npl.977 Nepal News Stream

#अर्थ

Contents
News of Nepal logo News of Nepal

टियागो इभी एक्सचेन्ज क्याम्प सार्वजनिक

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ नामक एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टियागो इभी खरिद गर्न सक्नेछन् । अप्रिल १७, १८, १९ र २०, २०२६ सम्म देशभर सञ्चालन हुने यस क्याम्पेनमा जुनसुकै ब्रान्डका दुईपाङ्ग्रे सवारी प्रयोगकर्ताले एक्सचेन्ज सुविधा प्राप्त गर्नेछन् ।

यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी घर लैजान सक्नेछन् । साथै पुराना सवारीको राम्रो मूल्याङ्कन, नगद छुट, निःशुल्क एक्सेसरिज, एक वर्षको सवारी कर छुट, सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा उपलब्ध गराइनेछ । क्याम्पेन अन्तर्गत एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आइफोन १७ प्रो म्याक्स जित्ने अवसर पनि पाउनेछन्। सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

News of Nepal logo News of Nepal

ललितपुरमा विद्युतीय फोहोर गाडीको सुरुवात

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ
ललितपुर महानगरपालिकालाई फोहोर संकलनका लागि ११ थान फोटोन टिएम१ विद्युतीय गाडी हस्तान्तरण गरिएको छ, जुन नेपालमै पहिलो पटक शहरी फोहोर व्यवस्थापनमा इलेक्ट्रिक गाडी प्रयोग गरिएको उदाहरण हो ।

नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शहरको आवश्यकता अनुसार कस्टमाइज गरिएका यी वेस्ट कलेक्सन भेहिकल उपलब्ध गराएको हो । सामान्य बजारमा पाइने गाडीभन्दा फरक, यी सवारीहरू फोहोर संकलनका लागि विशेष रूपमा तयार गरिएका छन् ।

यसबाट फोहोर व्यवस्थापन कार्य थप प्रभावकारी बनेको छ भने तीनजनाको टोलीलाई घटाएर दुईजनामा सीमित गर्न सम्भव भएको छ। साथै, यसले महिलाहरूका लागि रोजगारीका अवसर पनि सिर्जना गरेको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले प्रदूषणमुक्त शहरको लक्ष्यअनुसार पेट्रोल–डिजेलरहित विकल्प खोजिरहेको अवस्थामा फोटोनले समाधान दिएको बताउनुभयो । एमएडब्लू वृद्धि कमर्शियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत अनिल बरालले विद्युतीय फोहोर व्यवस्थापनको अवधारणा व्यवहारमा उतार्न पाउँदा खुशी व्यक्त गर्दै स्वच्छ नेपाल निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।

देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी सीसीएस२ डीसी फास्ट चार्जिङ स्टेसनसहितको सञ्जालले फोटोनको विद्युतीय सवारी प्रणालीलाई थप मजबुत बनाएको छ । ललितपुरमा सुरु भएको यो पहलले विद्युतीय व्यावसायिक सवारीसाधन अहिले नै प्रयोगयोग्य र प्रभावकारी समाधान भएको पुष्टि गरेको छ ।

News of Nepal logo News of Nepal

एनटर्क स्कुटरको सफलताः शिवपुरीसम्म सेलिब्रेसन राइड

न्युज अफ नेपाल 11 hours ago

काठमाडौँ
टिभिएस मोटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटरका प्रयोगकर्ता संख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ ।

नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको एनटर्कले यस ऐतिहासिक उपलब्धि पार गरेको हो । सो अवसरमा जगदम्बा मोटर्सले एनटर्क ओनर्स ग्रुप (एनओजी) राइड आयोजना गरेको थियो, जुन टिभिएसको नक्साल सोरुमबाट सुरु भई शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्टमा सम्पन्न भयो । राइडमा ५० भन्दा बढी ग्राहक, २० भन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा सञ्चारकर्मी गरी ७० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रम केवल यात्रा मात्र नभई एनटर्क प्रेमीहरूको सामुदायिक उत्सवका रूपमा मनाइएको थियो । सहभागीहरूले सुरक्षित र सामूहिक राइडिङ सम्बन्धी तालिम लिनुका साथै आफ्ना अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा विभिन्न खेल तथा गतिविधि आयोजना गरी विजेताहरूलाई आकर्षक उपहार र सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले १ लाख ५० हजार चालकको साथ पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताउँदै ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य व्यक्त गरे। उत्कृष्ट कार्यक्षमता, स्टाइल र आधुनिक प्रविधिका कारण परिचित एनटर्क स्कुटर नेपाली युवामाझ पहिलो रोजाइ बन्दै गएको कम्पनीले जनाएको छ ।

NepalWatch logo NepalWatch

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

Nepal Watch 19 hours ago

राँझा (बाँके) । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए।

उनका अनुसार, जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा बसन्ते मकैखेती भइरहेको छ । राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर र खजुरामा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टरमा व्यावसायिक रुपमै बसन्ते मकैखेती भइरहेको छ । डुडुवा र नेपालगञ्जका किसानले पनि खेती सुरु गरेका छन् ।

 

“बसन्ते मकै उत्पादन हुनासाथ दाना उद्योगले खेतबाटै उठाउने भएकोले बिक्रीमा समस्या छैन, किसानले नगदे बालीका रुपमा यसलाई उपयोग गर्न थालेका छन्”, सूचना अधिकारी पाठकले भने, “कृषि ज्ञान केन्द्रले सिञ्चत क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत बसन्ते मकैखेती गर्ने किसानलाई बीउ र प्राविधिक सहयोग गरिरहेको छ, यसमा किसानको आकर्षण बढ्दै गएको छ ।”

कृषि ज्ञान केन्द्रले बसन्ते मकैखेती गर्ने किसानलाई मकै छोडाउने यन्त्र, फौजी किरा नष्ट गर्न सुरक्षित विषादी प्रयोगलगायतका तालिम दिँदै आएको पाठकले बताए । किसानले उत्पादन क्षमता बढी भएको भारतीय बीउ प्रयोग गर्दै आएका छन् ।

कम मेहनत र लगानीबाट राम्रो मुनाफा हुने भएकाले यसतर्फ धेरै किसान आकर्षित भएको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए।

“मकैखेती वर्षमा तीन पटकसम्म गर्न सकिने भएकाले अन्य बालीभन्दा बढी आयआर्जन गर्न सकिन्छ । यसमा पानी कम लाग्छ, रोग–कीरा कम लाग्छ र दैनिक धेरै मिहिनेत पनि आवश्यक पर्दैन”, वलीले भने, “मकैको डाँठ पशु चौपायाका लागि घाँसमा खपत हुने भएकाले दोहोरो रूपमा उपयोग गर्न सकिन्छ, कम जोखिम, राम्रो आम्दानी र दिगो सम्भावनाले मकैखेती बाँकेका किसानहरूको रोजाइ बन्दै गएको छ ।”

किसानको सहजताको लागि सहकारीले बसन्ते मकैखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रको सहयोग तथा समन्वयमा बीउ, यन्त्र र प्राविधिक सहयोग तथा बजारीकरणको लागि काम गरिरहेको उहाँको भनाइ छ ।

NepalWatch logo NepalWatch

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

Nepal Watch 19 hours ago

जुम्ला । जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् ।

यहाँ उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ बगैँचामा फूल फुलेर सेताम्मे

हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका–५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । “बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत–वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ”, उनले भने ।

शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर तीन हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ ।

हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका–१ का किसान सरिता रावतले बताईन् ।

Explore by Source or Category