अन्नपूर्णमा सुखको छाल
जुन ३ को बिहान घामको पहिलो किरण झुल्किँदासम्म हामी अझै क्याम्प–५ कै टेन्टका खम्बा समातिरहेका छौं। हावाको बेग बिस्तारै कम हुँदै जान्छ। र उज्यालो फैलिँदै गएपछि त्यो पूरै शान्त हुन्छ। मलाई निसास्सिने गरी दबाइरहेको चिसो र नरम बरफलाई लगातार सकिनसकी धकेल्ने प्रयास गर्छु। र यस्तो प्रत्येक प्रयास आफैँमा नायकत्व जस्तो बनेको छ। मेरो मानसिक संवेदना हराएको छ। सोच्न पनि गाह्रो, त्यसैले हामी एक शब्द बोल्दैनौँ।
कस्तो अमैत्रीपूर्ण ठाउँ! क्याम्प–५ आउने सबैका लागि उनीहरूको अस्तित्वको सबैभन्दा अप्रिय अनुभव बन्छ। हाम्रो एक मात्र चाहना- छिटोभन्दा छिटो यो ठाउँ छोड्नु छ। त्यसैले हामी घामको पहिलो किरण पर्खन्छौँ। तर साढे पाँच बजेपछि हामी अब एक मिनेट पनि बस्न नसक्ने महसुस हुन्छ।
“हिँडौँ, बिस्कँत!”
“हुन्छ, हिँडौँ।”
हामीमध्ये कसले चिया बनाउने आँट गर्ला त? सुस्त गतिमा हामी काममा लाग्छौँ तर दिमागले भने गर्नुपर्ने कुरा एकपछि अर्को गरी कल्पना गर्छ। न उसलाई जाँगर चल्छ, न मलाई। होस्! हामी दुवैले चियाबिनै काम चलाउँछौँ।
स्लिपिङ ब्यागबाट निस्कन र जुत्ता निकाल्न हामीलाई गाह्रो हुन्छ। जुत्ता जमेर यति कडा भएको छ कि हामीलाई जुत्ता लगाउन निकै गाह्रो हुन्छ। यी गतिविधिले गर्दा सास फेर्न पनि निकै मुस्किल हुन्छ। बेला–बेला निसास्सिन्छौँ पनि। गेइटर पनि कडा छ। म त्यसलाई बाँध्न सफल हुन्छु। लाशनाल हँदैनन्।
“बिस्कँत, डोरी चाहिँदैन होइन?”
“त्यसको जरुरत छैन,” लाशनाल छोटो जवाफ दिन्छन्।
यसले गर्दा वजन एक किलो भार कम हुन्छ। म आफ्नै झोलाभित्र दूधको ट्युब छिराउँछु। केही नुग्याट चकलेटलगायत एक जोर मोजा पनि काम आउला कि भनेर बोक्छु, जसले चाहिएका बेला अनुहार छोप्ने माकल टोपीले झैँ काम दिन्छ। अहिलेका लागि मैले त्यसभित्र औषधि कोचेको छु।

पुस्तक अन्नपूर्णको आवरण
फोका क्यामेरामा श्यामश्वेत रिल छ। साथै केही रंगीन रिल पनि छन्। म स्लिपिङ ब्यागको पिँधबाट सिने–क्यामेरा निकाल्छु। यसलाई मिलाएर त्यसै चलाउने कोसिस गर्छु। एउटा सानो क्लिक् आवाज आउँछ। अनि अड्किएर जाम हुन्छ।
“कस्तो दुर्भाग्य! यहाँसम्म बोकेर ल्याइयो,” लाशनाल भन्छन्।
इशाकले विशेष ग्रिज राखेर बडो जतनसाथ राखे तापनि क्यामेरा स्लिपिङ ब्यागभित्र नै चिसोले जमेछ र नचल्ने अवस्थामा पुगेछ। त्यसलाई मैले माथि शिखरसम्मै पुर्याउने आशा गरेको थिएँ। अन्ततः भारी मन बनाउँदै क्यामेरा यहीँ क्याम्पमा छाड्छु। मैले मात्रै ७५०० मिटरसम्मका दृश्य खिच्न पाएँ।
