फुटको सँघारमा कांग्रेस
पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै २ वैशाख २०८३ मा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेपछि पार्टीभित्रै दुई पक्षबीचको विवाद र कलह छताछुल्ल भएको छ। खड्काले १४ र ३० चैत २०८२ मा उपसभापतिको हैसियतमा पार्टीको लेडरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गरेका थिए। विशेष महाधिवेशनबाट सभापति चुनिएका गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिले खड्का हाल उपसभापतिमा नरहेको भन्दै सातदिने स्पष्टीकरण सोधेको छ। तर, खड्काले विशेष महाधिवेशनबाट आएको समिति नै आधिकारिक नभएकाले आफूलाई स्पष्टीकरण सोध्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।
२३ र २४ भदौको जेन-जी आन्दोलनपछि कांग्रेसको नियमित महाधिवेशन हुन सकेन। पहिलादेखि विशेष महाधिवेशन हुनुपर्ने माग राख्दै आएको समूहले भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेर ३० पुस २०८२ मा गगनकुमार थापालाई सभापति चयन गर्यो। तर, तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनमा भाग लिएन। अर्कातिर, कांग्रेस नेता शेखर कोइराला समूह पनि महाधिवेशनमा सहभागी भएन। विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्व आधिकारिक भए पनि यतिखेर पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समानान्तर गतिविधि गरिरहेका छन्।
विशेष महाधिवेशन बहिष्कार गरेको देउवा समूह आफू आधिकारिक कांग्रेस भएको दाबी लिएर निर्वाचन आयोग पुगेको थियो। थापा समूहले पनि आफूलाई आधिकारिक दाबी गरेर आयोगमा निवेदन दियो। गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिता दिएको विरुद्ध ४ माघमा देउवा पक्ष सर्वोच्च अदालत गयो। अदालतले बहस सुरु गरे पनि अहिलेसम्म छिनोफानो गरेको छैन। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको छिनोफानो नभएसम्म आफू नै आधिकारिक कांग्रेसको उपसभापति रहेको खड्काको दाबी छ। यसरी कांग्रेस अहिले देखिने गरी थापा, देउवा र कोइराला समूहमा विभाजित छ।

२ वैशाखमा सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर स्रोत : नेपाल फोटो लाइब्रेरी।
पछिल्ला घटनाक्रमले कांग्रेसभित्रको कलह अदालतको इजलासमा मात्र सीमित छैन, सडक र सार्वजनिक वृत्तसम्म फैलिएको छ। २००७ सालको क्रान्तिदेखि, २०४६ र २०६२/६३ को जनआन्दोलनसम्म उदार लोकतन्त्रका लागि अग्रमोर्चामा लड्दै आएको कांग्रेस यतिबेला आन्तरिक कलहमा फसेर फुटको सँघारमा पुगेको छ।
प्रजातन्त्र र बहुदल ल्याउने अनि संविधानसभाबाट संविधान जारी गर्नेसम्मको यात्रामा कांग्रेसबाट अहिलेसम्म ६ जना प्रधानमन्त्री बने– मातृकाप्रसाद कोइराला दुई पटक, बीपी कोइराला एक पटक, कृष्णप्रसाद भट्टराई दुई पटक, गिरिजाप्रसाद कोइराला चार पटक, सुशील कोइराला एक पटक र शेरबहादुर देउवा पाँच पटक। कांग्रेसले १५ पटक सरकारको नेतृत्व गरिसकेको छ। यसबीचमा कांग्रेसभित्र कोइराला बिरासतका विरुद्ध पनि संघर्ष चल्यो।
