npl.977 Nepal News Stream

#स्याङ्जा

Contents
GandakNews logo GandakNews

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

राम बहादुर रोकाहा 39 minutes ago

सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भने स्थानीय आवश्यकता अनुसार समयअघि नै कार्यक्रम अघि बढाउने भएको छ ।

नगरपालिकाले आज शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तथा वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

चापाकोट नगर शिक्षा समितिको बैठकले विद्यार्थीको पढाइमा ढिलाइ हुँदा असर पर्ने निष्कर्ष निकाल्दै तत्काल भर्ना अभियान थाल्ने निर्णय गरेको हो । सोहीअनुसार वार्षिक शैक्षिक योजना र शैक्षिक क्यालेन्डर तयार पारेर विद्यालय सञ्चालनको तयारी गरिएको नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिए ।

संविधान र प्रचलित कानुनले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको हुँदा स्थानीय परिस्थिति हेरेर निर्णय गरिएको नगरप्रमुख खाँणले बताए ।

यसैबीच, स्याङ्जाकै फेदीखोला गाउँपालिकाले पनि स्थानीय आवश्यकता अनुसार शैक्षिक गतिविधि अघि बढाएको जनाएको छ । गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरिसकेको छ भने वैशाख ९ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विद्यार्थीको हितलाई केन्द्रमा राखेर आफ्नै शैक्षिक क्यालेन्डरअनुसार अघि बढ्ने निर्णय गरिएको बताए । यसबाट शैक्षिक सत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले शिक्षा शाखामार्फत वार्षिक शैक्षिक योजना तयार गरी सबै विद्यालयमा पठाउने तयारी समेत गरेको छ । सोही योजनाका आधारमा विद्यालय सञ्चालन गरिने जनाइएको छ ।

अध्यक्ष सुवेदीले शिक्षा मन्त्रालयबाट जारी परिपत्रप्रति ध्यानाकर्षण गराउँदै आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उल्लेख गरेका छन् । संविधान र कानुनले दिएको अधिकारअनुसार स्थानीय तहले आफ्नो सन्दर्भअनुसार शैक्षिक नीति कार्यान्वयन गर्न पाउनुपर्नेमा उनले जोड दिए ।

उनले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निर्णय गर्दा स्थानीय तहसँग पूर्वपरामर्श आवश्यक रहेको बताउँदै संघीय सरकारलाई स्थानीय आवश्यकता अनुसार निर्णय गर्न दिन, परिपत्रलाई मार्गनिर्देशकका रूपमा मात्रै लिन तथा तीन तहबीच समन्वय थप मजबुत बनाउन आग्रह समेत गरे ।

GandakNews logo GandakNews

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

राम बहादुर रोकाहा 20 hours ago

स्याङ्जाको बिरुवा गाउँपालिका–७ चित्लाङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले नयाँ वर्षको दिन वैशाख १ गते घरमा लुकाइछिपाइ राखिएको अवस्थामा हतियार फेला पारेपछि स्थानीय ४६ वर्षीय केशबहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो ।

गुरुङको घरबाट फलामको गजसहित एक नाले भरुवा बन्दुक, तीन ग्राम बारुद, १० थान छर्रा र तीन थान केप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

घटनापछि पक्राउ परेका गुरुङविरुद्ध हातहतियार सम्बन्धी कसूर मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

GandakNews logo GandakNews

वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो

राम बहादुर रोकाहा 21 hours ago

स्याङ्जाको वालिङ खेलमैदानमा सञ्चालन भइरहेको फर्स्ट एक्स्पो वैशाख ५ गतेसम्म जारी रहने भएको छ । दर्शकको उत्साहजनक सहभागिता र मागलाई ध्यानमा राख्दै एक्स्पोको अवधि तीन दिन थप गरिएको आयोजकले जनाएको छ ।

ओमकार इभेन्ट हबको आयोजनामा चैत्र २६ गतेदेखि सुरु भएको एक्स्पो यसअघि वैशाख २ गतेसम्म सञ्चालन गर्ने तय गरिएको थियो । अब थपिएको समयअनुसार वैशाख ५ गतेसम्म कार्यक्रम चल्नेछ ।

आयोजक संस्थाका प्रबन्धक नवराज पौडेलका अनुसार थपिएको अवधिमा एक्स्पोलाई अझ प्रभावकारी र आकर्षक बनाइनेछ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने वातावरण सिर्जना गर्नुका साथै वालिङ आसपासका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पौडेलले यस वर्ष नयाँ वर्ष मनाउन बाहिर जाने धेरैलाई वालिङमै उत्सव मनाउने वातावरण बनेको दाबी गरे ।

एक्स्पोमा दैनिक चर्चित कलाकारहरूको विशेष प्रस्तुति तथा साँझ लाइभ कन्सर्ट हुँदै आएको छ । साथै मौलिक खानाका परिकार, हस्तकला प्रदर्शनी र बालउद्यानले पनि दर्शकको ध्यान तानेका छन् ।

Explore by Source or Category