काठमाडौं विश्वकै पाँचौं प्रदूषित सहर, वायुको गुणस्तर ‘अस्वस्थ’
काठमाडौं । काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ। हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो। वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ। यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ छ।
० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ। त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ। काठमाडौँको हावामा पीएम २.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ। काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ।
वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मर्निङ वाक नगर्न सुझाव दिइएको छ। त्यस्तै, झ्याल ढोका बन्द राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ। यसको साथै, बाहिर निस्कनुपरेमा मास्कको प्रयोग गर्न सुझाव छ।
विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ। त्यहाँ हावाको गुणस्तर ४१२ एक्यूआई रहेको छ। यसलाई निकै खतरनाक मानिन्छ। त्यस्तै, दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको नयाँ दिल्ली र चौथो स्थानमा भारतकै कोलकाता रहेको छ।