हामी टेन्टबाट निस्किन्छौँ र क्र्याम्पोन लगाउँछौँ, जुन दिनभर लगाएर हिँड्छौँ। जीउ ढाक्न भए जति सबै लुगा लगाएपछि हामीसँग भएको झोला निकै हलुका हुन्छ। बिहानको ६ बजे नै बाटो तताउँछौँ। मौसम सफा भए पनि चिसो उत्तिकै छ। हामीले चढ्नुपर्ने सुरुको ठाडो उकालोमा हलुङ्गा क्र्याम्पोन जमेको बरफ र कडा हिउँमा मज्जाले अडिन्छन्, जुन हाम्रो आरोहणको पहिलो चरण हो।
त्यसपछिको उकालोमा भिरालो अलि कम भए पनि नियमितजसो हुन्छ। कहिले कडा खालको बरफले हाम्रो भार थेग्छ त कहिले टुक्रिएर पाउडर जस्तो नरम हिउँमा हामी भासिन्छौँ, जसले गर्दा पाइला–पाइलामा निकै थाक्छौँ। प्रायः हामी एकअर्कासँग एक शब्द पनि नबोली रोकिन्छौँ र पालैपालो बाटो बनाउँछौँ। हामी दुई आफ्नै एकान्त संसारमा हराउँछौँ।
म आफ्नै सोचाइप्रति सशंकित छु। मेरो सोच्ने क्षमता सुस्त भइरहेको छ। र आफ्नै बौद्धिक क्षमता कमजोर भएकामा सचेत पनि छु। यसरी एउटै विचारमा अडिरहनु नै सहज अनि सुरक्षित लाग्छ।
चिसो पनि जीउभित्रैसम्म पसिरहेको छ। विशेष डाउनको लुगा भए तापनि हाम्रो शरीरलाई कुनै कपडाले ढाके जस्तो लाग्दैन। जब हामी बिसाउँछौँ, खुट्टा बेस्सरी बजार्छौं। लाशनाल यति डराउँछन् कि, अलि कस्सिएको जुत्ता पनि फुकालेर पुन लगाउँछन्। किनकि फ्रस्टबाइट होला भन्ने डरले उनी निकै डराउँछन्।
“म लँबेर जस्तो हुन चाहन्नँ!” उनी भन्छन्।
जेनेभाका गाइड रेमन्ड लँबेरले एउटा दुःखद आरोहणपछि खुट्टाका सबै औंला काट्नुपरेको थियो। किनकि उनका खुट्टालाई पनि फ्रस्टबाइटले डसेको थियो।
…
लाशनाल आफ्नै खुट्टा बेस्सरी रगड्दै गर्दा म भने वरिपरिका हिमाल हेर्न थाल्छु। परको धवलागिरिबाहेक हामी सबभन्दा माथि छौँ। यी पर्वतका जटिल संरचना, जससँग पटक–पटको अथक सर्वेक्षणका कारण हामी राम्रोसँग परिचित हुन्छौँ। अब यी हाम्रा पैतालामुनि खुला किताब झैँ फैलिएका छन्।

अन्नपूर्णको शिखरमा मोरिस
हाम्रो यात्रा अविश्वसनीय थकाइले भरिएको छ। प्रत्येक पाइला शारीरिक कठिनाइमाथि मानसिक शक्तिको विजय हो। हिँड्दाहिँड्दै हामी घाम लागेको ठाउँ पुग्छौँ र घामको स्वागत गर्न हामी अघिका कैयौँ विश्रामजस्तै अर्को विश्राम लिन्छौँ। लाशनाल भने आफ्नै खुट्टालाई लिएर झन् बढी गुनासो गर्न थाल्छन्।
मलाई केही पनि महसुस भएको छैन… लाग्छ, मलाई फ्रस्टबाइट हुँदै छ भन्दै उनी फेरि जुत्ता फुकाल्न थाल्छन्।
अब म साँच्चिकै चिन्तित हुन थाल्छु। हामीले विचार पुर्याएनौँ भने फ्रस्टबाइटले कसरी थाहै नपाउने गरी तुरुन्तै डस्छ भन्ने मैले आफ्नै अनुभवबाट बुझेको छु। लाशनाललाई पनि यसमा भ्रम छैन।
“चिसोले हाम्रा खुट्टा जम्न सक्छन्! के तिम्रो विचारमा हामीले यो जोखिम मोल्नु उचित छ?”
