npl.977 Nepal News Stream

#युएस इमिग्रेशन

Contents
KHASOKHAS logo KHASOKHAS

अप्रिलका लागि नेपाली डिभी विजेताको केस नम्बर थपिएर १० हजार तर भिसा स्थगन अझै जारी

किशोर पन्थी 11 hours ago

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि नेपाली डिभी विजेताको केस नम्बर थपिएर १० हजार पुगेको छ । मार्चका लागि ६ हजार ५ सय केस नम्बरको सिमाबन्दी लगाइएकोमा अप्रिलका लागि उल्लेख्य बृद्धि गरिएको हो । फेब्रुअरीका लागि पनि डिभी विजेता नेपालीको केस नम्बर ६५ सयमा सिमित छ ।

डिसेम्बर १९ देखि युएससीआईएसले अमेरिकाभित्र डिभी लोटरीमा आधारित ग्रिनकार्ड एड्जस्ट गर्न स्थगित गरे लगत्तै अमेरिकी विदेश मन्त्रालयले अमेरिकी दूतावासहरूबाट डिभी भिसा जारी गर्ने प्रक्रिया रोकेको छ भने यो कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरेको छ । यद्यपी भिसा अन्तरवार्ताहरु भने स्थगित नगरिएको जनाइएको छ । अमेरिकामा कस्ता व्यक्तिलाई प्रवेश दिने भन्ने विषयमा पूर्ण रूपमा सुनिश्चित नभएसम्मका लागि यो प्रक्रिया रोकिएको विदेश मन्त्रालयले बताएको छ ।

आवेदकहरूले भिसा आवेदनहरू पेश गर्न र अन्तर्वार्तामा उपस्थित हुन भने सक्छन् । आवेदकलाई अप्वाइन्टमेन्टको तालिका बनाउन पनि विदेश मन्त्रालयले जारी राख्नेछ । तर कुनै पनि डाइभर्सिटी भिसा जारी गरिने छैन। अवस्थित भिसा अप्वाइन्टमेन्टहरु नसारिने र वा रद्द नगरिने विदेश मन्त्रालयको भनाई छ । त्यस्तै पहिले जारी भएका डाइभर्सिटी भिसा पनि रद्द गरिएको छैन । तर अमरिका प्रवेशबारेको निर्णय भने होमल्याण्ड सेक्युरिटीले गर्ने विदेश मन्त्रालयको भनाई छ ।

डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेकोमा पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य रहेका थिए । तर नोभेम्बर, डिसेम्बर हुँदै जनवरीका लागि पनि सोही सिमाबन्दी नै कायम गरिएको थियो ।

डिभी २०२६ का लागि भिसा प्रकृया अगाडि बढाउन ३९३३ जना नेपालीहरु छनौट भएका छन् । लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ । छनोट भएका केही व्यक्तिहरूले आफ्नो आवेदन पूरा नगर्ने वा भिसाको लागि अयोग्य ठहरिने सम्भावना हुने भएकोले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरु छनौट गरिएको विदेश मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०२६ का विजेताहरुले अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म भिसा पाइसक्नुपर्छ ।

उनीहरु अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्म ३७ दिनको आवेदन अवधिमा डिभी भरेकाहरु हुन् । यो अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदनहरु प्राप्त भएको र दर्ता भएका आवेदकहरूलाई लोटरीबाट छनोट गरिएको जनाइएको छ ।

अमेरिकी संसदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

डिभी पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

सामान्यतया हरेक बर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलोसाता खुल्ने भएतापनि डिभी २०२७ खुल्नमा भने ढिलाई भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीमा दर्ताका लागि अझै मिति घोषणा गरिसकेको छैन ।

विदेश मन्त्रालयले डिभी लोटरी कार्यक्रमको घोषणा छिट्टै हुने स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा लोटरी कार्यक्रमको दर्ताका लागि १ डलर शुल्क तोक्ने अन्तिम नियम गत सेप्टेम्बरमा नै फेडरल रजिस्टरमा प्रकाशित गरेको थियो । यो नयाँ शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट तिर्नुपर्नेछ । यस शुल्कबाट लगभग २५ मिलियन डलर आम्दानी हुने विदेश मन्त्रालयको अनुमान छ।

KHASOKHAS logo KHASOKHAS

रोजगारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा अग्रता, दोस्रो श्रेणी पनि करेन्ट

किशोर पन्थी 13 hours ago

मार्चको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। मार्चमा रोजगारमा आधारित तेस्रो श्रेणीमा १ अक्टोबर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले दूतावासहरूमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरूको सन्दर्भमा १५ जनवरी २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्।

यो श्रेणीमा फेब्रुअरीको तुलनामा भिसा अन्तर्वार्ता पाउने मितिमा मार्चमा ४ महिनाको अग्रता कायम भएको छ भने ग्रिनकार्ड फाइल गर्ने मितिमा साढे ३ महिनाको अग्रता देखिएको छ। जसका कारण उल्लेखित प्राथमिकता मितिभन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरी स्वीकृत भइसकेकाहरूले अमेरिकाभित्र भएमा मार्चमा ग्रिनकार्ड फाइल गर्न र बाहिर भएमा भिसा अन्तर्वार्ताको मिति पाउन सक्नेछन्।

त्यस्तै रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति मार्चमा पनि अघिल्ला महिनाजस्तै करेन्ट नै रहेको छ। मार्चमा अमेरिकाभित्र रहेका व्यक्तिहरूले पहिलो श्रेणीको आवेदन आई–१४० सँगै ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन् भने अमेरिकाबाहिर रहेका व्यक्तिहरूले पनि भिसा करेन्ट रहँदासम्म कुर्नु पर्दैन।

रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मिति मार्चमा लामो समयपछि पहिलोपटक करेन्ट भएको छ। अमेरिकाभित्र रहेका व्यक्तिहरूले दोस्रो श्रेणीको आवेदन आई–१४० सँगै ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका लागि भिसा अन्तर्वार्ता पाउने मितिमा पनि साढे ६ महिनाको अग्रता कायम भएको छ। १५ अक्टोबर २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

तेस्रो श्रेणी (अनस्किल्ड) कामदारहरूको हकमा पनि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। २२ जुन २०२२ मा लेबर सर्टिफिकेशन फाइल गरेका र स्वीकृत भइसकेकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्, जुन झन्डै ७ महिनाको अग्रता हो। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका सन्दर्भमा १ नोभेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरी स्वीकृत भइसकेकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्, जुन २ महिनाको अग्रता हो।

विशेष आप्रवासी चौथो श्रेणीमा पनि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। १ जनवरी २०२३ अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्, जुन झन्डै २१ महिनाको अग्रता हो।

अमेरिकाबाहिर रहेका व्यक्तिहरूका लागि १५ जुलाई २०२१ अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्, जुन झन्डै साढे ७ महिनाको अग्रता हो। धार्मिक कामदारका सन्दर्भमा पनि मार्चमा सोही मितिहरू कायम छन्। फेब्रुअरीमा भने यो श्रेणीमा भिसा उपलब्ध थिएन। पाँचौँ श्रेणी मार्चमा पनि करेन्ट नै रहेको छ।

जनवरी २१ देखि लागु हुनेगरी अमेरिकाको विदेश मन्त्रालयले नेपाल लगायतका ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तरवार्ता लगायतका सबै प्रकृया पूरा भएतापनि भिसा भने जारी गरिएको छैन । जसका कारण सबै प्रकृया पूरा भएकाहरु समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन् । जनवरी २१ भन्दा अगाडि भिसा पाइसकेकाहरुलाई भने अमेरिका आउन रोक लगाइएको छैन ।

KHASOKHAS logo KHASOKHAS

मार्चमा परिवारआधारित अधिकांश श्रेणीको ग्रिनकार्ड र भिसा मिति स्थिर, नेपाललगायत ७५ देशमा भिसा स्थगन जारी

किशोर पन्थी 14 hours ago

मार्च महिनामा पनि परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीमा अमेरिकाभित्र रहेका व्यक्तिहरूले ग्रिनकार्ड आवेदन फाइल गर्ने तथा बाहिर रहेका व्यक्तिहरूले भिसा अन्तर्वार्ता पाउने मितिमा स्थिरता कायम रहेको छ। ग्रिनकार्डवाहकका अमेरिकाभित्र रहेका दम्पत्ति र २१ वर्षमुनिका बच्चाबच्चीका लागि ग्रिनकार्ड फाइल गर्ने मितिमा एक महिनाको अग्रता आए पनि अन्य सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने तथा भिसा अन्तर्वार्ता पाउने मिति यथावत् रहेको छ। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका हकमा सबै श्रेणीमा भिसा अन्तर्वार्ता मिति स्थिर रहेकाले प्रतीक्षा अवधि अझै लम्बिएको छ।

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको मार्चको भिसा बुलेटिनअनुसार, २१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा भिसा अन्तर्वार्ताका लागि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम रहेको छ। अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा अन्तर्वार्ता वा आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तर्वार्ताका लागि प्राथमिकता मिति मार्चमा पनि १ फेब्रुअरी २०२४ नै कायम रहेको छ। अर्थात् १ फेब्रुअरी २०२४ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

ग्रिनकार्डवाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि पनि प्राथमिकता मितिमा कुनै परिवर्तन भएको छैन। यस श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीको सन्दर्भमा पनि मार्चमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ। ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका आवेदकहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

त्यस्तै, अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीको हकमा मार्चका लागि प्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ। उक्त मितिभन्दा अगाडि आई–१३० पिटिसन दर्ता भएकाहरूले मात्र मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

अमेरिकाभित्र रहेका व्यक्तिहरूका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका बच्चाबच्चीका लागि ग्रिनकार्ड फाइल गर्ने मितिमा एक महिनाको अग्रता आएको छ। अर्थात् २२ फेब्रुअरी २०२६ भन्दा अगाडि आई–१३० पिटिसन फाइल गरेका व्यक्तिहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्। अमेरिकाभित्र रहेका ग्रिनकार्डवाहकका २१ वर्ष नाघेका अविवाहित छोराछोरीका लागि प्राथमिकता मिति १५ मार्च २०१७ नै कायम गरिएको छ।

अमेरिकाभित्र रहेका अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीका हकमा पनि मिति यथावत् रहेको छ। यस श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई–१३० पिटिसन फाइल गरेका व्यक्तिहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्। ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल नभएकाले अमेरिकाभित्र रहेका आवेदकहरूको प्रतीक्षा अवधि अझै बढेको छ।

अमेरिकी नागरिकका २१ वर्षभन्दा माथिका अविवाहित तथा विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि कुनै परिवर्तन भएको छैन। मार्च महिनामा ती मिति क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै कायम रहेका छन्।

यसैबीच, जनवरी २१ देखि लागू हुनेगरी अमेरिकी विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न स्थगन लगाएको छ। त्यसका कारण भिसा अन्तर्वार्ता लगायतका सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। फलस्वरूप सबै प्रक्रिया पूरा गरिसकेका व्यक्तिहरू समेत भिसा लिएर अमेरिका जान पाएका छैनन्। जनवरी २१ भन्दा अगाडि भिसा प्राप्त गरिसकेकाहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको छैन।

Explore by Source or Category