npl.977 Nepal News Stream

#रास्वपा

Contents
Saral patrika logo Saral patrika

एमालेको झण्डा जलाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

Saral Patrika 2 hours ago

काठमाडौँ। नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो।

बिहीबार तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न भेला भएको भिडमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको उनले बताए।

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने खालका गतिविधि नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ। साथै, सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार देखाउन समेत प्रहरीले अनुरोध गरेको छ।

Himal Press logo Himal Press

रास्वपाको पोखरा र भैरहवा चुनावीसभा स्थगित

Ramesh Dawadi 7 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र भैरहवाका चुनावीसभा स्थगित गरेको छ।

पार्टीकी सहप्रवक्ता प्रतिभा रावलको भनाइमा भैरहवामा शनिबार र पोखरामा आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। अन्तिम समयमा दुवै कार्यक्रम रोकिएको हो।

रुपन्देही-३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट सभा स्थगित गर्न निर्देशन आएको बताए। केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनका कारण हाललाई सभा स्थगित गरिएको उल्लेख छ।

प्रदेशस्तरीय सभाका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार तथा स्टेज निर्माणको कामसमेत अघि बढिसकेको थियो।

Himal Press logo Himal Press

शिक्षक-प्राध्यापकको राजनीतिक आबद्धता पूर्णरूपमा निषेध गर्ने रास्वपाको बाचा

Ramesh Dawadi 12 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको बाचापत्रमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्ने प्रमुख प्रतिबद्धता जनाएको छ।

रास्वपाले विश्वविद्यालय र विद्यालयलाई दलीय गतिविधिको अखडा बन्न नदिने, शिक्षक तथा प्राध्यापकको राजनीतिक आबद्धता पूर्ण रूपमा निषेध गर्ने तथा विद्यार्थी संगठनमार्फत हुने अराजक गतिविधि नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत कार्यक्रम निषेध गर्ने घोषणा गरेको छ।

विद्यार्थीको विचार अभिव्यक्ति र नेतृत्व विकासलाई प्रोत्साहन गर्न गैरदलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने योजना पार्टीले अघि सारेको छ। यसले लोकतान्त्रिक अभ्यास जोगाउँदै शैक्षिक वातावरण अनुशासित बनाउने दाबी गरिएको छ।

रास्वपाले आगामी दुई दशकसम्म उल्लेख्य लगानी थप्दै सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमता सुधार गर्ने प्रतिबद्धता जनाएको छ। निजी क्षेत्रद्वारा प्रदान गरिँदै आएको शिक्षालाई सार्वजनिक शिक्षाको परिपूरकका रूपमा स्वीकार गर्दै शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता र पूर्वाधारका आधारमा कडाइका साथ नियमन र अनुगमन गरिने जनाएको छ।

शिक्षालाई नाफामुखीभन्दा सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गरिने उल्लेख छ।

त्यस्तै, प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने तथा देशभरका विद्यालयलाई क्रमशः पूर्ण पहुँचयुक्त बनाउने योजना पार्टीले अघि सारेको छ। अटिजम, न्युरोडाइभर्सिटी लगायत अपाङ्गता भएका बालबालिकाका लागि अकुपेसनल, स्पीच र बिहेवियरल थेरापी जस्ता सेवा विद्यालयमै उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।

शिक्षकलाई विशेष सिकाइ आवश्यकता पहिचानका लागि उच्चस्तरीय तालिम, अभिभावक सहायता कार्यक्रम तथा कृत्रिम बुद्धिमत्ता आधारित ‘असिस्टिभ टेक्नोलोजी’ प्रयोगमार्फत अवरोधरहित शिक्षा सुनिश्चित गरिनेछ।

रास्वपाले शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्वीकार गर्दै योग्यता, क्षमता र स्पष्ट जवाफदेहितामा आधारित प्रणाली लागु गर्ने जनाएको छ। शिक्षक छनोट, पदोन्नति र मूल्यांकन प्रक्रिया पारदर्शी र मेरिटमा आधारित बनाइने प्रतिबद्धता पनि गरिएको छ। साथै, ‘गुरु-चेला’ परम्परामा आधारित विशेष छात्रवृत्ति तथा तालिम कार्यक्रममार्फत मौलिक सीप र कलाको संरक्षण गर्ने योजना छ।

उच्च शिक्षालाई अनुसन्धानमुखी र रोजगारउन्मुख बनाउन विश्वविद्यालयहरूको पुनर्संरचना गर्ने, प्रशासनिक रूपमा दक्ष र शैक्षिक रूपमा स्वायत्त बनाउने योजना सार्वजनिक गरिएको छ। विदेशी विश्वविद्यालयसँग साझेदारी, विदेशी डिग्री कार्यक्रम सञ्चालन र विदेशी प्राध्यापक तथा विद्यार्थीका लागि सहज भिसा प्रक्रिया लागु गरिने उल्लेख छ।

Explore by Source or Category