यो प्रश्न साँच्चैको डरलाग्दो छ। टोली नायकका हैसियतले अरुका लागि सोच्नु र योजना बनाउनु मेरो जिम्मेवारी हो।
फ्रस्टबाइट साँच्चैको जोखिम हो। के अन्नपूर्ण चढ्नकै लागि यस्तो जोखिम मोल्नु सही हो त? यसरी आफैँलाई सोध्छु। यसले मलाई झनै चिन्तित बनाउँछ।
लाशनाल आफ्नै बुटको फिता पुनः बाँध्छन्, र हामी फेरि हिउँ छिचोल्न लाग्छौँ। अब प्रकाशमा नुहाएको सिकलको सबै हिमनदी हाम्रो आँखा सामु छर्लङ्ङ छ। त्यो ठाउँ पार गर्ने दूरी अझै लामो छ। अनि यो चट्टाने भीर… यसमा कुनै बाटो भेटिएला?
लाशनालको झैँ मेरो पनि खुट्टा चिसो भएको छ। नरोकिई हिँड्दा पनि खुट्टाका औँला चलाइरहन्छु। म तिनीहरूको चाल महसुस गर्न सक्दिनँ, तर प्रायः हिमालमा मलाई यस्तो भएको छ। र तिनलाई चलाइरहे रक्तसञ्चारले निरन्तरता पाउँछ।
…
मलाई लाशनाल कुनै भूत जस्तै लाग्छन्। उनी आफ्नै तालमा छन्। म मेरै तालमा। एउटा अनौठो संयोग- हामीलाई यी प्रयास तल हुँदाको भन्दा कम कठिन लाग्छ। के आशाको किरणले हाम्रा प्वाँख पलाएका हुन्?
घाम सीधै बरफमाथि परेको छ। र कालो चस्मा लगाउँदा पनि हिउँले आँखा तिरमिराउँछ। हामी बसेको ठाउँभन्दा तल रिँगटा लाग्ने अग्ला पर्वतश्रेणी रसातल जस्तै भएर फैलिएका छन्। त्योभन्दा तल साना आकारका हिमनदी देखिन्छ। हामी चिरपरिचित शिखर आकाशमा तीर झैँ ठाडो भएर उभिएका छौँ।

म्याग्दीको नारच्याङमा रहेको फुतफुते झरना। फुतफुते झरना नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने मोरिस हेर्जोग पदमार्गको आकर्षण बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस
लाशनाल अचानक मलाई समात्छन् र सोध्छन्, “म फर्कें भने तिमी के गर्छौ?”
बिजुली चम्केझैँ मेरो दिमागमा विविध घटनाका चलचित्र घुम्न थाल्छन्- प्रचण्ड गर्मीमा हिँडेका ती दिन, कठिन रक क्लाइम्बिङ, हिमाल चढ्न सबैले गरेको असाधारण प्रयास र शिविर खडा गर्ने क्रममा साथीहरूले देखाएको दैनिक वीरता… ! र त अहिले हामी गन्तव्यसामु उभिएका छौँ। सम्भवतः एक या दुई घण्टामा हाम्रो विजय हुनेछ। के अब हामी हार मान्ने? अहँ, यो कदापि हुन सक्दैन। मेरो दिल र दिमाग दुवैलाई यो अस्वीकार्य छ। म एउटा निर्णय लिन्छु, स्पष्ट र अटल निर्णय ! आज हामी एउटा आदर्शलाई पुज्छौँ। र त्यसका लागि कुनै बलिदानको आवश्यक छैन पनि।
मेरो आवाज स्पष्ट सुनिन्छ, “म एक्लै भए पनि निरन्तरता दिन्छु! एक्लै जान्छु।”
म एक्लै जाने भएँ। उनी फर्कन चाहन्छन् भने म रोक्न चाहन्नँ। उनी आफ्नै निर्णय लिन पूर्ण रूपले स्वतन्त्र छन्।
साथी मेरो यो इच्छाशक्ति हेर्न आवश्यक ठान्छन्। उनी निरुत्साहित पक्कै छैनन्। यो उनको होसियारी मात्र हो। जोखिमको निकट उपस्थितिले उनले यसो भनेका हुन्। उनी बिनाहिचकिचाहट आफ्नै निर्णय सुनाउँछन्, “उसो भए म तिमीसँगै आउँछु!”