२०१५ सालको आमचुनावमै कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेको थियो। २०४८ सालको चुनावमा पनि कांग्रेर ११० सिट जितेर बहुमत ल्याए पनि कांग्रेसले जनअपेक्षाअनुसार काम गर्न सकेन। २०५१ सालमा भएको चुनावमा मतदाताले कांग्रेसलाई ८३ सिट जिताएर दोस्रो दल बनाएर सचेत गराएका थिए। २०५६ सालको आमचुनावमा फेरि कांग्रेसले १११ सिटसहित बहुमत हासिल गर्यो। मतदाताले पहिला सचेत गराएर फेरि पहिलो दल बनाए पनि कांग्रेस सच्चिएन। देशमा माओवादी द्वन्द्व चर्किनुमा कांग्रेसको अकर्मण्यताको पनि भूमिका थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा मतदाताले तत्कालीन नयाँ दल नेकपा (माओवादी)लाई पहिलो दल बनाए। कांग्रेस ३७ सिटमा खुम्चिएर दोस्रो दल बन्यो। पहिलो संविधानसभाले नयाँ संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो, १०५ सिट ल्याएर कांग्रेस दोस्रो दल बन्यो।
२००७ सालको क्रान्तिदेखि, २०४६ र २०६२/६३ को जनआन्दोलनसम्म उदार लोकतन्त्रका लागि अग्रमोर्चामा लड्दै आएको कांग्रेस यतिबेला आन्तरिक कलहमा फसेर फुटको सँघारमा पुगेको छ।
दोस्रो संविधानसभाले नयाँ संविधान जारी गर्यो। त्यसका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्यो। नयाँ संविधानपछि देश संघीय व्यवस्थामा गयो, तर संविधानमा लेखिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न कांग्रेसले कुनै गतिलो पहल गरेन। यसपछि २०७४ सालमा भएको निर्वाचनमा २३ सिट जितेर कांग्रेस तेस्रो दल बन्यो। २०७९ सालको निर्वाचनमा ६३ सिट जितेर दोस्रो दल बनेको कांग्रेसले सिद्धान्त नै नमिल्ने कम्युनिस्ट दलहरूसँग गठबन्धन गरेर सरकार बनायो। यो कांग्रेसको उल्टो यात्रा थियो। नेताहरू सत्तास्वार्थमा रुमल्लिँदा कांग्रेसले आमनागरिकबाट विश्वास गुमाउँदै गयो। सत्तामा रहँदा हरेक नियुक्तिमा पैसाको चलखेल, नक्कली भुटानी शरणार्थी काण्डदेखि विभिन्न अनियमितताका काण्डमा कांग्रेस नेताहरू मुछिँदै गए। संविधान संशोधन गर्ने बहाना बनाएर एमालेसँग सत्ता गठबन्धन गरेको कांग्रेसले सरकारमा गएपछि संविधान संशोधनको मुद्दा बिर्सियो।
कांग्रेसलगायत पुराना दलहरूको पुरानै रबैयाविरुद्ध देशमा जेन-जी आन्दोलन भएको भयो। जेन-जी आन्दोलनमा कांग्रेस र यसका नेताहरू निसानामा परेपछि कांग्रेसभित्र युवाहरूले विशेष महाधिवेशनको बाटो रोजे, त्यसपछि कांग्रेस झनै आन्तरिक किचलोमा फसेको छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर हुनु भनेको देशको लोकतान्त्रिक धार नै कमजोर भएको विश्लेषण गर्छन्। भन्छन्, “रास्वपाको शक्तिशाली सरकार भएको बेला प्रमुख विपक्षीका रूपमा देशलाई बलियो कांग्रेसको खाँचो छ।”
आन्तरिक कलह र कमजोर प्रतिपक्ष
जेन-जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बूढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमण मात्रै भएन, निवासमा आगजनीसमेत भयो। आन्दोलनका क्रममा कांग्रेस मुख्यालय तोडफोड गर्नेदेखि थुप्रै नेताको निवासमा क्षति पुर्याइयो।
