आइक्यानले पायो आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीको मान्यता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।
विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो । नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजी क्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ ।
रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनले लागू हुने लेखांकन तथा लेखापरीक्षणका मापदण्डहरू, नियामक तथा संस्थागत संरचना, व्यावसायिक शिक्षा तथा तालिम प्रणाली, अनुपालना र कार्यान्वयन संयन्त्रहरू तथा वास्तविक अभ्यासहरूको समीक्षा गर्नेछ । अन्तर्राष्ट्रिय उत्तम अभ्याससँग मेल खाने यसका निष्कर्ष र सिफारिसहरूले नेपाललाई संस्थागत क्षमता र वित्तीय प्रतिवेदन प्रणालीलाई अझ सुदृढ गर्न सहयोग पुर्याउनेछन् ।
नेपालका लागि यसअघिको आरओएससी ए एन्ड ए मूल्यांकन सन् २०१५ मा सम्पन्न भएको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने किसिमको अभ्यासमा उल्लेखनीय प्रगति गरेको छ । प्रमुख सुधारहरूमा सूचीकृत कम्पनी, बैंक, बीमा कम्पनी तथा सरकारी स्वामित्वका संस्थानहरूमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) कार्यान्वयनमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस) सँग पूर्ण मेल खाने किसिमको अभ्यास; नेपाल लेखापरीक्षण मापदण्ड (एनएफआरएस) जारी गरी अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड (आइएफआरएस) अवलम्बन, लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि नेपाल गुणस्तर नियन्त्रण मापदण्ड (एनएसक्युसी १) र विद्वत् समीक्षा संयन्त्रको कार्यान्वयन, तथा अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आइइएस) र आइएफएसीका कर्तव्यअनुरूप व्यावसायिक शिक्षा र निरन्तर व्यावसायिक विकासको सुदृढीकरण समावेश छन् ।
यी सुधारहरूले नेपालको वित्तीय प्रतिवेदन संरचनामा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता उल्लेखनीय रूपमा बढाएका छन् । आरओएससी ए एन्ड ए मूल्यांकनले अन्तर्राष्ट्रिय मापदण्डहरूको परिपालनाको अवस्था मूल्यांकन गर्ने, नेपालको प्रगति उजागर गर्ने र बजारको विश्वास थप बलियो बनाउन तथा दिगो आर्थिक वृद्धिलाई समर्थन गर्न रणनीतिक सिफारिशहरू गर्नेछ । ‘यो मूल्यांकन नेपालको वित्तीय क्षेत्रका लागि एउटा कोसेढुंगा हो । यसले एक दशकको सुधारहरूलाई मान्यता दिएको छ र नेपाललाई विश्वव्यापी लगानीका लागि विश्वसनीय एवं भरोसायोग्य गन्तव्यका रूपमा स्थापित गर्छ । आइक्यान अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखांकन तथा लेखापरीक्षण अभ्यासमा उत्कृष्टता प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ संस्थाका अध्यक्ष निलबहादुर सारु मगरले भने ।
आइक्यानले यो राष्ट्रिय प्राथमिकताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै नियामक निकायहरू, व्यावसायिक संस्थाहरू, शैक्षिक तथा निजी क्षेत्रलगायत सबै सरोकारवालालाई सफल मूल्यांकनका लागि सक्रिय सहकार्य गर्न र नेपालको वित्तीय सुशासन संरचनालाई थप सुदृढ गर्न आह्वान गरेको छ ।