…
निर्णय भइसकेको छ। म चिन्तामुक्त छु। काँधमा जिम्मेवारी लिएको छु। अब कुनै कुराले हामीलाई माथि जानबाट रोक्न सक्दैन। र लाशनालसँग साटासाट गरेका यी शब्दले मानसिक स्थिति पनि फेरिन्छ। र हामी दाजुभाइका रूपमा अघि बढ्छौँ।
म यस्तो अनुभूतिमा डुबेको छु, जुन पूरै नयाँ र अनौठो छ। मनमा यस्ता जीवन्त र विचित्र छाप छन्, जुन मैले हिमालमा पहिले कहिल्यै महसुस गरेको छैन।
मेरा सहयात्री र चारैतिरका दृश्य मलाई अवास्तविक जस्तै लाग्न थाल्छन्। हाम्रा दुःख देखेर म भित्रभित्रै मुस्कुराउँछु। किनकि मैले आफूलाई अलग्गै राखेको छु र टाढा बसेर ती दुःखद क्षणलाई महसुस गरिरहेको छु। जब दुःखको कुनै अनुभूति रहेन, तब भारको पनि कुनै महसुस भएन। यो चमकदार परिदृश्य, पवित्रताका यी नमुना- मैले चिनेको शिखर नभएर मेरो सपनाको शिखर हुन्।
घामको किरणमा चम्किएका हिउँ प्रत्येक चट्टानमा फैलिएका छन्, जसले मेरो मन भित्रैसम्म छुन्छ। यस्तो पूर्ण पारदर्शिता यसअघि कहिल्यै देखेको थिइनँ। त्यो देखेर मलाई आफू क्रिस्टलको संसारमा छु भन्ने लाग्छ। ध्वनिहरू अस्पष्ट छन्। वातावरण कपासको फोहराजस्तो।
मेरो हृदयभित्र एउटा अद्भुत सुखको छाल उठिरहेको छ, जसको व्याख्या गर्न म असमर्थ छु। यी सबै यतिसम्म नौला र विस्मयकारी छन्।
यो आरोहण मैले आल्पसमा गरेजस्तो भने छैन, जहाँ मान्छे नदेखे तापनि उनीहरूको उपस्थितिको भान हुन्छ। पछाडि फर्केर हेर्दा घरहरू देखिन्छन्, जुन माहोलले जोकोहीको इच्छाशक्ति जगाउँछ। यहाँ भने त्यस्तो छैन।
म र संसारबीच एउटा गहिरो खाडल छ। म एउटा छुट्टै संसारमा छु। मरुभूमि, निर्जीव, रुखो, एक सानदार संसार, जहाँ मानिसको उपस्थितिको कल्पनासम्म गरिएको थिएन। सम्भवतः इच्छाइएको पनि थिएन। हामी कुनै निषेधाज्ञा तोड्दै छौँ। सीमा पार गर्दै छौँ। र पनि नडराई अघि बढ्छौँ। म शान्ता थेरेसा अविलाको चर्चित सिँढी प्रसंग सम्झिन्छु। त्यत्तिकैमा केहीले मुटु समाते झैँ हुन्छ।
के लाशनाल पनि यी भावना महसुस गर्दै होलान्? शिखरको धारनजिकै छ र हामी ठूलो अनि अन्तिम चट्टानको फेद पुग्छौँ।
भीर धेरै ठाडो छ। र चट्टानहरू हिउँले ढाकिएका छन्।
…
“कुल्वार!”
एक औँलाको इसारा गर्दै हामीमध्ये एकले पर्खालसम्म पुग्ने बाटो आइपुगेको संकेत गर्दै चट्टानको लहरलालाई शिखर चढ्ने अन्तिम सुरक्षा रेखा भएको बताउँछन्!
“अहो, कस्तो भाग्य!”
भीरमा रहेको कुल्वार ठाडो छ तर चढ्न सकिन्छ।
“जाऔँ न त!”