जेन-जी आन्दोलनको निसानामा परेर कमजोर भएको कांग्रेस आन्तरिक रूपमा एकजुट हुनुपर्नेमा झनै छिन्नभिन्न हुन पुगेको छ। २१ फागुनको चुनावमा समेत कांग्रेस नेता एकजुट हुन सकेनन्। विशेष महाधिवेशनबाट पाखा पारिएका धेरैजसो नेता चुनावमा कांग्रेसको पक्षमा सक्रिय भएनन्। सभापति थापाले असन्तुष्ट नेतालाई विश्वासमा लिने प्रयास गरेनन्। अन्ततः २१ फागुनको चुनावको टिकट वितरणले समेत कांग्रेसभित्रको आन्तरिक कलहलाई मलजल गर्यो। टिकट वितरणमा थापा नेतृत्व हाबी भएका कारण देउवा पक्षका अधिकांश नेता चुनावमा सहभागी बनेनन्। भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरिएका सभापति थापा आफैँ सर्लाही ४ बाट पराजित भए। देशभित्र र पार्टीभित्र लोकतान्त्रिक संस्कारका लागि लामो संघर्ष गरेको कांग्रेस पछिल्लो जेन-जी आन्दोलन र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिबाटै हराउने बिन्दुमा पुगेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट जितेको छ।

कांग्रेस नेता पूर्णबहादुर खड्का कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गर्दै तत्कालीन कांग्रेस सभापित शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई
प्रतिपक्षका रूपमा खरो आवाज उठाउन सक्ने धेरैजसो प्रभावशाली नेता पराजित भएकाले सदनमा पनि कांग्रेस निम्छरो हुन पुगेको कांग्रेस नेता भीमसेनदास प्रधान बताउँछन्। उनी थप्छन्, “संसद्मा कांग्रेस कमजोर प्रमुख प्रतिपक्ष भएको छ।”
फुटको सँघारमा
जेन-जी आन्दोलन र गएको चुनावमा भोगेको पराजयको निर्मम समीक्षा गरेर एकजुट हुनुपर्ने बेला कांग्रेस आन्तरिक कलहले फुटको सँघारमा पुगेको कांग्रेसकै नेताहरू स्वीकार्छन्। पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता मीनबहादुर विश्वकर्मा भन्छन्, “कांग्रेस फुटको सँघारमा छ। लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेसलाई कमजोर बनाएर नेपालमा राजनीतिक अस्थिरता बनाइराख्न अदृश्य शक्तिले षड्यन्त्र गरेको छ, जसको भुमरीमा यतिखेर कांग्रेस परेको छ।”
लोकतन्त्रका लागि लड्दै आएको र सन्तुलित परराष्ट्र नीति अपनाएको कांग्रेसले कसैको दबाब नमान्दा अहिलेको अवस्था आएको विश्वकर्माको दाबी छ। भन्छन्, “लोकतान्त्रिक व्यवस्थाको अगुवाइ गर्ने कांग्रेसलाई कमजोर बनाइयो भने अरू दल पनि कमजोर हुन्छन् भनेर पटकथा रचियो र जेन-जी आन्दोलन गराइयो। त्यसपछि कांग्रेसलाई अझै कमजोर बनाउन विशेष महाधिवेशन गराइयो। अन्ततः कांग्रेस दुई टुक्रा हुने अवस्थामा पुगेको छ।”
अहिले कांग्रेसमा एकातिर क्रियाशील सदस्यता विवाद बल्झिएको छ भने अर्कातिर पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएपछि दुई पक्ष खुलेरै एकअर्काको विरोधमा उत्रिएका छन्। कलहकै कारण अहिलेसम्म कांग्रेसले संसदीय दलको नेतासमेत छान्न सकेको छैन।
२० पुसमा पार्टी सभापति शेरबहादुर देउवाले अन्य पक्षका सबै कुरा मान्न तयार रहेको घोषणा गरिसके पनि जबरजस्ती विशेष महाधिवेशन गरिनुमा अदृश्य शक्तिको हात रहेको उनको दाबी छ। “कांग्रेस यसरी कमजोर बन्नु भनेको एउटा दल मात्र होइन, संसदीय राजनीति नै कमजोर बन्नु हो,” नेता विश्वकर्मा भन्छन्, “कांग्रेसमा भएको यस समस्याले राजनीतिक दलहरूबीच पनि वैमनस्य बढाउँछ। कांग्रेसमा जस्तै एमाले र अन्य दलमा पनि यो रोग सर्न सक्छ।”
