npl.977 Nepal News Stream

#वैदेशिक रोजगारी

Himal Press logo Himal Press

विदेशको ठक्करले उद्यमी बने बागलुङका कृष्ण

Ramesh Dawadi 6 hours ago

कास्की- रोजगारीका क्रममा विदेशका संघर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको संघर्ष र सफलताका कथा यतिखेर अरूका लागि पनि अनुकरणीय बनेको छ। खनाल आफ्नो निरन्तरको संघर्षले अहिले आफू स्वरोजगार छन् र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आएका छन्।

श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको संघर्षकै कारण उनले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेष्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिसकेका छन्। यी सबै व्यवसायमा प्रत्यक्ष रुपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रुपमा ५० जनाले रोजगारी पाइरहेका उनले बताए।

४५ वर्षीय खनालसँग रोजगारीको खोजीमा भौतारिरहेका र भोगेका धेरै अनुभव छन्। एक्लो छोरा उनी बाल्यकालमा नै टुहुरो बनेका थिए। विदेशमा रोजगारीका क्रममा पाएका हण्डर तथा ठक्करले पनि स्वदेशमा नै केही व्यवसाय गर्नुपर्छ भन्ने उनमा सोच आएको थियो। २०५७ मा चैतमा रोजगारीकै क्रममा दुबई गएका खनाल तीन वर्ष त्यहाँ रोजगारी गरी फर्किए।

त्यसपछि केही समय भैँसीपालन र खेती किसानी गरेका उनलाई २०६२ सालमा भने पुनः इराक जाने इच्छाले दलालका माध्यमबाट पुनः दुबई पुगेका थिए। तर दलालले इराक लैलान नसकेपछि उनी त्यही दुबईमा पाँच वर्ष बेलाली कम्पनीको पावर प्लान्टमा काम गरे। त्यस समयमा अत्यधिक गर्मीमा आफूले काम गरेको अनुभव सुनाउँदै उनले त्यही काम गर्ने मानिसले साउदी लैजान्छ भनेर अन्तवार्ता दिँदा अन्तवार्तामा उत्तीर्ण भएको बताए।

‘अन्तवार्तामा पास त भइयो, भिसा र टिकट कम्पनीले दिने कुरा भयो’, उनले भने,‘उता जाने भएपछि दुबईको खाइरहेको जागिर छाडेर २०६७ सालमा म मेडिकल गर्न नेपाल आएँ तर मेडिकलका क्रममा समस्या देखिएसँगै मेरो त्यहाँ जाने सपना पनि चकनाचुर भयो।’

जागिर पनि गएको अवस्था अर्को जागिरमा जान मेडिकलमा समस्या भएपछि त्यस समयमा आफू निकै बेचैन जस्तो बनेको उनले अनुभव सुनाए। विदेश जानमा लागेको त्यो ठक्कर नै अन्तत: आफ्ना लागि व्यावसायिक सफलताको राम्रो माध्यम जस्तै बनेको उनले बताए।

खनालले त्यसपछि कुखुरापालन गर्न थाले। कुखुरापालनमा पनि उनलाई सोचे जस्तो भएन। पुनः रु २५ लाख ऋण लाग्यो। ऋण लागेर आफूसँग पैसा नहुँदा त्यस क्रममा आफन्तले गरेको व्यवहार, ऋण नपत्याइएको अवस्था आदि अहिले पनि झल्झली सम्झना आउने उनको भनाइ छ। त्यसपछि उनले पुनःगाईपालन सुरु गरे। गाई पालेर बजारमा दूध बिक्री गर्न थाल्दासमेत दूध बिक्री नभएको भन्दै दिउँसो १२ बजे फिर्ता आउने धेरै समस्यामा पनि त्यस क्रममा भोग्नुपरेको उनको भनाइ छ।

बजारमा पठाएको दूध फर्कने थालेसँगै उक्त दूधलाई दही बनाएर सिठ्ठी फुक्दै कुनै लाज नमानी बजारमा बिक्री गरेको बताउँदै उनले त्यस क्रममा डेरी खोलेर पनि रु पाँच लाखसम्म घाटा व्यहोर्नुपरेको दुःखेसो सुनाए। त्यसपछि दूधबाट मिठाइ, कुराउनी, छुर्पी आदि बनाएर बिक्री गर्दै आफ्नो आय बढाउँदै गएकामा त्यसै जगमा बेकरी, क्याटरिङ, टेन्टहाउस हुँदै होटेलसम्मको व्यवसायमा सफलता हासिल भएको उनले बताए।

व्यवसायमा परिवारको साथ र सहयोग पनि आवश्यक हुने बताउँदै खनालले सुरुमा पाँच वर्षसम्म बेकरी, क्याटरिङ, टेन्ट हाउस सञ्चालन गर्दा कुनै कर्मचारी नराखी घरपरिवारकै सदस्य मिलेर व्यवसाय धानेको जानकारी दिए। ‘अहिले भने मेरा यी सबै व्यवसायमा घर परिवारका सदस्यबाहेक अन्य २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्’, उनले भने, ‘मेरा व्यवसायमा चाहिने दूध, माछामासु आदिका लागि झण्डै ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन्।’

निरन्तरको संघर्ष र इमानदार प्रयास भएमा रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था नरहेको बताउँदै उनले यही बसेर धेरै गर्न सकिन्छ भन्ने आफू स्वयं उदाहरण भएको सुनाए।

Explore by Source or Category