npl.977 Nepal News Stream

#अन्तर्राष्ट्रिय

Contents
KHASOKHAS logo KHASOKHAS

क्यानडाद्वारा सीपयुक्त जनशक्ति भित्र्याउने उद्देश्यसहित नयाँ आप्रवासन प्राथमिकता श्रेणीहरू सार्वजनिक

सुरज घिमिरे 8 hours ago

क्यानडाले अनुसन्धान, स्वास्थ्य सेवा, उड्डयन लगायतका क्षेत्रमा सीपयुक्त जनशक्ति भित्र्याउने उद्देश्यसहित नयाँ आप्रवासन प्राथमिकता श्रेणीहरू सार्वजनिक गरेको छ। साथै, केही उच्च दक्षता भएका विदेशी सैनिक आवेदकहरूलाई पनि नयाँ प्रणालीअन्तर्गत समावेश गरिने जनाइएको छ।

प्रधानमन्त्री मार्क कार्नीको नीतिअनुसार क्यानडाले समग्रमा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरूको संख्या घटाउँदै आवश्यक सीपयुक्त जनशक्ति र अनुसन्धानकर्तालाई प्राथमिकतामा राख्ने रणनीति अघि सारेको हो। सरकारका अनुसार यस कदमले रक्षा क्षमता अभिवृद्धि गर्दै अमेरिकामाथिको निर्भरता घटाउन मद्दत गर्नेछ।

क्यानडाकी आप्रवासन मन्त्री लीना मेटलेज डियाबले सन् २०२६ देखि लागू एक्सप्रेस एन्ट्री प्रणालीको सुधारले महत्वपूर्ण क्षेत्रमा देखिएको श्रमिक अभाव पूर्ति गर्न “पहिलो दिनदेखि नै योगदान दिन सक्ने” प्रतिभालाई आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।

नयाँ प्राथमिकता श्रेणीमा अनुसन्धानकर्ता, वरिष्ठ व्यवस्थापक, पाइलट तथा विमान मर्मत प्राविधिक, क्यानडामा अनुभव हासिल गरेका विदेशी चिकित्सकहरू समावेश छन्। यसैगरी, क्यानेडियन सशस्त्र बलद्वारा भर्ना गरिने सैनिक चिकित्सक, नर्स तथा पाइलटजस्ता उच्च दक्षता भएका विदेशी सैन्य आवेदकहरूलाई पनि अवसर प्रदान गरिनेछ।

प्रधानमन्त्री कार्नीले हालै सार्वजनिक गरेको रक्षा रणनीतिअनुसार आगामी दशकमा रक्षा अनुसन्धान तथा विकासमा सरकारी लगानी ८५ प्रतिशतले वृद्धि गर्ने, रक्षा उद्योगको आम्दानी २४० प्रतिशतभन्दा बढीले बढाउने, रक्षा निर्यात ५० प्रतिशतले विस्तार गर्ने तथा १ लाख २५ हजारसम्म नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

अन्य नेटो सदस्य राष्ट्रहरूझैं क्यानडाले सन् २०३५ सम्ममा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारका अनुसार फ्रेन्च भाषा बोल्ने स्वास्थ्यकर्मी तथा दक्ष प्राविधिकहरूका लागि विद्यमान एक्सप्रेस एन्ट्री आमन्त्रण प्रक्रिया भने यथावत् जारी रहनेछ।

Sutra News logo Sutra News

पेरूमा महाअभियाेगबाट राष्ट्रपति बर्खास्त

सुत्र न्युज 18 hours ago

काठमाडाैं । पेरूका राष्ट्रपति जाेसे‍ ज‍ेरीलाई महाअभियाेग लगाएर बर्खास्त गरिएकाे छ । पेरूकाे संसदले महाअभियाेग प्रस्ताव पारित गरेर अन्तरिम राष्ट्रपति जेरीलाई बर्खास्त गरेकाे हाे । संसदमा भएकाे मतविभाजनमा महाअभियाेगकाे प्रस्तावकाे पक्षमा बहुमत सांसदले मत दिएसँगै उनी पदमुक्त भएका हुन्।

सांसदहरूले जेरीविरुद्ध ‘नैतिक अयोग्यता’सम्बन्धी संवैधानिक प्रावधान प्रयोग गर्दै निर्णय गरेका थिए। उनीमाथि विदेशी व्यवसायीहरूसँग गोप्य भेटघाट गरेको तथा सरकारी प्रक्रियामा पारदर्शिता नदेखाएको आरोप लागेको थियो।

जेरीले भने सबै आरोप अस्वीकार गर्दै ती भेटघाट औपचारिक तथा गैरराजनीतिक प्रकृतिका भएको दाबी गरेका छन्।

जेरी पदमुक्त भएपछि संसदले जाेसे मारिया बाल्काजारलाई नयाँ अन्तरिम राष्ट्रपतिका रूपमा चयन गरेको छ। उनले आगामी आम निर्वाचन सम्पन्न नभएसम्म देशको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।

दशकौंदेखि राजनीतिक अस्थिरता

पेरु पछिल्लो एक दशकदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ। सन् २०१६ यता देशमा बारम्बार राष्ट्रपति परिवर्तन भएका छन्।

सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्राे कास्टिलाेलाई संसदले पदमुक्त गरेको थियो। त्यसपछि सत्तामा आएकी डिना बाेलुआर्टे पनि तीव्र विरोध र राजनीतिक दबाबका कारण पदबाट हटाइएकी थिइन्।

पेरुको संविधानमा रहेको ‘स्थायी नैतिक अयोग्यता’सम्बन्धी प्रावधानले संसदलाई राष्ट्रपतिलाई पदमुक्त गर्ने व्यापक अधिकार दिएको छ। यस प्रावधानका कारण कार्यपालिका र विधायिकाबीच पटक–पटक टकराव हुने गरेको छ।

देशमा आगामी अप्रिल १२, २०२६ मा आम निर्वाचन तय गरिएको छ। नयाँ अन्तरिम सरकारले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी वहन गर्नेछ। आगामी चुनावले स्थिर र व्यापक जनसमर्थन प्राप्त नेतृत्व दिन नसके पेरुमा राजनीतिक अस्थिरताको चक्र अझै जारी रहने विश्लेषण गरिएको छ।

Taksar News logo Taksar News

एकहप्ताभित्र इरानमा आक्रमण गर्नसक्ने अमेरिकाको चेतावनी,आक्रमणको दुई शैलीमा छलफल

टक्सार न्युज 19 hours ago

काठमाडौँ । अमेरिकाले एकहप्ता भित्र इरानमाथि आक्रमण गर्नसक्ने धम्की दिएको छ । इरानसँग दोस्रो चरणको आणविक वार्तापछि अमेरिकाले आक्रमणको धम्की दिएको हो ।

अमेरिकी सेनाले आफ्नो तयारी पुरा भएको जनाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्तिम निर्णय गर्न बाँकी छ ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार सैन्य कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय दिन बाँकी छ ।

अमेरिकाले पछिल्ला केही दिनमा मध्यपूर्वमा ठुलो सङ्ख्यामा हवाई तथा नौसैनिक तैनाथ गरेको छ ।

सिएनएनले स्रोतलाई उल्लेख गरेर लेखेको समाचारअनुसार ट्रम्पले सैन्य कारबाही गर्ने र नगर्ने दुवै तर्क गरेका छन् र विकल्प के हुन सक्छ भन्ने बारे आफ्ना सल्लाहकार र सहयोगीहरूसँग परामर्श लिएका छन् ।

द वालस्ट्रिट जर्नलका अनुसार अमेरिकाले सन् २००३ को इराक आक्रमणपछि मध्यपूर्वमा सबैभन्दा ठुलो हवाई शक्तिको तैनाथ गरेको छ । अमेरिकाले इरानी राजनीतिक तथा सैन्य नेताहरू, साथै आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्रलाई लक्षित गर्ने विभिन्न विकल्पबारे छलफल गरिरहेको छ ।

अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई आक्रमणको विभिन्न ढाँचाबारे सुझाव दिएका छन् ।

बिकल्पहरूमा इरानी नेतृत्वको ठुलो सङ्ख्यालाई मारेर इरानी सरकारी नियन्त्रण ध्वस्त पार्ने वा आवणिक तथा क्षेप्यास्त्र सम्बन्धी संरचनाहरूलाई मात्रै लक्षित गरेर हवाई आक्रमण गर्ने भन्ने विषयमा अमेरिकी नेतृत्व छलफलमा रहेको द वालस्ट्रिट जर्नलको समाचारमा उल्लेख छ ।

अमेरिकाले सैनिक तयारीमा एफ‑३५ र एफ‑२२ लडाकु विमान, थप कमान्ड‑एन्ड‑कन्ट्रोल विमानहरू, व्यवस्थित हवाई प्रतिरक्षा प्रणाली, विमानवाहक पोत तैनाथी गरेको छ । यी सबै स्रोत साधनले हप्तौँसम्म लडाइँ सञ्चालन गर्न सकिन्छ । रिपोर्टका अनुसार सम्भावित योजना हेर्दा हप्तौँसम्म लामो सैन्य कारबाही सञ्चालन हुन सक्छ ।

युद्धको तयारी चलिरहँदा दुबै देश वार्तामा समेत छन् । खासगरी अमेरिकाले इरानलाई आणविक हतियारमा रोक्न चाहन्छ ।

वार्ताकै क्रममा अमेरिकाले ठुलो सैन्य तैनाथी र धम्की जारी राखेको छ । दुईदेशका प्रतिनिधिबिच मङ्गलबार जेनेभामा अनौपचारिक वार्ता भएको थियो । तीन घन्टासम्म चलेको वार्ताका क्रममा कुनै निष्कर्ष निस्किएको थिएन ।

इरानका शीर्ष वार्ताकारले दुवै पक्ष एक हदसम्म मार्गदर्शक सिद्धान्तमा सहमत भएको बताएका छन् तर अमेरिकी अधिकारीले भने अझै धेरै विषयमा छलफल गर्न बाँकी रहेको बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा भएको अनौपचारिक वार्तामा उल्लेखनीय प्रगति नभएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार भनेकी छन्,“इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गर्नु धेरै बुद्धिमानी हुनेछ ।”

सम्झौता नभए अमेरिका आक्रमणको तयारीमा लागेको देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Explore by Source or Category