npl.977 Nepal News Stream

#विज्ञान प्रविधि

Kendrabindu logo Kendrabindu

क्यान महासंघको आयोजनामा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु

इन्द्र कमल रोक्का 10 hours ago

काठमाडाैं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी (B2B) समिट २०२५’ सुरु भएको छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका थिए ।

शनिबार र आइतबार गरी २ दिन चल्ने उक्त कार्यक्रममा देशको ७७ जिल्लाका आइसिटी व्यवसायी, डिलर, डिस्ट्रिब्युटर, फिनटेक, नीति निर्माता र प्रविधिलाई नेतृत्व गरिरहेका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित थिए । साथै विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल लगायतकाे उपस्थिति रहेकाे थियाे

कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गरेका थिए । उनले सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन बोकेर ल्याउनुपर्ने बाध्यता रहेको पनि बताए । यस्तोमा क्यान जस्तो संस्थाले सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब दिनुपर्ने पनि जिकिर गरे ।

मन्त्री खरेलले डिजिटल रूपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन कायम र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने गरी सबैखाले तयारी गरिएको जानकारी पनि दिए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलन लगायत विभिन्न आन्दोलनका नाममा उद्योग, कलकारखाना र उद्योगी व्यापारीको निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका थिए । त्यस्तै निजी क्षेत्रमा आगजनी र तोडफोड हुनु हुँदैन भन्ने सरकारको स्पष्ट सन्देश आवश्यक रहेको पनि उनले बताएका थिए। हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको पनि उनले बताएका थिए।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताएका थिए ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताएका थिए। उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने पनि जिकिर गरेका थिए।

प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उनले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो नहुने धारणा पनि राखेका थिए।

आइतबार साँझसम्म चल्ने कार्यक्रम विशेषगरी ‘साइबर सुरक्षा र एआई’ मा केन्द्रित हुनेछ । यस सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईको भूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ । समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।

Explore by Source or Category