npl.977 Nepal News Stream

#Uncategorized

Contents
News of Nepal logo News of Nepal

सुर्नयामा चिया खेतीको सम्भाव्यता अध्ययन

न्युज अफ नेपाल 19 hours ago

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५, ६ र ७ का उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार तीन वडाका उच्च क्षेत्रमा प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो ।

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका दुईजनासहित स्थानीयहरुको सहभागितामा सुर्नया गाउँपालिका वडा नं. ५ को धुलिधार र रडीगाउँ, वडा नं. ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नं. ७ को जित्कीजुँवाड, दाङललगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो ।

केही ठाउँमा स्थानीयहरुसँग छलफलसहित चिया खेतीको सम्भावनाका विषयमा बहस गरिएको छ भने केही ठाउँमा भौगोलिक अवस्थाको अध्ययन गरिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण विष्टले बताउनुभयो ।

चिया विकास बोर्डको टोलीले सम्भावित स्थानहरुको माटो परीक्षणका लागि लगेको र केही दिनभित्रै प्रतिवेदन आउने विष्टले बताउनुभयो । पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमिन बाँझो रहेको अवस्थामा चिया खेती वैकल्पिक खेतीको रुपमा फस्टाउन सक्ने सम्भाव्यता रहेको र यसका लागि सबै पक्षसँग छलफल भइरहेको जनाइएको छ ।

उच्च क्षेत्रमा चिया खेतीको सम्भावना रहेको चिया विकास बोर्डका अधिकारीहरुले जनाएको गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । यसको रिपोर्ट आउन बाँकी रहेको छ । यो रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं । यसलाई वैकल्पिक खेतीको रुपमा अगाडि बढाउन सकिने सम्भावना छ ।’ यदि चिया खेतीको शुरुवात भयो र फस्टाउन सक्यो भने पर्यटकीय हिसाबले समेत उपलब्धिमूलक कार्य मान्न सकिन्छ ।

नेपाल न्युज logo नेपाल न्युज

पसिनाका गन्धमा सफलता खोज्ने तिवारीपसिनाका गन्धमा सफलता खोज्न तिवारी

नेपाल न्युज 21 hours ago

मोरङ। उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ।

स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उनले एउटा कुखुराको फार्म खोलेका थिए। सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन्।

विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन्। आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो।

गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहेका छन्। कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन्। गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ।

बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन्। बिहान ३ः०० बजे गाईको गोठमा पसेका तिवारी ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिन्छन्।

गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन्। गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन्। गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ।

तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्छन्। युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुदै गएको छ। ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ बनाए।

सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन्। श्रीमती र दुई छोरीको साथ पाएका उनले गाउँमै सफलता हासिल गर्दै आएका छन्। श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्छिन्।

बिबीएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन्। पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन्। बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन्।

तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन्। प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ।

तिवारी मुस्कुराउँदै भन्छन्, “दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ”, कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ।

पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन्। पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन्।

सरकारी अनुदानको आशा नराखेका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ। समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको बताउछन्। नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राखेका छन्।

वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउछन्।

नेपाल न्युज logo नेपाल न्युज

तपाईंको आजको राशिफल कस्तो छ?

नेपाल न्युज 23 hours ago

काठमाडौं। आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २१ तारिख। पौष शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वित्तिया तिथि। विश्व ध्यान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: आज तपाईंको आत्मविश्वास बलियो हुनेछ। अधुरा कामहरू पूरा गर्ने राम्रो समय छ। पारिवारिक वातावरण रमाइलो रहन सक्छ। आर्थिक रूपमा सहयोग मिल्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ।

वृष: आज नयाँ योजनाहरू सफलतापूर्वक लागू गर्न सकिने दिन हो। नेतृत्को गुण प्रकट हुनेछ। कामबाट प्रशंसा प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। स्वास्थ्य राम्रो रहन्छ।

मिथुन: नयाँ अवसरहरू प्राप्त हुने दिन हो। पढाइ वा करिअरमा राम्रो प्रगति हुने सम्भावना छ। मान–सम्मान बढ्ने संकेत छ। साथीहरूसँग घुमफिरको योग बन्न सक्छ। स्वास्थ्य ऊर्जा पूर्ण हुनेछ।

कर्कट: घरायसी जिम्मेवारी बढ्न सक्छ। मनमा अलि चिन्ता भए पनि काम सफलतापूर्वक अघि बढ्नेछ। आर्थिक पक्षमा सुधार देखिन्छ। परिवारका सदस्यसँग समय बिताउँदा आनन्द मिल्नेछ। स्वास्थ्य सामान्य रहन्छ।

सिंह: काममा ध्यान केन्द्रित गर्न कठिनाई हुन सक्छ। खर्च अचानक बढ्न सक्छ, सतर्क रहनुहोस्। पारिवारिक कुरामा समय दिनु राम्रो हुन्छ। साथीहरूबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा हल्का समस्या देखिन सक्छ।

कन्या: आज निर्णय गर्दा अलि धैर्य अपनाउनुपर्नेछ। खर्च नियन्त्रणमा राख्नु उत्तम हुन्छ। पारिवारिक सहयोग मिल्नेछ। मानसिक तनाव घट्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

तुला: समय व्यवस्थापन सही गर्न सके राम्रो उपलब्धि मिल्नेछ। व्यापार–व्यवसायमा लाभको संकेत छ। घर–परिवारमा खुसीयाली बढ्नेछ। साथीहरूबाट उत्साहजनक समाचार आउन सक्छ। स्वास्थ्यमा ताजगी महसूस हुनेछ।

वृश्चिक: आज महत्वपूर्ण काममा सफलता मिल्नेछ। कमाएको धन सही ठाउँमा खर्च हुनेछ। परिवारका सदस्यले प्रोत्साहन दिनेछन्। मनमा उत्साह बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

धनु: नयाँ सिकाइ वा प्रशिक्षणका अवसर मिल्न सक्छन्। काममा ध्यान दिनुपर्ने समय छ। घरभित्र सानो विवाद हुन सक्छ, धैर्य अपनाउनुहोस्। आर्थिक स्थिति स्थिर हुनेछ। स्वास्थ्य सामान्य छ।

मकर: आज कठिन परिश्रमको मनोकामना पूरा हुन सक्छ। पद–प्रतिष्ठामा वृद्धि हुने संकेत छ। परिवारमा सहयोग र समझदारी मिल्नेछ। आर्थिक लाभको योग छ। स्वास्थ्यमा साना समस्याले सताउन सक्छ।

कुम्भ: नयाँ योजनामा हात हाल्न अनुकूल दिन छ। मान–सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। यात्राको योग बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मीन: आज मनमा सृजनशीलता बढ्नेछ। काममा सहजता आउनेछ। घर–परिवारमा रमाइलो वातावरण रहनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Explore by Source or Category