npl.977 Nepal News Stream

#साहित्य

Contents
Himal Press logo Himal Press

डा.रमेश शुभेच्छु ‘होमनाथ टीकामाया प्रतिभा सम्मान’ बाट सम्मानित

Ramesh Dawadi 6 hours ago

काठमाडौँ- साहित्यकार डा.रमेश शुभेच्छु मकवानपुरमा सम्मानित भएका छन्। मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले डा‍.शुभेच्छुलाई होमनाथ टीकामाया प्रतिभा सम्मानबाट सम्मान गरेको हो।

झरना साहित्य परिवारका विविध पुरस्कारहरूमध्ये सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार उनलाई समर्पण गरिएको हो। पुरस्कारको राशि २१,१२१ रहेको छ।

उनलाई यो सम्मान सिर्जना, समीक्षा, सम्पादन र संस्थागत विकासका लागि प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ। पुरस्कार र सम्मानपत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले प्रदान गरे।

कार्यक्रममा बोल्दै शुभेच्छुले आफ्ना जीवनमा सम्मान पुरस्कारभन्दा पनि सिर्जना कर्मचाहिँ बढी गर्न पाए हुन्थ्यो भन्दै छनोट समिति र आयोजक संस्थाप्रति आभार प्रकट गरे। उनले थपे, ‘म यो पुरस्कारको भारी बोकेर हिँड्न योग्य बन्न सकुँ।’

समारोहमा झरनाको मुखपत्र झरनाको तेत्तीसौँ अंकको लोकार्पण गरिएको थियो।

समारोहमा शुभेच्छुसँगै विभिन्न विधाका ११ स्रष्टालाई नगदसहित सम्मान गरिएको थियो। झरना साहित्यिक परिवारको ३२३औँ साहित्य शृङ्‍खला, ३३औँ वार्षिक उत्सव एवं सातौं बकैया कलासाहित्य महोत्सवको अवसरमा झरनाले स्रष्टाहरूलाई सम्मान गरेको हो।

बकैया गाउँपालिकामा दुई दिनसम्म चलेको साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै साहित्य कला र पत्रकारिताको क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई सम्मान समर्पण गरिएको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन्।

सो कार्यक्रममा कुलकुमारी झलकनाथ लोकसाहित्य सम्मान-२०८२ साहित्यकार तथा वरिष्ठ लोकगायक बझाङ स्थायी घर भएका नन्दकृष्ण जोशीलाई प्रदान गरियो। ११ हजार १११ रुपैयाँ राशीको सो पुरस्कार लोक साहित्य क्षेत्रमा केन्द्रित रहेको अध्यक्षले बताइन्।

१५ हजार ५५५ रुपैयाँ राशीको ‘बाबुलाल भोजमाया स्मृति साहित्य सम्मान-२०८२’ मकवानपुरका डा.निमेष निखिललाई प्रदान गरिएको छ।

११ हजार १११ रुपैयाँ राशीको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान-२०८२ सञ्चारकर्मी दीपक अधिकारीलाई प्रदान गरिएको छ। ७ हजार ७७७ रुपैयाँ राशीको ‘सञ्जीवनी बुटी साहित्य सम्मान-२०८२’ मकवानपुरका अर्पण पराजुलीलाई प्रदान गरिएको छ।

मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने ७ हजार ७७७ रुपैयाँ राशीको ‘सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान-२०८२’ मकवानपुरककी एसआर मञ्जरी ओलीलाई प्रदान गरिएको संस्थाका सचिव निलहरि दुलालले जानकारी दिए।

त्यसैगरी ५ हजार ५ सय रुपैयाँ राशीको ‘खडानन्द मनमाया प्रतिभा सम्मान-२०८२’ बाँकेकी ऋचा लुइँटेललाई प्रदान गरिएको छ। नवप्रतिभालाई प्रोत्साहन गर्न प्रदान गरिने ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान-२०८२’ मकवानपुरका सूर्य सन्यासी तथा ‘ऋशेश्वर रुक्मिणी लक्ष्मीदेवी खनाल साहित्य सम्मान-२०८२’ रुपन्देहीकी सिर्जना खनाललाई प्रदान गरिएको छ।

