npl.977 Nepal News Stream

#hotel

Insurance Khabar logo Insurance Khabar

ब्याजको भार घटेपछि नाफा कमाउने अवस्थामा उक्लिंदै अकामा होटल

केशवप्रसाद भण्डारी 12 hours ago

काठमाडाै । केयर रेटिङ्गस नेपालले अकामा होटल लिमिटेडलाई प्रदान गरिएको इशुअर रेटिङ ‘डबल माइनस(इस्युअर)’ बाट सुधार गरी ‘डबल बी (इस्युअर)’ मा उकासेको छ।

यो रेटिङका आधारमा कम्पनीलाई वित्तीय दायीत्व समयमै पुरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संस्थाका रूपमा मूल्यांकन गरिएको छ। साथै, कम्पनीको दीर्घकालीन बैंक सुविधाहरूको रेटिङ पनि ‘डबल बी माइनस’ बाट ‘डबल बी’ मा सुधार गरिएको छ।

रेटिङ सुधार हुनुका प्रमुख कारणहरूमा चालू आवमा भएको थप स्वपूँजी लगानी, त्यसपछि गरिएको आवधिक कर्जाको अग्रिम भुक्तानी, तथा यसले कम्पनीको पूँजी संरचना र तरलता अवस्थामा ल्याएको सकारात्मक सुधार समावेश छन्। ऋण पूर्वभुक्तानीका कारण कम्पनीको भविष्यको ऋण भार उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ, जसले वित्तीय जोखिम प्रोफाइललाई बलियो बनाएको छ।

आतिथ्य क्षेत्रमा हुने चक्रीय उतारचढाव, तीब्र प्रतिस्पर्धा, भौगोलिक एकाग्रता तथा ब्याजदरको अस्थिरताजस्ता जोखिमहरू पनि रेटिङमा ध्यान दिइएको छ। चालू आवको पहिलो अर्द्ध वार्षिक अवधिमा कम्पनीको प्रदर्शन मध्यम रह्यो, जसमा गत भदाै २३ र २४ मा भएका जेनजी प्रदर्शनहरूले नकारात्मक प्रभाव पारेका थिए । पछिल्लो समयमा ब्याज खर्च कम हुँदै जाँदा आगामी त्रैमासिकहरूमा नगद प्रवाह सुधार हुने अपेक्षा गरिएको छ।

रेटिङलाई सुदृढ बनाउने पक्षहरूमा अनुभवी तथा स्रोतसाधन सम्पन्न प्रवर्द्धक समूहको समर्थन (कम्पनी सानिमा ग्रुप अन्तर्गत रहेको), होटलको रणनीतिक स्थान, तथा सरकारद्वारा पर्यटन क्षेत्रलाई दिइएको प्रोत्साहन समावेश छन्। साथै, नेपालमा पर्यटन क्षेत्रको हालको पुनरुत्थान र पर्यटक आगमनमा बढ्दो प्रवृत्तिले आगामी समयको सम्भावना सकारात्मक देखिएको छ।

आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी स्थिर रह्यो । गत आवमा वृद्धि भएर रु. २२ करोड ५० लाख पुगेको थियो। होटलको अकुपेन्सी दर गत वर्ष ४५ प्रतिशत कायम रह्यो । यो आर्थिक वर्षको २०७९।८० को ३० प्रतिशत भन्दा राम्रो थियो। तर चालू आवको पुस सम्ममा कोठा बिक्री दर ३२ प्रतिशतमा झरेपछि कोठाबाट हुने आम्दानी रु. ८ करोड ८० लाख  सीमित रह्यो । यसको मुख्य कारण गत भदाैमा भएका आन्दोलनका कारण बुकिङ रद्द हुनु हो।

पछिल्ला वर्षहरूमा उच्च ब्याज खर्चका कारण कम्पनीले घाटा व्यहोरे पनि चालू आवमा ऋणको अग्रिम भुक्तानीपछि ब्याज खर्च उल्लेख्य रूपमा घट्ने भएकाले आगामी समयदेखि नाफामा सुधार हुने अपेक्षा गरिएको छ।

कम्पनीको पूँजी संरचना गत आर्थिक वर्ष २०८१।८२ मा उल्लेखनीय रूपमा सुधार भएको छ। यसको मुख्य कारण स्वपूँजी थपिएर कम्पनीको मूर्त शुद्ध सम्पत्ति बढ्नु हो। कम्पनीको समग्र गियरिङ अनुपात अघिल्लो आवको १.२१ गुणाबाट घटेर गत आवको अन्त्यसम्म १.०८ गुणामा पुगेको छ।

साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ६० करोड ९० लाख रूपैयाँ (यो मध्जये २७ करोड १० लाख प्रिमियम सहित) अतिरिक्त स्वपूँजी लगानी गरिएको छ। यसले कम्पनीको ऋण स्तरलाई पनि उल्लेखनीय रूपमा घटाएको छ। कम्पनीको कुल ऋण सन् २०२५ जुलाई मध्यको रु. १ अर्ब १२ करोड ३० लाखबाट घटेर ११ फेब्रुअरी २०२६ मा ५१ करोड ४० लाख रूपैयाँमा झरेको छ।

यो अर्द्ध वार्षिक अवधिमा स्वपूँजी थपिएपछि कम्पनीको शुद्ध सम्पत्ति पनि गत असार मसान्तको रु. १ अर्ब २ करोड ६० लाखबाट बढेर पुससम्म रु. १ अर्ब ५७ करोड ५० लाख पुगेको छ। कम्पनीले सन् २०२९ सम्म ऋणको कुनै पनि साँवा भुक्तानी गर्नुपर्ने दबाब नरहेको कारण यसको कर्जा जोखिम प्रोफाइलमा सुधार आएको छ।

होटल सञ्चालनबाट प्राप्त स्थिर नगद प्रवाह तथा आगामी समयमा कर्जा थप घटाउने योजनाका कारण मध्यम अवधिमा कम्पनीको जोखिम प्रोफाइल अझ सुदृढ हुने अपेक्षा गरिएको छ। कम्पनीसँग पर्याप्त नगद मौज्दात भएकाले यसको तरलता स्थिति सन्तोषजनक रहेको देखिन्छ।

Explore by Source or Category