलाई पनि आगामी समय अझ राम्रो प्रचार प्रसार गरेर पुन रिलिज गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो चलचित्रमा तेज गिरी, प्रवीण खतिवडा, विकास जोशीलगायतको मुख्य भूमिका रहेको छ । निर्माता केसीले चलचित्र प्रदर्शन स्थगित गर्नु परेकोमा दर्शकसँग विज्ञप्ति मार्फत माफी मागेका छन् ।
यी तीन चलचित्र यति बेला उत्रिए पनि यस अघि रिलिज भएका तीन नेपाली चलचित्र ‘आ बाट आमा’, ‘रमिताको पिरती’ र ‘कुमारी’ भने चलचित्र घरमा नियमित रुपमा प्रदर्शन भइरहेको यी चलचित्रका निर्माताहरुले जनाएका छन् । ‘आ बाट आमा’ले भने यति बेला सर्वाधिक राम्रो व्यापार गरिरहेको छ ।
The post शुक्रवार रिलिज तीनवटै चलचित्रको प्रदर्शन ५ दिनमै स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....