npl.977 Nepal News Stream

#शिक्षा

Contents
Kendrabindu logo Kendrabindu

हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ‘जर्नल अनावरण कार्यक्रम’ सम्पन्न

इन्द्र कमल रोक्का 48 minutes ago

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ‘जर्नल अनावरण कार्यक्रम’ सम्पन्न भएको छ ।

शुक्रबार कलेजकै हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा इन्सिच्यूट अफ इन्जिनियरिङ्गका डिन प्रा.डा. सुशील बहादुर बज्राचार्य तथा विभिन्न कलेजका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हिमालय कलेज अफ इन्जिनियरिङ्गले पढाईमा मात्र नभएर लेखाईमा पनि आफ्ना विद्यार्थीहरुले उत्तिकै ध्यान दिनुपर्ने ध्येका साथ उक्त जर्नल निकालेको हो । जर्नलमा शिक्षक, विद्यार्थी र विज्ञ टोलीको प्रतिभा र खोजलाई उतारिएको छ ।

‘विद्यार्थीहरुले अध्ययन गरुन्’ भन्ने उद्देश्यका साथ हिमालय कलेजले उक्त जर्नलको भोल्यूम–२ सार्वजनिक गरेको कलेजका निर्देशक किशोर गौतमले बताए । कलेजले केही समयअघि जर्नलको पहिलो भोल्यूम सार्वजनिक गरेको थियो ।

त्यसैगरी निर्देशक गौतमले आफू लक्ष्यमा पुग्नका लागि भन्दा पनि आफ्नो विद्यार्थीलाई लक्ष्यमा पुर्याउने शिक्षक सही अर्थमा शिक्षक भएको दावी गरेका थिए ।

कलेजका भाइस प्रिन्सिपल तथा एसोसिएट प्रोफेसर अशोक जिएमले समयसापेक्ष चल्ने उद्देश्यले रिसर्च म्यानेजमेन्ट सेलअन्तर्गत खोज तथा अनुसन्धानका कार्यहरुलाई तिव्रता दिँदै शिक्षक, विद्यार्थी र विज्ञ टोलीको सहायताले जर्नल प्रकाशनलाई पनि अध्ययनका रुपमा अनुशरण गरेको बताए ।

Kendrabindu logo Kendrabindu

प्रिमियर स्कुलमा तेस्रो राष्ट्रिय कलेज मेला सम्पन्न, स्वदेशमै उच्च शिक्षाको अवसर विस्तारमा जोड

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलद्वारा आयोजित तेस्रो ‘राष्ट्रिय कलेज मेला’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने बढ्दो प्रवृत्तिलाई ध्यानमा राख्दै स्वदेशमै गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले स्कुलकै प्रांगणमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालयका कक्षा ११–१२ संयोजक अच्युत लम्सालका अनुसार विद्यार्थी तथा अभिभावकलाई नेपालभित्रै उपलब्ध शैक्षिक अवसरबारे स्पष्ट जानकारी गराई स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना गर्नु नै मेलाको मुख्य लक्ष्य हो ।

मेलामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त कलेजहरूका साथै नेपालमै अध्ययन कार्यक्रम सञ्चालन गरिरहेका विदेशी विश्वविद्यालयसँग आबद्ध कलेजहरूको पनि सहभागिता रहेको थियो । सहभागी कलेजहरूले व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य शिक्षा, सूचना प्रविधि लगायत विभिन्न विषयमा उपलब्ध अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, आवश्यक योग्यता तथा छात्रवृत्ति सुविधाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रिमियरसँगै अन्य विद्यालयका विद्यार्थीहरूले पनि सहभागिता जनाउँदै स्नातक तहमा अध्ययनका अवसर, विषय छनोट, अध्ययन अवधि, शुल्क संरचना र भविष्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए । कलेज प्रतिनिधिसँग सिधा संवाद गर्न पाउँदा आफूले रोजेको विषय र भविष्यको योजना स्पष्ट बनाउन सहज भएको विद्यार्थीहरूले बताएका छन्।

मेलाको मुख्य आकर्षणका रूपमा विचार गोष्ठी सञ्चालन गरिएको थियो । गोष्ठीमा किस्ट मेडिकल कलेजका प्राध्यापक डा. रोबिन जोशी, हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतम तथा पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले आफ्ना धारणा राखेका थिए ।

किस्टका प्राध्यापक डा. रोबिन जोशीले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने सम्भावनाबारे प्रकाश पार्दै शिक्षा नीतिबारे विद्यार्थीहरू प्रारम्भिक चरणदेखि नै सचेत हुनुपर्ने बताए । उनले स्वास्थ्य शिक्षामा नेपालले हासिल गरेको प्रगति उल्लेख गर्दै आत्मविश्वासका साथ स्वदेशमै अध्ययन गर्न आग्रह गरे।

यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतमले विद्यार्थीहरूले आफ्नो लक्ष्य स्पष्ट बनाएर निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए । उनले प्राविधिक तथा इन्जिनियरिङ शिक्षामा नेपालमै पर्याप्त पूर्वाधार र दक्ष जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै सही मार्गदर्शन पाए सफल भविष्य निर्माण गर्न सकिने बताए ।

पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले विदेशी पाठ्यक्रमलाई नेपालमै प्रभावकारी रूपमा सञ्चालन गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु दीर्घकालीन लक्ष्य रहेको बताइन्। स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा विस्तार हुँदा आर्थिक भार कम हुनुका साथै देशको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ थियो ।

गोष्ठीमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। स्वदेशमै गुणस्तरीय उच्च शिक्षाको वातावरण निर्माण गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने लक्ष्यसहित आगामी वर्षहरूमा पनि राष्ट्रिय कलेज मेलालाई निरन्तरता दिइने जनाइएको छ।

Kendrabindu logo Kendrabindu

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

इन्द्र कमल रोक्का 6 hours ago

गण्डकी । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् ।

पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ ।

उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ ।

Explore by Source or Category