लाशनालले इसाराले सहमति जनाउँछन्। ढिलो भइसकेको छ, पक्कै मध्याह्न कटिसकेको छ। मैले समयको गतिको चेतना गुमाइसकेको छु- मलाई केही समयअघि मात्र निस्केको जस्तो लाग्छ।
भीरमा रहेको कुल्वार ठाडो भए पनि चढ्न सकिने खालको छ। आकाश अझै नीलमणि पत्थर झैँ नीलो छ। भयानक कठिनाइ झेली चट्टानबाट टाढा हुँदै हामी दाहिनेतर्फ लाग्छौँ। र क्र्याम्पोन लगाएकाले हिउँमै बस्न रुचाउँछौँ। कुल्वारमा पाइला टेक्न पनि समय खासै लाग्दैन। यो धेरै भिरालो भएकाले हामी एकछिन हच्किन्छौँ। यो अन्तिम अवरोधसँग जुध्न के हामीसँग पर्याप्त शक्ति होला?
भाग्यवश हिउँ कडा खालको रहेछ। खुट्टा बजारेपछि क्र्याम्पोन राम्ररी गाडिन्छ। एउटा सानो गलत कदम पनि घातक हुन सक्छ। हातले समात्ने ठाउँ बनाइराख्नु आवश्यक छैन। जति सकिन्छ, हिउँको गहिराइमा गाडिने हिमबन्चरोले जहाजको लङ्गरले झैँ काम गर्यो।
लाशनाल आश्चर्यजनक तरिकाले लम्किरहन्छन्। हालको अवस्था सुरुका दिनको तुलनामा निकै फरक छ। दुःख भए पनि उनी अघि बढिरहन्छन्। बेला–बेला माथि हेर्दा देखिने यो कुल्वारप्रति हामी अनभिज्ञ छौं। सायद यो कुनै धारमा गएर टुंगिन्छ जस्तो देखिन्छ।
तर शिखर कता छ? दायाँ कि बायाँतर्फ?
हामी पाइला–पाइलामा रोकिँदै एकअर्काको पछि लागी अघि बढ्छौँ। हिमबन्चरोमा लेटिँदै सासलाई सन्तुलनमा ल्याउने र जोडले चलिरहेको मुटुको धड्कन शान्त पार्ने प्रयास पनि गर्छौं, जुन फुट्ला झैँ गरी धड्किरहेको छ।
अन्ततः हामीलाई थाहा हुन्छ- हामी यहाँ आइपुग्यौँ। अब हामीलाई रोक्ने कुनै कठिनाइ छैन। एकअर्कालाई हेर्नु पनि जरुरी छैन। अब हामी एकअर्काका आँखामा एउटा दृढसङ्कल्प मात्र देख्न सक्छौँ।
एकछिन बायाँतर्फ घुमेर फेरि केही पाइला चाल्छौँ। अलिअलि गर्दै, केही ढुङ्गाबाट जोगिँदै शिखरको धार हामीनजिकै आउँछ। जसरी हुन्छ हामी माथि पुग्ने कामना गर्छौं। के यो सम्भव छ?
हावाको तीव्र झोक्काले हामीलाई हिर्काउँछ।
हामी अन्नपूर्णको शिखरमा छौँ। ८०७५ मिटर! हाम्रो हृदय अथाह आनन्दले भरिन्छ।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पृष्ठभूमिमा हिमाल। अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मोरिस हेर्जोगको सम्मानमा नारच्याङदेखि आधार शिविर जोड्ने मोरिस हेर्जोग पदमार्ग सञ्चालन गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
“अहो, यो कुरा उनीहरूलाई थाहा भइदिएको भए!”
सबैलाई थाहा भइदिएको भए!
अन्नपूर्णको चुचुरो कर्निस आकारको बरफको धार हो। र अर्कोतर्फका हिमालका दृश्य निकै कहालीलाग्दा छन्। ती हिमाल हामीभन्दा मुनि ठाडै उभिएका छन्। संसारमा यी हिमालसँग तुलना गर्न मिल्ने अरु हिमाल कमै मात्र पाइन्छन्।
आधा बाटोमुनि बादल तैरिरहेका छन्, जसले ७००० मिटर तल कोमल र उर्वर पोखरा उपत्यकालाई ढाकेर बसेको छ। हामीभन्दा माथि केही पनि छैन।
हाम्रो मिसन पूरा भयो। र त्यही समयमा हामीले अझ ठूलो कुरा प्राप्त गर्छौं। जिन्दगी अब बडो अद्भुत हुनेछ। आफ्नै सपना यसरी अचानक पूरा हुनु र आफूले नै आफूलाई त्यो ठाउँमा छु भन्ने कुरामा विश्वास गर्न पनि कति गाह्रो !