अहिले कांग्रेसमा एकातिर क्रियाशील सदस्यता विवाद बल्झिएको छ भने अर्कातिर पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएपछि दुई पक्ष खुलेरै एकअर्काको विरोधमा उत्रिएका छन्। कलहकै कारण अहिलेसम्म कांग्रेसले संसदीय दलको नेतासमेत छान्न सकेको छैन।

भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशन। तस्बिर : बिक्रम राई
आफ्नै नेता पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्दा बोल्न नसकेको कांग्रेस, तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा पनि चुपचाप छ। गगनले आफूलाई साँघुरो घेरामा राखेर पुराना नेतालाई बेवास्ता गर्दा कांग्रेस आसन्न फुटबाट बच्न नसक्ने अवस्थामा पुगेको नेताहरू बताउँछन्।
कांग्रेसलाई इतिहासकै कमजोर मोडमा ल्याउन विशेष महाधिवेशनबाट आएका गगन थापा पक्षको प्रमुख भूमिका रहेको कांग्रेस नेता भीमसेनदास प्रधानको दाबी छ। “चुनावमा नराम्रो पराजयपछि अग्रज नेताहरूसँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने योजना बनाउनुपर्नेमा विशेष महाधिवेशनबाट सभापति बनेका गगनले कसैसँग छलफल गरेनन्,” नेता प्रधान भन्छन्, “गगनले अग्रजलाई बेवास्ता गरेपछि एकताको बाटोमा हिँड्नुपर्ने कांग्रेस झनै क्षयीकरण भयो। कांग्रेस जोगाउन गगनले जे-जस्तो पहल गर्नुपर्ने थियो, त्यसमा उनी चुके।”
विशेष महाधिवेशनको विवाद अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलामा कांग्रेसको भविष्य रहेको नेता मीनेन्द्र रिजाल बताउँछन्। भन्छन्, “अदालतको फैसला नआई बोल्ने अवस्था छैन।”
अदालतले १४औँ महाधिवेशनबाट आएको देउवा नेतृत्वको समूहका पक्षमा फैसला गरे असन्तुष्ट पक्ष चोइटिने र विशेष महाधिवेशनका पक्षमा फैसला गरे पुराना नेताको ठूलो समूह अलग हुने अवस्था छ।
नेता विश्वकर्मा भने अदालतले जस्तो निर्णय गरे पनि फुट निश्चित जस्तै भएको बताउँछन्। उनका अनुसार अदालतले १४औँ महाधिवेशनबाट आएको देउवा नेतृत्वको समूहका पक्षमा फैसला गरे असन्तुष्ट पक्ष चोइटिने र विशेष महाधिवेशनका पक्षमा फैसला गरे पुराना नेताको ठूलो समूह अलग हुने अवस्था छ।
उता, कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बिहीबार विज्ञप्ति जारी गरेर बृहत् एकताका पक्षमा उभिन कांग्रेस नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो बेला उत्पन्न आन्तरिक विवादले पार्टी मात्रै होइन, सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढाएको छ। तसर्थ, यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य छ।’
कांग्रेस यतिबेला धराशायी भएको र यो अवस्था निम्तिनुमा थापा र देउवा दुवै पक्षको भूमिका रहेको राजनीतिक विश्लेषक वाग्लेको भनाइ छ। “विभाजन र एकता कांग्रेसका वंशाणुगत विशेषता भए पनि अहिलेको अवस्थामा एकजुट हुन नसक्नु चाहिँ दु:खद छ,” वाग्ले भन्छन्, “निर्वाचनमा पराजित भएपछि आफ्ना कमजोरी कहाँ भयो भन्ने विषयमा समीक्षा गरेर सुधार गर्नुपर्नेमा चुनावपछि पनि आरोप-प्रत्यारोपमै लागिरहँदा पार्टी धरापमा पुग्यो।”



