npl.977 Nepal News Stream

#murderattempt

Insurance Khabar logo Insurance Khabar

साथीको नाममा रु. २ करोडको बीमा किनेर आफैँ बने हकवाला, अनि रचे हत्याको षड्यन्त्र

जयराम गौतम 23 hours ago

काठमाडौं । छिमेकी मुलुक भारतको तेलंगनास्थित भद्राद्री कोठागुडेममा एउटा सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। बुर्गामपाड प्रहरीले बीमाको पैसा पाउन आफ्नै साथीको हत्याको षड्यन्त्र रचेको आरोपमा दुई युवालाई पक्राउ गरेको घटना बाहिर आएको हो।

लगभग भारु २ करोडको बीमा रकम हडप्न ती युवाले यो आपराधिक षड्यन्त्र रचेको आरोप छ। पक्राउ परेका एक अभियुक्त निजी बैंकका कर्मचारी हुन्।

प्रहरीका अनुसार कट्टा यशवन्त नामक युवक फेब्रुअरी १४ को राति बुर्गामपाड मण्डलको मोथे गाउँनजिकै सडकको छेउमा घाइते अवस्थामा फेला परेका थिए। सुरुमा यसलाई सडक दुर्घटना मानिएको थियो। यशवन्तलाई पहिले भद्राचलमको सरकारी अस्पतालमा भर्ना गरिएको थियो। पछि जब स्वास्थ्य अवस्था बिग्रियो त उनलाई खम्ममको अस्पतालमा रेफर गरिएको थियो। जहाँ उनको उपचार भइरहेको छ।

यशवन्तकी काकी मुलिसेत्तु रामाले प्रहरीमा उजुरी दिएपछि मुद्दाले नयाँ मोड लियो। उनले यो केवल दुर्घटना मात्र नभएर योजनाबद्ध आक्रमण भएको शंका व्यक्त गरिन्। उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गर्यो र अनुसन्धान सुरु गर्यो।

अनुसन्धानका क्रममा गन्नावरम निवासी कट्टा साई दीपक र उनका साथी भद्राचलम निवासी कोंडा भानु प्रकाशमाथि शंका लाग्यो। गवत मंगलबार साँझ सारापकामा कारमा यात्रा गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको थियो। प्रहरीले भानु प्रकाश एक निजी बैंकमा बिक्री कार्यकारीका रुपमा काम गर्छन् भनी जनाएको छ।

प्रहरी अनुसन्धानले नोभेम्बर २०२५ मा आरोपीहरुले यशवंतको नाममा बीमा पोलिसी निकालेको खुलासा गरेको छ। जसमा साई दीपकलाई हकवाला व्यक्तिका रुपमा राखिएको थियो। उनले आफूलाई यशवंतको आफन्त भएको दाबी गरेका थिए। प्रहरीले आरोप लगाएको छ कि फेब्रुअरी १४ को राति दुई आरोपीले यशवंतलाई मोठे गाउँ लगे, रक्सी पिलाए र स्कुटरमा चढ्न खोज्दा पछाडिबाट फलामको रडले आक्रमण गरे।

घटनालाई दुर्घटनाजस्तो देखाउन आरोपीहरुले आफ्नो दुईपांग्रे सवारीसाधन सडकबाट तल खसाले र घाइते अवस्थामा यशवंतलाई छोडेर भागे।

सबइन्स्पेक्टर मेदा प्रसादका अनुसार सोधपुछका क्रममा अभियुक्तहरूले अपराध स्वीकार गरे र यशवंतको मृत्युपछि बीमाको पैसा प्राप्त गर्न चाहेको बताए। दुवै अभियुक्तलाई न्यायिक हिरासतमा राखिएको छ। मुद्दाको थप अनुसन्धान जारी छ र प्रहरीले बीमा कागजात र अन्य प्रमाणहरुको जाँच गरिरहेको छ। –एजेन्सी

Explore by Source or Category