महोत्सवअन्तर्गत आयोजित चित्रकला प्रतियोगितामा महेन्द्र माविका विद्यार्थी मिहाजुल थोक्कर, रिषा दोङ र प्रसिद राई उत्कृष्ट तीनमा पर्न सफल भई पुरस्कृत भए। प्रतियोगितामा शान्ति नेगी, ऋतु विक र इन्द्रकुमारी स्याङ्बो उत्कृष्ट घोषित उनका साथै पुरस्कृत एका छन्।

कलासाहित्य महोत्सवमा लम्बोदर काफ्ले (सर्लाही), यश लामा (बारा), मनोज लोहार (रौतहट), खडानन्द तिमल्सिना (सिन्धुली), विद्या भण्डारी (चितवन), रमेश लामिछाने (लमजुङ), धनमाया राई (सिन्धुली), सुमित्र आचार्य (सर्लाही) बाट पनि सर्जकहरू सहभागी भएका थिए। उनीहरू सबैले रचना वाचन गरेका थिए।

यसैगरी समसामयिक कविताअन्तर्गत साहित्यकारहरू डा.विश्वनाथ सञ्जेल, विजय दोङ, डीबी बर्तौंला, धनमाया राई, सुमित्रा आचार्य, हरिप्रसाद पौडेल, केशव समर्पण, सागर तिमल्सिना, सञ्जित श्रेष्ठ, ओमभक्त भण्डारी, विष्णु गौतम, पुरुषोत्तम आचार्य, बिर्खे अञ्जान, मनोज लोहार, श्रीराम अधिकारी, विशाल अधिकारी आशुतोष, नवराज न्यौपाने कुञ्जल शुभेच्छुलगायतले सिर्जना बाचन गरेका थिए।

कार्यक्रममा लोकगायक नन्दकृष्ण जोशीले सुदूरपश्चिमका भाकाहरू गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। मकवानपुर जिल्लाका विभिन्न जातजाति र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत भएका थिए।

नेपाल न्युज logo नेपाल न्युज

आर सुरेन्द्रको ‘आशीर्वाद’

नेपालन्युज 21 hours ago

काठमाडौँ। लेखक आर सुरेन्द्रको पुस्तक ‘आशीर्वाद’ प्रकाशनमा आएको छ।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय एकताका पक्षधर तथा लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रले मातृत्व, मातृभूमि र मानवताको सम्मानार्थ यात्रा संस्मरण कृति आशीर्वाद प्रकाशनमा ल्याएका हुन्।

भुँडीपुराण प्रकाशनमार्फत प्रकाशित आशीर्वादको औपचारिक लोकार्पण भने १७ फागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। कूटनीतिक मामिलाका जानकारसमेत रहेका सुरेन्द्रले तीर्थाटन वर्णनको बहानामा सनातन सभ्यताको पुनर्जागरणका लागि आशीर्वादमार्फत लोक ब्युझाउने प्रयत्न गरेका छन्।

लेखक सुरेन्द्र भन्छन्‚ “तीर्थाटन र कर्मस्थलको अनुभवको वृतान्त केवल वहाना मात्र हो। आशीर्वाद भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन प्रत्याभूतका निमित्त २३ र २४ भदौमा भएको जेन-जी विद्रोहमा प्राणआहुति दिने नवयुवाका तमाम आमाहरुको सम्मानअर्पित कृति हो। त्यति मात्रै होइन, देशमा व्याप्त असमान नियम, नियति र सदियौँदेखि जीवित सनातन सभ्यताको संरक्षण तथा प्रवर्धनार्थ यो एउटा युग आह्वान पनि।”

उनले आध्यात्मिक चेतप्रतिको वर्तमान भाष्य परिवर्तन गरिनु पर्ने खाँचो औँल्याउँदै र सर्वपक्षीय एकताबाट मात्रै संसारिक अस्थिरताको निवारण सम्भव रहेको चित्रण आशीर्वादमा गरेका छन्।

पाल्पाको चिर्तुङमा जन्मिएका सुरेन्द्रले विश्वका दुई दर्जनभन्दा बढी देशमा प्राकृतिक विपद् र युद्धका कारण आहत मानिसहरुलाई राहत तथा मानवीय सहयाता पुर्‍याउने कार्यमा २५ वर्षभन्दा बढी समय खर्चिएका छन्। उनले बेलायत, जापान, अमेरिका, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट विभिन्न पाँच विषयमा उच्च शिक्षा हासिल गरेका छन्।

Explore by Source or Category