म भावनामा डुब्छु। मैले यस्तो महान् र पवित्र खुसी कहिल्यै अनुभव गरेको थिइनँ।
यो खैरो चट्टान, अग्लो यो पर्वतश्रेणी… के यही नै सारा जीवनको उद्देश्य हो? के यो अभिमानको सीमारेखा हो?
“अब तल झर्ने होइन?”
लाशनाल मलाई झकझक्याउँछन्। उनी कस्तो अनुभूतिमा डुबेका छन्? त्यो मलाई थाहा छैन। के उनलाई आल्पसमा जस्तै भरखरै कुनै आरोहण पूरा गरेजस्तो लाग्यो होला? के अब उनलाई यत्तिकै ओर्लनुपर्छ जस्तो लाग्यो होला?
“एकछिन, म केही तस्बिर लिन्छु।”
“छिटो लिनू!”
हतार–हतार आफ्नै झोला खोतलेर क्यामेरा झिक्छु। भित्र राखिएको फ्रान्सको एउटा ठूलो र अर्को सानो झन्डा झिक्छु। तर यी त्यति अत्यावश्यक भने हैनन्। र पनि प्रतीकहरूभन्दा बढी अर्थपूर्ण चाहिँ हुन्। यी चिह्न स्नेही सम्झनाका साक्षी हुन्।
पसिना वा खानाले मैलो पारेका कपडाका टुक्रालाई हिमबन्चरोको बिँडमा बाँध्छु। त्यसपछि क्यामेराले लाशनाललाई फोकस गर्छु।
“तिमी मेरो तस्बिर खिचिदिन्छौ?”
“देऊ, छिटो गर,” लाशनाल भन्छन्।
उनी केही तस्बिर लिन्छन्। अनि क्यामेरा मेरो हातमा थमाउँछन्। म क्यामेरामा रङ्गीन रिल हाल्छु। र यी दिन, भविष्यमा हाम्रा लागि निकै महत्त्वपूर्ण सम्झना हुनेछन् भनी फेरि तस्बिर खिच्न थाल्छु।
“तिमी पागल त भएनौ?” लाशनाल भन्छन्, “हामीसँग खेर फाल्ने समय छैन! अहिल्यै झर्नुपर्छ!”
वास्तवमा वरिपरिको मौसम बिहान जस्तो सफा छैन। त्यसैले साथीको अधैर्यको बाँध फुट्छ। “हामी तुरुन्तै तल झर्नुपर्छ!”
उनको कुरा सही छ। उनी त्यस्ता पर्वतारोही हुन्, जसलाई यस क्षेत्रको राम्रो ज्ञान छ। तैपनि हामीले विजय प्राप्त गरेको कुरालाई लिएर म अभ्यस्त हुन सकिरहेको छैन। मलाई विश्वासै लागेको छैन कि हामी हिउँमाथि हिँडेका छौं।
एउटै ढुङ्गा नभएकाले यहाँ केअर्न बनाउन सक्दैनौं। सबैमा बरफ जमेको थियो। लाशनाल खुट्टा बजार्छन्। उनलाई खुट्टा जमेको महसुस हुँदै छ। र मलाई पनि। तर त्यसमा खासै कुनै ध्यान दिन्नँ। मान्छेले चढेको सबैभन्दा अग्लो शिखर हाम्रो पैतालामुनि छ।
यहाँ हाम्रा पूर्ववर्ती आरोहीहरूको तस्बिर मेरो दिमागमा चलचित्र झैँ घुम्न थाल्छ- ममरी, मालोरी, इरबिन, बाउअर, बेलजेनबाक, टिलम्यान, सिप्टन… कति जनाको मृत्यु भयो। कति जनालाई त यही हिमालमा अस्ताउनुभन्दा सुन्दर मृत्यु अरु के थियो होला र?
