npl.977 Nepal News Stream

Tourism Face logo

Tourism Face

NEPAL'S ONLY TOURISM NEWS PORTAL

Contents

रहर होइन, बाध्यता : मेचीनगरकी सीताको परदेशी जीवनको तितो–मिठो कथा

Tourism Face 12 hours ago

झापा — परदेश जाने निर्णय कसैले सजिलै गर्दैन। ऋणले घाँटी समातेको, गरिबीले ढोका थुनेको र सन्तानको भविष्यले मन पोलिरहेको बेला मात्रै मान्छे आफ्नै माटो छोड्न बाध्य हुन्छ। मेचीनगर–८ की सीता थापामगरको जीवन त्यही बाध्यताको यात्राको जिउँदो दस्तावेज हो।

१६ वर्षको उमेरमा विवाह गरेकी सीताले २५ वर्ष नपुग्दै श्रीमान् गुमाइन्। उपचारका लागि लागेको ऋण, काखमा स–साना दुई सन्तान, घरको जिम्मेवारी—सबै एकैपटक उनको काँधमा आइपुग्यो। नेपालमै मजदुरी गरेर ऋण तिर्ने र परिवार धान्ने सम्भावना न्यून देखिएपछि उनले परदेशिने कठोर निर्णय गरिन्।

२०६२ सालतिर भिजिट भिसामा भारत हुँदै उनी कुबेत पुगिन्। करिब २० हजार रुपैयाँ जोहो गर्नै ठूलो सङ्घर्ष थियो। कुबेतमा घरेलु कामदारको रूपमा काम सुरु गरिन्। बिहानदेखि रातिसम्मको निरन्तर काम, भाषाको समस्या, आरामको अभाव र साहुको कडा व्यवहार—सबै सहँदै उनले चार वर्ष बिताइन्। मासिक आठ हजार जति आम्दानी हुन्थ्यो, तर त्यही पसिनाले उनले श्रीमान्को उपचारको ऋण तिरिन्।

नेपाल फर्किँदा उनले सोचेकी थिइन्—अब परिवारसँगै बस्ने। तर छोराछोरी हुर्कँदै जाँदा खर्च बढ्दै गयो। फेरि आर्थिक चाप बढ्यो। यसपटक उनले कानुनी प्रक्रियाबाट मेनपावरमार्फत २०६८ सालमा लेबनान जाने निर्णय गरिन्। करिब ६० हजार खर्च गरेर पुगेकी उनी त्यहाँ एक वृद्ध आमाको हेरचाहमा खटिइन्। काम सहज थियो, मासिक १५ हजार जति कमाइ हुन्थ्यो। जीवन केही स्थिर हुँदै थियो।

तर नियतिले फेरि निर्मम प्रहार गर्‍यो। लेबनानमै हुँदा नेपालबाट आयो—उनका किशोर छोराको असामयिक निधनको खबर। परदेशी भूमिमा बसेर सन्तान गुमाउनु उनको जीवनकै सबैभन्दा गहिरो घाउ बन्यो। उनले सबै काम छोडेर स्वदेश फर्किइन्।

शोक र जिम्मेवारीबीच दुई वर्ष बिते। तर आर्थिक अभाव फेरि उस्तै। त्यसपछि उनी साउदी अरब गइन्। अस्पतालमा क्लिनरको काम—लामो समय उभिएर, निरन्तर शारीरिक श्रम। पाँच वर्षसम्म परिवारका लागि पसिना बगाउँदा आफ्नै स्वास्थ्यतर्फ ध्यान दिन सकिनन्। घाँटीमा समस्या देखापर्‍यो। साउदीमै उपचार गराइन्, सुधार भएन।

अन्ततः नेपाल फर्किएर चितवनको भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा दोस्रो चरणको घाँटीको क्यान्सर पुष्टि भयो। जीवनले फेरि अर्को परीक्षा लियो। उपचारमा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। बचत, ऋण र आफन्तको सहयोगमा उनले उपचार जारी राखिन्। अन्ततः लामो सङ्घर्षपछि क्यान्सरमाथि विजय पाइन्, तर आर्थिक भार अझै कम भएको छैन।

