npl.977 Nepal News Stream

#मातातीर्थ

Contents
Himal Press logo Himal Press

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र : प्रधानमन्त्री शाह

Ramesh Dawadi 14 hours ago

काठमाडौँ- आमाको मुख हेर्ने अर्थात् मातातीर्थ औँसीका दिन आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आमाप्रति सम्मान व्यक्त गर्दै मातृत्वलाई मानव जीवनको सर्वोच्च आधारका रूपमा चित्रण गरेका छन्।

माताको काख न्यानो र चरण तीर्थजस्तै पवित्र हुने प्रधानमन्त्री शाहको भनाइ छ। प्रधानमन्त्री शाहले सम्पूर्ण आमाप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दै आमाहरूको दीर्घायुको कामना गरेका छन्। उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा उल्लेख गरेका छन्।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘आमालाई सधैँ हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले गर्व गर्न सकून्। मातातीर्थ औँसीको हार्दिक मंगलमय शुभकामना।’

आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भनाइ

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
Himal Press logo Himal Press

मातातीर्थमा आमाको स्मरण गर्दै तर्पण-श्राद्ध गर्नेको बिहानैदेखि भीड (तस्बिरहरू)

Ramesh Dawadi 14 hours ago

काठमाडौँ- दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ।

मातातीर्थमा बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन्।

मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ। सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ।

हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ।

जात्रा व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समितिलगायत स्थानीय सामाजिक संघसंस्था परिचालन भएका छन्।

Himal Press logo Himal Press

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

Ramesh Dawadi 16 hours ago

काठमाडौँ- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठामीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा.देवमणि भट्टराई बताउँछन्।

सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए।

यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ। बिहीबार बेलुकीदेखि नै भक्तजनको घुइँचो लागेको हो।

Explore by Source or Category