मेरो खुसीमा विनम्रता भरिएको छ। यो केवल दुई जनाले चढेको अन्नपूर्ण नभएर सम्पूर्ण टोलीले चढेको अन्नपूर्ण हो। यत्तिकैमा तल शिविरमा बसिरहेका सबैलाई सम्झिन्छु। मलाई थाहा छ, उनीहरूको प्रयास र बलिदानले नै आज हामी सफल हुन सक्यौँ।
यस्ता क्षण छन्, जब सबैभन्दा जटिल कार्यहरू संक्षिप्त रूपमा प्रस्तुत हुन्छन् र ती अचानक हाम्रो सामु स्पष्ट देखापर्छन्- हाम्रो समूहलाई यसरी रोक्नै नसकिने ठूलो इच्छाशक्तिले यहाँ पुर्यायो।
मेरो दिमागमा एकपछि अर्को गर्दै तस्बिर देखापर्न थाल्छन्। शामोनी उपत्यका, जहाँ मैले मेरो युवावस्थाको सबैभन्दा राम्रा क्षण बिताएँ। मलाई धेरै प्रभावित गरेको मों ब्लँ! बाल्यकालमा जब मों ब्लँबाट मान्छेहरू फर्किएको देख्थेँ, मलाई तिनीहरू अनौठा लाग्थे। तिनीहरूका आँखामा एउटा अनौठो चमक हुन्थ्यो।
“अब सीधै तल!” लाशनाल भन्छन्।
आफ्नै झोला मिलाइसकेकाले उनी तल झर्न सुरु गर्छन्। म खल्तीबाट अल्टिमिटर झिक्छु, जसले ८५०० मिटर उचाइ देखाउँछ।
अन्ततः म मुस्कुराउँछु। ट्युबमा रहेको बाँकी बाक्लो दूध पिउँछु। र ट्युबलाई त्यहीँ छाड्छु, जुन हामी यहाँ आएको एक मात्र निसान हुनेछ।
आफ्नै झोला बन्द गरेर पन्जा र चस्मा लगाउँछु। हिमबन्चरो उचालेर चारैतिर एकछिन नजर डुलाउँछु। अनि हतार–हतार तल झर्न थाल्छु। कुल्वारमा हराउनुअघि अन्तिम पटक शिखरतिर पुलुक्क हेर्छु। अबदेखि यो शिखर हाम्रा लागि आनन्द र गर्वको विषय भयो।
लाशनाल अघि नै तल झरेकाले कुल्वारको फेदमा हुन्छन्। म हतार–हतार उनले छाडेका पाइला पछ्याउँछु। म सकेसम्म छिट्छिटो पाइला चाल्छु। तर यो ठाउँ खतरनाक छ। त्यसैले पाइलैपिच्छे शरीरको भारले कतै हिउँ खस्ने त होइन भनेर सजग पनि हुन्छु। लाशनाल मेरो अनुमानभन्दा निकै छिटो ओरालो झरिरहेका छन्। अब चट्टान र हिउँमिश्रित क्षेत्र पार गर्ने पालो मेरो हो। अन्ततः म बल्ल चट्टानी भीरको फेदमा पुग्छु।
छिट्छिटो हिँडेकाले मेरो सास फुल्छ। खै के मनसायले हो, आफ्नै झोला खोल्छु। म के गर्न लाग्दै छु? त्यसबारे निश्चित भइनँ।
“ओहो ! पन्जा!”
म झुक्नुअगावै पन्जाहरू चिप्लिँदै र गुड्दै सीधै भीरमा पुग्छन्। म किंकर्तव्यविमूढ भएर त्यहीँ बसिरहन्छु। नरोकिईकन पन्जा खसेको देखेर स्तब्ध हुन्छु। केही गर्न सक्दिनँ! यसको परिणाम गम्भीर हुन सक्छ। अब के गर्ने होला?
“छिट्टै क्याम्प–५!”