पछि मात्र उनलाई वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाइने जानकारी भयो—तर समयसीमा सकिइसकेको थियो। “यो जानकारी समयमै पाएको भए…” भन्ने अधुरो वाक्य आज पनि उनको मनमा घुम्छ। यद्यपि, म्यादी बीमाबाट केही राहत भने पाइन्।

अहिले सीता मेचीनगर–८ मै दुई कट्ठा जमिनमा बनेको सानो घरमा बस्छिन्। कान्छी छोरी रोजगारीका लागि युएईमा छिन्, उनैको आम्दानीले घर चलिरहेको छ। सीता भन्छिन्, “विदेश जानु रहर होइन, बाध्यता हो। तर जानुअघि स्वास्थ्य, सुरक्षा र कानुनी प्रक्रियाबारे राम्रोसँग बुझ्नुपर्छ।”

सीताको कथा केवल एउटी आमाको पीडा होइन; यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो। युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग र ऋण बोकेर फर्किनुपर्ने कथा बारम्बार दोहोरिन्छ।

उनको जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ—वैदेशिक श्रमिकको स्वास्थ्य, सुरक्षा र सूचना पहुँच कति प्रभावकारी छ? परदेशको पसिना केवल रेमिटेन्समा सीमित नहोस्; श्रमिकको जीवन, स्वास्थ्य र भविष्यको सुनिश्चितता पनि उत्तिकै प्राथमिकता बन्नुपर्छ। नत्र, सीताजस्ता कथाहरू बाध्यताको इतिहास बनेर फेरि–फेरि लेखिइरहनेछन्।

The post रहर होइन, बाध्यता : मेचीनगरकी सीताको परदेशी जीवनको तितो–मिठो कथा first appeared on Tourism Face.

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फागुन २२ मा राखियो

Tourism Face 12 hours ago

काठमाडौं— सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी दायर रिट निवेदनमा फागुन २२ गतेका लागि साधारण तारेख तोकेको छ। उक्त मिति फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट पर्छ।

रिट निवेदकमध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार अदालतले थप सुनुवाइका लागि तत्काल मिति नतोकी साधारण तारेख मात्रै दिएको हो। यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध विभिन्न पक्षबाट छुट्टाछुट्टै रिट दायर भएका थिए। नेकपा एमालेका सांसदहरू तथा नेपाली काँग्रेसका तर्फबाट समेत फरक–फरक निवेदन पेश गरिएको थियो। अदालतले ती सबै रिटमा विपक्षी बनाइएकाहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो र सो अनुरूप जवाफहरू दर्ता भइसकेका छन्।

यद्यपि, लिखित जवाफ पेश भइसकेपछि पनि मुद्दाको पूर्ण सुनुवाइको मिति भने तोकिएको छैन। हालसम्म प्रारम्भिक बहस मात्र सम्पन्न भएको र थप सुनुवाइको समयबारे स्पष्टता नआएको जनाइएको छ।

रिट निवेदनमा प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको दाबी गर्दै सो निर्णय बदर गर्न माग गरिएको छ। साथै वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रक्रिया पनि असंवैधानिक रहेको भन्दै राष्ट्रपतिबाट गरिएको नियुक्ति निर्णय खारेज गर्न माग दाबी गरिएको छ।

The post प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फागुन २२ मा राखियो first appeared on Tourism Face.

जलवायु परिवर्तनको मार पर्यटनमा, महिलामाथि दोब्बर असर : मन्त्री श्रेष्ठ

Tourism Face 12 hours ago

काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरले विशेष गरी महिलाहरूलाई गम्भीर रूपमा प्रभावित बनाइरहेको बताएकी छन्।

उनका अनुसार नेपालको पर्यटन क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदामा आधारित भएकाले जलवायुजन्य विपद्का घटनाले सिधै यस क्षेत्रमा धक्का पुर्‍याइरहेका छन्। हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो, पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव तथा जैविक विविधताको क्षय जस्ता समस्याले पर्यटन गतिविधि घटाउँदै लगेको उनले उल्लेख गरिन्।

