लघु बीमा: फिलिपिन्सको सफलताबाट नेपालले के सिक्ने ?
काठमाडौं । विश्वव्यापी रूपमा लघु बीमाको क्षेत्रमा फिलिपिन्स एक ‘ग्लोबल लिडर’ मानिन्छ। न्यून आय भएका वर्गलाई वित्तीय सुरक्षा प्रदान गर्ने सन्दर्भमा फिलिपिन्सले अपनाएको मोडेल र त्यसले त्यहाँको अर्थतन्त्रमा पारेको प्रभाव नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि महत्वपूर्ण पाठ हुन सक्छ।
फिलिपिन्समा लघु बीमाको सफलताको मुख्य आधार पब्लिक-प्राइभेट-पार्टनरसिप’ र ‘म्युचुअल बेनिफिट एसोसिएसन’ मोडेल हो।
फिलिपिन्सले सन् २००८ पछि लघु बीमाका लागि छुट्टै नियामक ढाँचा तयार गर्यो। त्यहाँ बीमाशुल्क दैनिक न्यूनतम ज्यालाको ७.५% भन्दा बढी नहुने गरी तोकिएको छ, जसले गर्दा गरिब जनताले सजिलै बीमा किन्न सक्छन्।
परम्परागत एजेन्टमा मात्र भर नपरी त्यहाँका पसल, सहकारी, ग्रामीण बैंक र डिजिटल वालेट (जस्तै GCash) मार्फत बीमा बीमालेख बिक्री गरिन्छ।
मुख्यतया साना किसान, अनौपचारिक क्षेत्रका मजदुर र न्यून आय भएका महिलाहरू यसबाट प्रत्यक्ष लाभान्वित छन्। सन् २०२३ सम्ममा त्यहाँ करिब ५ करोड जनता (कुल वयस्क जनसंख्याको ४८%) लघु बीमाको दायरामा आइसकेका छन्।
लघु बीमाले फिलिपिन्सको अर्थतन्त्रमा सीमित भएपनि योगदान पुर्याएको छ। दैवी प्रकोप वा स्वास्थ्य समस्या आउँदा गरिब परिवार ऋणको दुष्चक्रमा फस्न पाउँदैनन्, जसले उपभोग र बचतलाई स्थिर राख्छ।
फिलिपिन्सको लघु बीमाले बालीनाली र पशुपंक्षीलाई पुग्ने क्षतिको मात्र नभएर किसान बिरामी भएको अवस्थामा समेत उपचार खर्च र आय क्षति(लस अफ इनकम) वापत समेत क्षतिपूर्ती उपलब्ध गराउँछ।
कुल बीमाशुल्कमा लघु बीमाको हिस्सा मात्रै ३% जति देखिए पनि, कुल बीमालेख संख्यामा यसको हिस्सा ७५% भन्दा बढी छ। यसले बीमा बजारको दायरा फराकिलो बनाउँदै कुल गारहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान बढाउन मद्दत गरेको छ।
नेपालमा पनि पछिल्लो समय लघु बीमालाई प्राथमिकतामा राखिएको छ। बीमा ऐन २०७९ र लघु बीमा निर्देशिका २०७९ मार्फत नेपाल बीमा प्राधिकरणले यसलाई व्यवस्थित गरिरहेको छ।
नेपालमा हाल ७ वटा लघु बीमा कम्पनीहरू (जीवन र निर्जीवन) लाई इजाजत दिइएको छ, जसले ग्रामीण क्षेत्रलाई लक्षित गरी काम सुरु गरिसकेका छन्।
नेपालले ‘स्ट्याण्ड-अलोन’ मोडेल अपनाएको छ, जहाँ लघु बीमा गर्नका लागि मात्रै छुट्टै कम्पनीहरू स्थापना गरिएका छन्। यसअघि ठूला बीमा कम्पनीहरूलाई कुल व्यवसायको ५% लघु बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था थियो।
नेपालले आफ्नो लघु बीमा क्षेत्रलाई प्रभावकारी बनाउन फिलिपिन्सका यी पक्षहरू अनुसरण गर्न सक्छ:
दाबी भुक्तानीमा तीव्रता: फिलिपिन्समा घटना घटेको केही दिनभित्रै दाबी भुक्तानी गरिन्छ। नेपालमा पनि दाबी प्रक्रियालाई सरल र छिटो बनाउनु आवश्यक छ।
डिजिटलाइजेशन: मोबाइल एप र डिजिटल वालेटमार्फत प्रिमियम संकलन र भुक्तानी गर्ने प्रविधिलाई गाउँगाउँसम्म पुर्याउनुपर्छ।
साझेदारी: सहकारी र स्थानीय सरकारसँग मिलेर लघु बीमालाई अनिवार्य वा प्याकेजका रूपमा लैजान सकिन्छ।
सचेतना: बीमा भनेको ‘खर्च’ नभई ‘बचत र सुरक्षा’ हो भन्ने सन्देश तल्लो तहसम्म पुर्याउनु पर्ने देखिन्छ।
नेपालमा लघु बीमाको जग बसिसकेको छ। यदि फिलिपिन्सले जस्तै प्रविधि र सरल वितरण प्रणालीलाई अंगाल्ने हो भने, यसले नेपालको गरिबी निवारण र आर्थिक स्थायित्वमा कोशेढुङ्गा सावित हुने निश्चित छ।