रेब्युफा र तेरे त्यहीँ हुनुपर्छ। मानौं, कुनै चमत्कार भए झैं मेरो चिन्ता गायब हुन्छ। अब मेरो एक मात्र उदेश्य छ, त्यो हो क्याम्प पुग्ने। यस्तै दुर्घटनाका लागि भनेर सधैं सुरक्षित राख्ने गरेका मोजामा भने एकछिन पनि मेरो ध्यान जाँदैन।
हतारिँदै लाशनाललाई भेट्ने कोसिस गर्छु। हामी शिखर पुग्दा दिउँसोको दुई बजेको थियो। र चढ्न निस्कँदा बिहानको ६ बजेको थियो। अहिले समयको अवधारणा भुलेको म स्विकार्छु। दौडिरहेको छु जस्तो लाग्छ। तर सामान्य रूपमा हिँडिरहेको छु, सायद बिस्तारै–बिस्तारै।

अन्नपूूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक। अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ वर्षपछि आधार शिविरमा चहलपहल बढ्न थालेको छ। तस्बिर : सन्तोष गौतम/रासस
सास फेर्न छिनछिनमा रोकिन बाध्य हुन्छु। आकाश अहिले बादलले ढाकिएको छ। आकाश मैलिएको छ। चिसो हावा चल्छ। यो कुनै राम्रो संकेत भने होइन। अब यहाँबाट हिँड्नुपर्छ! तर लाशनाल कहाँ छन्? उनी यस्तो तगडा छन् भन्ने मैले सोचेको पनि थिइनँ।
उनलाई कम्तीमा २०० मिटर जति पर देख्छु। उनी रोकिनेवाला छैनन्।
बाक्लिएको बादल हामी माथि–माथि आउँछ। हावा अझ जोडले चले पनि जाडोले भने मलाई सताउँदैन। सायद ओरालो झर्दा रक्तसञ्चार पुनः सामान्य भएको हुनुपर्छ।
यो हुस्सुमा टेन्ट भेटिएला त? म त्यो धार हेर्छु, जुन चराको चुच्चो जस्तै क्याम्पमाथि निस्केको छ। चुच्चो त बिस्तारै बादलभित्र पो हराउँछ। तर सौभाग्यवश! तल भालाको टुप्पो जस्तै भाग तुरुन्तै चिन्छु। कुहिरो अझै बाक्लियो भने सीधै धारतर्फ जान्छु। त्यसको तीरैतीर जाँदा शिविरसम्म त जसरी पनि पुगिन्छ। यसरी पक्कै म टेन्टसम्मै पुग्छु।
…
लाशनाल बेला–बेला हराइरहन्छन्। अनि कुहिरो यति बाक्लियो कि, उनलाई पटक्कै देखिनँ। त्यसपछि झन् सास फुलाउँदै फटाफट हिँड्छु।
भीर झन् बढी ठाडो हुन्छ। चिल्ला बरफका टुक्रासँगै समान रूपले हिउँ देखापर्छ। राम्रो संकेत, म शिविरनजिकै पुग्दै छु।
कुहिरोको बीचमा बाटो पत्ता लगाउन निकै गाह्रो हुन्छ। त्यो ठूलो भीरलाई ध्यानमा राखेर म आफू गइरहेको दिशातर्फ लाग्छु। जमिन पनि समान छैन। क्र्याम्पोनको मद्दतले बरफको पर्खालबाट सीधै तल ओर्लिन्छु। केही पाइला अघि बढेपछि केही धब्बा देख्छु। त्यो देखिएपछि यो शिविर हो भन्ने लाग्यो। तर त्यहाँ दुइटा टेन्ट पो रहेछन्!
उसो भए रेब्युफा र तेरे आइपुगेछन्। यो कस्तो खुसीको कुरा! हामीले विजय प्राप्त गर्यौँ, हामी शिखरबाट फर्कंदै छौँ भनेर म उनीहरूलाई सुनाउँछु। यो सुनेर उनीहरू कति खुसी होलान्!
म शिविर आइपुग्छु। समतल ठाउँ फराकिलो बनाइएको छ। र दुवै टेन्ट आमनेसामने छन्, जुन ढोका बीचमा राखेर दुवै छिर्न मिल्ने गरी बनाइएको छ।
म पहिलो टेन्टको डोरी कस्सिएको ठाउँमा ठोक्किन पुग्छु। टेन्टभित्रका मान्छे चलमलाउन थाल्छन्। उनीहरूले मेरो आवाज सुन्छन्। ऊ रेब्युफा! तेरेको मुहार पनि झुल्किन्छ।
“हामी सफल भयौँ। हामी अन्नपूर्णबाट फर्कियौँ।”
– फाइनप्रिन्टबाट प्रकाशित मोरिस हेर्जोगको अनूदित पुस्तक ‘अन्नपूर्ण’ को अंश। पुस्तकमा यो अंशको शीर्षक ‘जुन ३, १९५०’ छ।