मन्त्री श्रेष्ठले पर्यटन घट्दा त्यसको सबैभन्दा ठूलो प्रभाव महिलाहरूमा पर्ने बताइन्। विशेष गरी ग्रामीण र पर्यटनमा आधारित समुदायमा महिलाहरू अनौपचारिक तथा मौसमी आम्दानीमा निर्भर हुने भएकाले जलवायु परिवर्तनका कारण रोजगारी र आयआर्जनका अवसर गुम्ने अवस्था बढिरहेको उनको भनाइ छ। होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटल तथा लजमा काम, खाना पकाउने, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने वा स्थानीय गाइडको भूमिकामार्फत महिलाहरूले आम्दानी गर्दै आएका छन्। तर पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू सुक्दै गएका छन्।

उनले महिलामुखी परिवारहरू अझ बढी जोखिममा पर्ने उल्लेख गर्दै जलवायु परिवर्तनले बसाइँसराइ बढाएको र रोजगारीका लागि पुरुष बाहिरिँदा महिलामाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको बताइन्। यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूका लागि जीवनधारा जस्तै बनेको उनले धारणा राखिन्।

मन्त्री श्रेष्ठले जलवायु वित्तपोषण संरचनामा रहेका कमजोरीहरू औंल्याउँदै अधिकांश ‘रेजिलिएन्ट फण्ड’ पूर्वाधार निर्माणमा केन्द्रित रहेको टिप्पणी गरिन्। उनले यस अवस्थालाई ‘लैङ्गिक संवेदनशीलताविहीन जलवायु वित्तपोषण’ भन्दै आलोचना गरिन्। उनका अनुसार ग्रामीण पर्यटन अर्थतन्त्र अझै अनौपचारिक संरचनामा आधारित भएकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन्।

जलवायु सहनशील पर्यटन प्रवर्द्धनका लागि सडक र भवन मात्र निर्माण गर्नु पर्याप्त नहुने उनले स्पष्ट पारिन्। बरु महिलामा सीप, पूँजी र पहुँचका माध्यमबाट प्रत्यक्ष लगानी आवश्यक रहेको उनको जोड थियो। महिलाद्वारा सञ्चालित उद्यमलाई सहज पहुँचयोग्य जलवायु कोष उपलब्ध गराउने, सहकारी प्रणाली सुदृढ गर्ने तथा नवीकरणीय ऊर्जामा आधारित लैङ्गिक संवेदनशील पूर्वाधार विकास गर्नुपर्ने उनले बताइन्।

पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षण र वातावरणीय व्यवस्थापनमा योगदान पुर्‍याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको प्राथमिकता हुनुपर्ने मन्त्री श्रेष्ठको धारणा छ। न्युज एजेन्सी नेपाल

The post जलवायु परिवर्तनको मार पर्यटनमा, महिलामाथि दोब्बर असर : मन्त्री श्रेष्ठ first appeared on Tourism Face.

सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

Tourism Face 19 hours ago

मुस्ताङ। चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए।

प्रहरीको तथ्यांकअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख संकलन गर्ने गरेको छ। पोखरा-जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख संकलन गर्ने गरेका छन्।

मुस्ताङमा आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१/८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो। मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन्।

अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी-जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन्। मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ। मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्। पछिल्लो समय जोमसोम-कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका पाइएको छ। रासस

The post सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए first appeared on Tourism Face.

यात्रु घटे पनि उडानको मूल्य बढ्यो, बुध्द एयरको कारोबार सवा १४ अर्ब नाघ्यो

Tourism Face 20 hours ago

BuddhaAir

काठमाडौं । आन्तरिक उडानको पर्यायजस्तै बनेको बुध्द एयरले यात्रु संख्या केही घटेको वर्षमा पनि आफ्नो व्यापारिक उचाइ भने अझ माथि पुर्‍याएको छ। उडान संख्याभन्दा सेवाको मूल्य, दक्षता र बजार रणनीतिमा केन्द्रित हुँदा बुध्द एयरको वार्षिक कारोबार सवा १४ अर्ब रुपैयाँ नजिक पुगेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा बुध्द एयरले अघिल्लो वर्षको तुलनामा ८५ हजार ४७३ यात्रु कम उडाएको छ। यो संख्या करिब ३.२२ प्रतिशतले घटेको हो। तर यात्रु घट्दासमेत कम्पनीको आम्दानी भने उल्टै बढेको देखिन्छ।

