npl.977 Nepal News Stream

#parametircinsurancenews

Insurance Khabar logo Insurance Khabar

मौसमी सूचकांकमा आधारित बीमालेखको कस्ता छन् विशेषता ? किसानलाई कसरी हुन्छ फाइदा ?

केशवप्रसाद भण्डारी 12 hours ago

काठमाडौं । नेपालमा मौसमी सूचकांकमा आधारित बीमालेख प्रचलनमा ल्याइएको ५ वर्ष पछि नियामक नेपाल बीमा प्राधिकरणले यस सम्बन्धित बीमालेख निर्देशिका जारी गरेको छ।

नेपालमा सन् २०१६ मेदेखि पहिलोपटक कर्णालीको जुम्ला जिल्लामा स्याउखेती बीमाबाट यो बीमा प्रचलनमा ल्याइएको हो। त्यसपछि जोमसोम र मुस्ताङका किसानको स्याउ बाली पनि यही बीमालेखअन्तर्गत बीमा गरिएको छ।

यसबाहेक २०७९ साल साउनमा कैलाली र बर्दियाका स्थानीय तहमा बाँके र बर्दिया जिल्लाको कर्णाली नदी तटीय क्षेत्रका किसानको बालीनालीको क्षतिपूर्तिका लागि सूचकांकमा आधारित बाली बीमा योजना लागू गरिएको थियो। नदीको पानीको सतहमा आउने परिवर्तनलाई आधार बनाएर धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न यो बीमालेख लागू गरिएको थियो।

वन तथा वातावरण मन्त्रालयको सन् २०२१ को प्रतिवेदनअनुसार ‘नेपालमा बालीनालीको उत्पादनमा हुने क्षतिको झन्डै ९० प्रतिशत क्षति मौसमी घटनाहरुले तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी र बाढीजस्ता प्रकोपले गर्दा हुने गर्छ। यसैले यो बीमालेख नेपालका किसानका लागि वरदान साबित हुन सक्छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको मौसमी सूचकांकममा आधारित बीमालेख निर्देशिकाका मुख्य प्राविधिक र दाबीसम्बन्धी प्रावधानहरुः

प्राविधिक पक्ष

यो बीमा परम्परागत बीमाजस्तो क्षति कति भयो भनेर हेर्ने झन्झटिलो प्रक्रियामा आधारित हुँदैन। यसका मुख्य प्राविधिक आधारहरु यस प्रकार छन्ः

सूचकांकको निर्धारणः यसमा बाली लगाउने समयदेखि भित्र्याउने समयसम्मका लागि निश्चित मौसमी सूचकांकहरुजस्तै न्यूनतम र अधिकतम वर्षा, तापक्रम, सापेक्षिक आद्र्रता वा हावाको गति तय गरिन्छ।

सीमाः बीमालेखमा एउटा सीमा तोकिएको हुन्छ। उदाहरणका लागि लगातार ५ दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएमा वा असार महिनामा १०० मिमीभन्दा कम वर्षा भएमा बीमा दाबी स्वतः लागू हुनेछ।

तथ्यांकको स्रोतः यसमा विवादरहित तथ्यांक प्रयोग गरिन्छ। नेपालको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागको स्टेसनको तथ्यांक वा प्राधिकरणले मान्यता दिएको उच्च गुणस्तरको भूउपग्रह आधारित तथ्यांकलाई आधार मानिन्छ।

बालीको संवेदनशीलताः बालीको कुन अवस्था जस्तै फूल फुल्ने समय वा दाना लाग्ने समयमा मौसमले कस्तो असर गर्छ ? सोहीअनुसार फरक–फरक मापन सूचकांक र भुक्तानी तालिका बनाइन्छ।

दाबी प्रक्रिया

यो बीमाको सबैभन्दा सबल पक्ष भनेकै यसको स्वचालित र सिघ्र दाबी भुक्तानी प्रक्रिया हो। यसका चरणहरु निम्नुअनुसार हुन्छन्ः

अनुगमनः बीमा अवधिभर बीमा कम्पनी र सम्बन्धित निकायले तोकिएको क्षेत्रको मौसमको तथ्यांक निरन्तर अनुगमन गर्छन्।

सूचकांक उल्लंघनः यदि मौसमको तथ्यांकले बीमालेखमा तोकिएको सीमा नाघ्यो भनेः जस्तै खडेरीका कारण तोकिएको भन्दा कम वर्षा भयो भने दाबी प्रक्रिया स्वतः सक्रिय हुन्छ।

सूचना र प्रमाणीकरणः यो बीमाअन्तर्गत क्षतिपूर्ति प्राप्त गर्न किसानले निवेदन दिइरहनु पर्दैन। मौसमी सूचना प्रदायकले पठाएको तथ्यांकका आधारमा बीमा कम्पनीले क्षतिको मूल्यांक र पुष्टि गर्छ। प्राविधिक प्रतिवेदनका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति रकम निर्धारण गर्छ।

स्वचालित गणनाः क्षतिको भौतिक मूल्यांकन नगरी पूर्वनिर्धारित तालिकाअनुसार कति प्रतिशत भुक्तानी दिने हो, सोको गणना गरिन्छ। यसमा किसान र बीमा कम्पनीबीच वादविवादको अवस्था हुँदैन।

सिधै भुक्तानीः गणना गरिएको दाबी रकम किसानको बैंक खातामा वा डिजिटल वालेटमा सिधै पठाइन्छ। प्राधिकरणको लक्ष्यअनुसार यस्तो भुक्तानी घटना भएको ७२ घन्टादेखि ७ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने प्रावधान राखिएको छ।

किसानलाई हुने सुविधा

प्रमाणको आवश्यकता नपर्नेः किसानले आफ्नो बाली बिग्रेको फोटो खिच्ने वा प्राविधिक बोलाएर मुचुल्का उठाउने झन्झट गर्नु पर्दैन।

नैतिक जोखिमको अन्त्यः किसानले बालीको स्याहार नगरेर क्षति भएको हो कि मौसमले गर्दा हो भन्ने विवाद नै रहँदैन। किनकि भुक्तानी मौसमको तथ्यांकमा आधारित हुन्छ।

पुनः लगानीको अवसरः बाली पूर्ण रुपमा नष्ट हुनु अगावै जस्तै– खडेरी पर्ने बित्तिक पैसा पाइने हुनाले किसानले सो पैसा प्रयोग गरेर सिँचाइ गर्न वा अर्को बाली लगाउन सक्छन्।

मौसमी सूचकांकमा आधरित बीमालेखका चुनौती

यति राम्रो हुँदाहुँदै पनि यो बीमालेख कार्यान्वयनमा ल्याउन नेपालमा केही चुनौती छन् । कहिलेकाहीँ मौसम केन्द्रमा वर्षा भएको देखिने तर किसानको खेतमा नोक्सानी नभएको हुने हुन सक्छ । वा कुनै समयमा किसानको खेतमा बालीनालीमा क्षति हुने तर मौसमी सूचना संकलन केन्द्रका उपकरणहरुमा यस्तो मौसमी तथ्यांक संग्रहित नहुने समस्या पर्न सक्छ। यसलाई न्यून गर्न भूउपग्रहबाट प्राप्त मौसमी अवस्थाको तथ्यांक र सूचना प्रयोग गर्नु आवश्यक छ। यसबाहेक ग्रामीण भेगका किसानलाई बाली नजोगिए पनि पैसा आउँछ भन्ने कुरा बुझाउन र प्रविधिमा विश्वास दिलाउन गाह्रो हुन सक्छ।

Explore by Source or Category