npl.977 Nepal News Stream

#सम्पादकीय

News of Nepal logo News of Nepal

कामनपा सुधारको बलियो योजना बनाऊ

न्युज अफ नेपाल 17 hours ago

पूर्वमेयर बालेन्द्र साहको काठमाडौं महानगरपालिकालाई उत्कृष्ट स्थानीय तहको दाबी असफल भएको देखिएको छ । मुलुकका ६ महानगरपालिकामध्ये काठमाडौं महानगर सबैभन्दा कमजोर भएको देखिन्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी कमजोर देखिएको हो । वित्तीय अनुशासनको अभाव तथा विकास योजना तर्जुमामा गरिएको मनपरिको कारण सबैभन्दा कमजोर देखिएको हो ।

त्यसको पछिल्लो कारण मेयर साहको सचिवालयको अस्वाभाविक चलखेल र आन्तरिक खिचातानी नै हो । आयोगको मूल्याङ्कनमा विराटनगर पहिलो स्थानमा छ । ललितपुर महानगरपालिका दोस्रो, भरतपुर तेस्रो, पोखरा चौथो, वीरगन्ज पाँचौं र काठमाडौं अन्तिम स्थानमा रहेको छ । आयोगले स्थानीय तहले गर्ने राजस्व संकलन, बजेट कार्यान्वयन, वित्तीय सुशासनलगायत विषय समेटेको छ ।

मेयरको बागडोर सम्हालेपछि साहले प्रशासनको जिम्मेवारी लिएका प्रमुख प्रशासकीय अधिकृतमाथि गर्ने व्यवहार प्रमुख कारक हो । मेयर साहले सबै विभागमा विज्ञको नाममा आफ्ना निकटका लाई प्रवेश दिएर हस्तक्षेप गर्नु नै मुख्य कारण हो । कामभन्दा पनि गफ बढी र कर्मचारीलाई त्रास देखाएर राखेको कारण पर्फरमेन्स कमजोर देखिएको हो ।

संविधान २०७२ को अनुसूची–८ मा स्थानीय तहको अधिकारको सूचीअन्तर्गत २२ वटा विषयहरू उल्लेख छन् । त्यसैको आधारमा आयोगले मूल्याङ्कन गरेको हो । अधिकार सूचीमा नगर प्रहरीदेखि कर, सहकारी, आधारभूत तहसम्मको विद्यालय शिक्षा, स्थानीय सेवाको व्यवस्थापन, स्वास्थ्य, स्थानीय सडक, सिँचाइ, भूमि व्यवस्थापनदेखि भाषा–संस्कृतिलगायत छ ।

आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्याङ्कनअनुसार कामपाले ४४ दशमलव ७ अंक मात्र प्राप्त गरेको छ । यो देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो । विराटनगरले ७८ दशमलव ११, ललितपुरले ७६ दशमलव ३३, भरतपुरले ६८ दशमलव ४, पोखराले ५८ दशमलव ४, वीरगन्जले ५४ अंक पाएका छन् ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको उल्लेख छ । आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको अवस्थालार्ई समेत आधार बनाइएको छ ।

कामपाले आगामी बजेटमा आधार पूरा नगरे झनै सरकारबाट पाउने अनुदान घट्न सक्छ । स्थानीय तहलाई सुम्पिएको दायित्व पूरा गर्नका लागि संविधानले नै राष्ट्रिय स्रोतमा पहुँच सुनिश्चित पनि गरेको छ । त्यसको आवश्यक व्यवस्था मिलाउन संविधानमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नामको संवैधानिक निकाय रहन्छ ।

संविधानले तोकेको समयमा बजेट ल्याउन नसक्नुजस्ता कमजोरीले महानगरपालिकाको कार्यपालिका आफ्नो जिम्मेवारीमा नराम्ररी चुकेको छ । त्यसको जिम्मेवारी कामपाका प्रमुख र उपप्रमुखले लिनुपर्छ । मेयर साहले राजीनामा दिएपछि कार्यबाहक मेयरको जिम्मेवारी पाएकी सुनिता डंगोलले कमजोर अवस्थालाई सुधार्न धेरै परिश्रम गर्नुपर्छ । त्यसका लागि आजैबाट सुधारका योजनासहित बलियो कार्ययोजना बनाउनु आवश्यक छ ।

Explore by Source or Category