सन् २०२४ मा २६ लाख ४८ हजार यात्रुलाई सेवा दिँदा १३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको बुध्द एयरले सन् २०२५ मा २५ लाख ६३ हजार यात्रुबाट अनुमानित १४ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ। यात्रु कम, आम्दानी बढी—यो तथ्यले बुध्द एयरको व्यवसायिक मोडल फरक दिशातर्फ अघि बढिरहेको संकेत गर्छ।

बजारको आधाभन्दा बढी नियन्त्रण

आन्तरिक उडान क्षेत्रमा बुध्द एयरको वर्चस्व अझै बलियो देखिन्छ। क्यानका अनुसार कुल आन्तरिक यात्रु उडानमध्ये बुध्दको बजार हिस्सा ५६ प्रतिशत छ। सुगम गन्तव्यमा मात्र हेर्दा यो हिस्सा ५८ प्रतिशत पुग्छ। सहरी विमानस्थलहरूमा बुध्दसँग प्रतिस्पर्धा गर्ने अन्य वायुसेवाको उपस्थिति तुलनात्मक रूपमा कमजोर देखिन्छ।

१८ वटा जहाजमार्फत सुगम क्षेत्रमा नियमित उडान गर्दै आएको बुध्द एयर यात्रु संख्या मात्र होइन, उडानको निरन्तरता र विश्वासका आधारमा पनि अग्रणी बनेको छ।

महामारीपछि तीव्र पुनरुत्थान

कोरोना महामारीले थलिएको उड्डयन क्षेत्रबाट बुध्द एयर छिटो उठ्न सफल भयो। सन् २०२१ मा ३ अर्ब ३३ करोड रुपैयाँमा सीमित व्यापार सन् २०२२ मै १० अर्ब पुगेको थियो। त्यसपछि क्रमशः आम्दानी बढ्दै सन् २०२५ मा सवा १४ अर्ब नाघ्ने अवस्थामा पुगेको हो। पछिल्ला चार वर्षमै कम्पनीको व्यापार ४१ प्रतिशतले बढेको छ।

रणनीतिले बदलिएको परिणाम

बुध्द एयरका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीका अनुसार पछिल्लो समय कम्पनीले यात्रु अनुभव र जहाजको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिएको छ।
“एटीआर–७२ जहाजमार्फतको सेवा विस्तार र नियमित उडानमा कुनै सम्झौता नगर्नु नै हाम्रो मुख्य आधार हो,” जोशी भन्छन्। यात्रु संख्या घट्दा पनि आम्दानी नघट्नुका कारणबारे कम्पनीले आन्तरिक विश्लेषण गरिरहेको उनको भनाइ छ।

कर, रोजगारी र अर्थतन्त्रमा योगदान

बुध्द एयर आन्तरिक उडान क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीसमेत हो। सन् २०२४ मा मात्रै यसले १ अर्ब ७ करोड रुपैयाँ कर तिरेको छ, जसमा ४१ करोड प्रत्यक्ष र ६५ करोड अप्रत्यक्ष कर समावेश छ। कम्पनीले १ हजार ६ सय जनालाई रोजगारी दिएको छ।

सानो जहाजबाट ठूलो ब्रान्डसम्म

२९ वर्षअघि वीरेन्द्रबहादुर बस्नेतले १९ सिट क्षमताको बीचक्राफ्ट जहाजबाट सुरु गरेको बुध्द एयर आज आन्तरिक उडानको मेरुदण्डजस्तै बनेको छ। हाल काठमाडौँबाट बनारस र कोलकाता उडान गरिरहेको बुध्दले अन्तर्राष्ट्रिय बजारमा पनि क्रमशः उपस्थिति बढाउँदै लगेको छ।

यात्रु संख्या घटे पनि आम्दानी बढ्नुले बुध्द एयर अब ‘धेरै उडान’भन्दा ‘दक्ष उडान’को चरणमा प्रवेश गरेको संकेत गर्छ—जहाँ मात्रा होइन, मूल्य नै मुख्य आधार बन्दै गएको छ।

 

The post यात्रु घटे पनि उडानको मूल्य बढ्यो, बुध्द एयरको कारोबार सवा १४ अर्ब नाघ्यो first appeared on Tourism Face.

Explore news by Source or Category